किन्डल आए पनि एशियामा पुस्तकै सशक्त

जयपुर, माघ ९ (एजेन्सी)-इ-बुक तथा अमेजन डट कमको किन्डलले पछिल्ला केही वर्षमा धेरैलाई तानेको छ तर एशियामा विस्तार हुँदै गएको प्रकाशन बजारले भौतिक पुस्तक अझै सशक्त रहेको देखाएको जयपुर (भारत) साहित्य महोत्सवका सहभागीले बताएका छन्। एशिया प्रशान्त क्षेत्रकै अग्रणी महोत्सवमा भेला भएका प्रकाशक तथा बेस्टसेलिङ लेखकहरुले डिजिटल युगले किताबलाई समाप्त पार्न नसक्ने धारणा राखे।

'तपाईंले टि्वटरमा केही पढ्न सक्नुहुन्छ र तपाईंलाई थाहा हुनेछ, यो अल्प समयका लागि हो,' एसियाका बृहत विषयमा पुस्तक लेखेका बेस्टसेलिङ इतिहासकार पेटि्रक फ्रेन्चले भने, 'अहिलेसम्म पुस्तक सशक्त कुरा हो र यो जारी रहन्छ।'

ऐतिहासिक गुलाबी सहरमा आयोजित सातौं महोत्वसमा क्षेत्रीय भाषाका उपन्यासकार तथा कविहरूले नोबे तथा बुकर पुरस्कार विजेतासँग घुलमिल हुने अवसर प्राप्त गरेका छन्।

पहिले दरबार रहेको खुल्ला मैदानमा आयोजित महोत्वसमा सयौं पुस्तकप्रेमी छापा पुस्तकको भविष्यबारे हुने पाँचदिने कार्यक्रममा भाग लिनेछन्।
'सधैंका लागि पुस्तकयुग समाप्त हुँदैछ भन्नु गलत हो। यो समय पुस्तकहरूका लागि महत्वपूर्ण हो भन्ने मलाई लाग्छ। पुस्तकका पाठक बढ्दै गएका छन्,' पेन्गुइन प्रकाशक समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी जोन माकिन्सनले भने, 'भारतमा अन्य स्थानभन्दा बढी कुराहरू छन्। हामी तिनलाई प्रकाशित गर्छौं।' पेन्गुइन अंग्रेजी भाषाको विश्वकै प्रमुख प्रकाशनगृहमध्ये एक हो।

धेरैजसो पश्चिमा देशमा पुस्तकको बिक्री खस्कँदै गएपनि भारतमा भने गैरप्राज्ञिक पुस्तक बिक्री पछिल्लो केही वर्षदेखि १५ देखि १८ प्रतिशत बढ्दै गएको छ। भारतमा आर्थिक वृद्धिसँगै साक्षरतादर बढ्दै गएको र प्रत्येक वर्ष लाखौं मानिस मध्यवर्गमा रूपान्तरित हुँदै गएकाछन्।
पुस्तकबारे सबैभन्दा लोकप्रिय कार्यक्रम सञ्चालन गर्ने भारतीय समालोचक सुनिल सेठीले डिजिटल युगले छापालाई चुनौतीभन्दा अवसर प्रदान गरेको बताए। 'मेरो सो समाप्त हुनुअघि नै लेखकहरूले टि्वटरमा उनीहरूका पुस्तकबारे कुरा गर्ने गरेका छन्। प्रविधि विकास हुँदै गएको छ तर किताब नै मुख्य कुरा हो,' सेठीले भने।

फ्रेन्च पनि प्रविधिका कुरामा सहमत छन्। फ्रेन्चले राम्रोसँग व्यवस्थापन गरिएको पुस्तकका लागि नयाँ ग्राहक प्राप्त गर्न सकिने बताए। 'डिजिटल इबुक वादविवादको विषय हुनसक्छ, किताबहरूसँग अहिले वेबसाइट र फोरम छन्, हामी विद्युतीय उपकरणमा पनि पुस्तक पढ्न सक्छौं, त्यसले छुट्टै समाज उत्पन्न र अन्तर्क्रिया गराउँछ,' उनले भने।

महोत्सवमा करिब ५० हजार लेखक, समालोचक, प्रकाशक र प्रशंसक सहभागी हुँदैछन्। महोत्वसमा वक्ताको रुपमा चयन भएका नारायण वाग्ले र मञ्जुश्री थापा नेपालको प्रतिनिधित्व गर्दै जयपुरमा छन्। वाग्ले र थापाको प्रस्तुति २५ जनवरी अपराह्न रहेको छ। साभार: नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।