कृष्णमोहन-नुडुप शान्ति पुरस्कार मल्ल र डोल्मालाई

ललितपुर, माघ १२ - यसवर्षको कृष्णमोहन-नुडुप शान्ति पुरस्कार बरिष्ठ नाटककार अशेष मल्ल र चर्चित गायिका आनी छोइङ डोल्मालाई प्रदान गरिएको छ ।

सशस्त्र प्रहरी बलका संस्थापक कृष्णमोहन श्रेष्ठको आठौँ स्मृति दिवसका अवसरमा बुधबार कृष्णमोहन-नुडुप स्मृति प्रतिष्ठान बागडोलमा आयोजित एक समारोहबीच उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको हो ।

कृष्णमोहन-नुडुप स्मृति प्रतिष्ठानले प्रदान गरेको सो पुरस्कारको राशि रु सात हजार र कदरपत्र रहेको छ । पुरस्कार प्रदान गर्दै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले मुलुकमा अमनचयन र शान्ति स्थापनार्थ स्वर्गीय श्रेष्ठले पुर्‍याएको योगदानको चर्चा गरे ।

उनले मानवअधिकारको पहिलो रक्षक प्रहरी भएकाले मुलुकमा भएका जघन्य अपराध नियन्त्रण गर्न र मानवअधिकार विरोधी अपराधीलाई कानुनी दायरामा ल्याउन प्रहरी सङ्गठनको ठूलो भूमिका हुने भएकाले आफ्नो कर्तव्यप्रति इमान्दारिताका साथ लाग्न प्रहरी सङ्गठनलाई आग्रह गरे ।

कार्यक्रममा प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरीले स्वर्गीय श्रेष्ठको कुशल नेतृत्वदायी योगदानले सङ्गठन सुदृढीकरण र आपसी भाइचारा स्थापना गर्न प्रेरणा मिलेको उल्लेख गर्दै मुलुकमा अमनचयन र शान्ति स्थापना गर्ने कार्यमा दुवै प्रहरी सङ्गठन सक्रिय भएर लागेमात्र स्वर्गीय श्रेष्ठको सच्चा स्मृति हुने बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक सनतकुमार बस्नेतले स्वर्गीय श्रेष्ठको कुशल र साहसिक नेतृत्वको योगदानले आफ्नो सङ्गठनलाई अहिलेको अवस्थामा ल्याएको भन्दै जनताको सुरक्षा र सम्वृद्धितर्फसङ्गठन सदैब क्रियाशील हुने बताए ।

कृष्णमोहन-नुडुप स्मृति प्रतिष्ठानका सचिव निर्मला प्रधानले स्वर्गीय श्रेष्ठले चरम द्वन्द्वको अवस्थामा मुलुकका लागि ठूलो योगदान गरे पनि अहिलेसम्म राज्यले उहाँको योगदानलाई कदर गर्न नसकेको भन्दै स्वर्गीय श्रेष्ठलाई राष्ट्रिय सहिद घोषणा गर्न माग गरेका थिए ।

सो अवसरमा प्रतिष्ठानको तर्फबाट बागडोल क्षेत्रबाट २०६६ को प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने छात्र शवलराज सिंह र छात्रा सम्भनी पौडेललाई कृष्णमोहन-नुडुप जेहेन्दार छात्रवृत्ति पुरस्कार प्रदान गरिएको थियो ।

विसं २००३ सालमा सङ्खुवासभाको चैनपुरमा जन्मनुभएका कृष्णमोहन श्रेष्ठ दम्पत्तिलाई २०५९ माघ १० मा ललितपुरको बागडोलमा तत्कालीन व्रि्रोही पक्षबाट गोली हानी हत्या गरिएको थियो । रासस

साभार: कान्तिपुर अनलाइन

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।