चिनो पुग्यो मनकामना मन्दिर

गोरखा, पुस २८ (नागरिक) - फिल्म रिलिजको संघारमा 'चिनो'का निर्देशक तथा कलाकार गोरखाको मनकामना मन्दिर पुगेका छन्। मंगलबार बिहान फिल्मका निर्देशक शोभित बस्नेतले फिल्मको रिल पूजा गरी सफलताको आशिर्वाद मागे। उनीसँगै कलाकार राजेन्द्र खड्गी, जयकिशन बस्ने र रेजिना उप्रतीले पनि पूजा गरे।

फिल्ममा फाइट निर्देशन एवं तेस्रो लिंगी 'काजोल म्याडम'को भूमिका निर्वाह गरेका खड्गीले निकै समय मन्दिरमा सफलताको प्रार्थना गरे। पूजाकै लागि सोमबार सुर्खेतबाट रात्री बसमा आएको उनले बताए। 'सुदूर पश्चिमको कार्यक्रममा धेरैले यो फिल्ममा मैले खेलेको रोलको चर्चा गरे। त्यसबाट हौसला मिलेकोले यहाँ सहभागी हुन नाइट बस चढेरै आएँ,' चितवनको कुरिनघाटमा फिल्म युनिटसँग मिसिएर उनी मन्दिर गएका थिए। फिल्मको प्रचार सामग्रीले आफ्नो परिचय फेरिन लागेकोमा उनले गुनासो समेत गरे। 'सबै काजोल म्याडम भन्छन्। फिल्म रिलिजपछि राजेन्द्र खड्गी भन्ने बिर्सिए भने त फसाद पर्छ।' उनले आफ्ना गुरु गोपाल भुटानीको नाममा पनि पूजा गरेको उल्लेख गरे।

हिरोइन रेजिना उप्रतीको खुशी दोब्वर थियो। 'फिल्म र जीवन दुबै सफल होस् भन्ने प्रार्थना एकै पटक गर्न पाएँ,' मंगलबार नै आफ्नो जन्मदिन परेको जानकारी दिंदै उनले भनिन्,'भगवानसँग कला क्षेत्रमा शशक्त भएर लाग्न सकुँ भन्ने आशिर्बाद मागें।' मन्दिर आसपासका दर्शकलाई उनले फिल्म 'चिनो'मा आफ्नो भूमिका बारे जानकारी दिएकी थिइन्।


यो फिल्ममा धेरै मेहनत गरेकाले नतिजाप्रति एकदमै उत्सुक रहेको उनले बताईन्। 'रोल नै चुनौतीपूर्ण थियो। त्यसलाई निर्वाह गर्न घोडचढी, मार्सल आर्ट र नृत्य प्रशिक्षणमा एकदमै खटेको थिएँ,' उनले भनिन्।


निर्देशक बस्नेतले भागवानप्रति आस्था भएकाले मन्दिर आएको बताए। 'यो मैले बनाएको मध्ये सबैभन्दा खर्चिलो दुःख गरेको फिल्म हो। यसलाई रिलिज गर्नु अघि प्रिन्ट पूजा गरौं भनेर आएको हुँ।' शुक्रबारदेखि देशका करिव ८० वटा हलमा रिलिज हुने बताईएको यो फिल्ममा विराज भट्ट, रमित ढुंगाना, धिरेन शाक्य लगायतका कलाकारले अभिनय गरेका छन्। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।