२० वर्षपछि नयाँ 'चिनो'

काठमाडौं, पुस २१ (नागरिक)- शोभित बस्नेतद्वारा निर्देशित फिल्म 'चिनो'मा अभिनेत्री रेजिना उप्रेतीले निकै एक्सन दृश्य दिएकी छिन्। तर, टेलिभिजनमा फिल्मको प्रोमो प्रसारण भएपछि निर्देशक शोभितसँग धेरैले रेजिनाले टाङ फाटेको दृश्य छलछाल गरेर खिचिएको हो कि भन्ने जिज्ञासा राख्दै आएका छन्।

काठमाडौं मलको ग्यालेक्सी पार्टी प्यालेसमा मंगलबार 'चिनो'को पत्रकार सम्मेलनमा शोभितले यो जिज्ञासा मेटाइदिने राम्रो अवसर पाए। उनले खेर फालेनन् पनि। सबै पत्रकारका अगाडि रेजिनालाई टाङ फाटेर देखाउन लगाइन्। रेजिनाले चिसो भुइँमा बसेर र स्टेजमा उभिएर मार्सल आर्टकी कुनै खेलाडीले झैं टाङ फाटेर देखाइन्। द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले कार्यक्रममा रेजिनाको तारिफ गर्न कञ्जुस्याइँ देखाएनन्। उनले भने, 'हिरोइन होइन हिरोहरूले नै गर्न नसक्ने एक्सन रेजिनाले यसमा गरेकी छिन्।'


आगामी पुस ३० देखि नेपालका ७० वटा हलमा डिसिएन नेटवर्कबाट रिलिज हुन लागेको 'चिनो'मा राजेन्द्र आफैले मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन्। उनलाई फिल्ममा काजोल म्याडम नामक तेस्रो लिंगीको रूपमा हेर्न पाइन्छ।

भुवन केसीकी पूर्वपत्नी अभिनेत्री सुष्मिताको सुझावमा फिल्मको खलपात्रलाई तेस्रो लिंगी बनाइएको र सुरुमा यो भूमिका अशोक शर्मालाई दिइएकोमा व्यस्तताले गर्दा राजेन्द्रले खेलिदिएको निर्देशक शोभितले सुनाए।

फिल्ममा यो भूमिकाका लागि आफूले ठमेलमा ब्लु डायमन्ड सोसाइटीका सदस्यहरूसँग एक हप्ता जति संगत पनि गरेको तर अस्ट्रेलिया जानु पर्ने भएपछि दुःखका साथ फिल्म छाडेको अशोकले नागरिकसँग बताए।

पुरानो 'चिनो'सँग नाममात्र मिल्न गएको र कथा बिल्कुल फरक रहेको निर्देशक शोभितको स्पष्टिकरण छ। पुरानो 'चिनो' हिट हुँदाको र अहिलेको परिस्थिति फरक भएकोले दुईबीच तुलना गर्न नमिल्ने उनको तर्क छ।

अजयगोपाल दली र सलोन बस्नेतको निर्माण, ध्रुव लम्सालको लेखन, शम्भु सापकोटाको छायांकन, शम्भुजित बास्कोटाको संगीत, शिव बिकको नृत्य, अनन्त थपलियाको सम्पादन, उन्नति बोहरा र प्रमोद ढुंगानाको गीत रहेको नयाँ 'चिनो'मा बिराज भट्ट, रमित ढुंगाना, धीरेन शाक्य, जयकिशन बस्नेत, भीम गुरुङ, उत्तम केसी, सुनिता गन्धर्व, दावा शेर्पा लगायतले पनि अभिनय गरेका छन्। साभार: नागरिक न्युज

1 प्रतिकृया/हरु:

Anonymous said...

she can staching her leg, good job rajeena upreti.
Do good scene but don't do naughty scene.
god bless you.Good action i like that,,,,,,,,,,,,,,,,,,,,

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।