दोलखा, पुस २३ - भूतप्रेतको चंगुलमा फसेर ६ जनामध्ये दुई साथी गायब भइसकेका छन् । बाँकीमध्ये एउटा जोडीचाहिँ भूतबस्तीबाट पर सुन्दर भूगोलमा नाच्दै-गाउँदै छ ।
विज्ञान विद्यार्थीको समूह सञ्जीवनी बुटी खोज्दै हिँड्दा डरलाग्दो ठाउँमा फस्छ । अनुसन्धानमा हिँडेका उनीहरू भूतप्रेतको घेराबन्दीमा परेकै बेला मुकेश आचार्य -विक्रम) र क्षितिजा शाक्य (सुशीला) भने स्वर्गीय भूमिमा केही बेर रमाउँछन्, गौरीशंकर हिमाल देखिने देउराली र चरिकोटमा ।
मुख्य पात्र यी जोडी चलचित्र 'सन्त्रास' को गीतको सुटिङ क्रममा बिहीबार यहाँ देखिएका हुन् । मध्यान्तरपछि केहीबेर दर्शकले आनन्दको सास फेर्न पाऊन् भनेर राखिएका प्रेमप्रसंगका गीति दृश्यहरू छायांकन गर्न संगीक्षा फिल्म इन्टरटेनमेन्टको टोली दोलखा आइपुगेको हो । भूतप्रेत र तन्त्रमन्त्रमा आधारित डरलाग्दा दृश्यबीच चिहानबस्तीभन्दा पर पुगेका प्रेमीहरूलाई खरीढुंगा, तिखातल, चरिकोट टँुडिखेल, देउरालीका जंगल र बस्तीहरू सन्तोषको सास फेर्ने थला भएका छन् । 'दर्शकलाई साँच्चिकै भूतप्रेतले सताइएका डरलाग्दा दृश्यबाट केहीबेर अलग रहेको अनुभूति मिल्नेछ,' फिल्मका निर्देशक दिनेश कार्कीले भने ।
'यति धेरै माया गरँे जसको कुनै सीमा छैन...' फेरि गीत बज्न थाल्यो । मुकेश र क्षितिजा हावाले उडिरहेको ड्रेस मिलाउँदै नाच्दै पोजिसनमा खडा भए । छेवैबाट नृत्यनिर्देशक गोविन्द राईले दुवैलाई अनेक इसाराबाट गाइड गर्दै थिए । क्यामेराम्यान रामेश्वर कार्की व्यस्त बन्न थाले । जम्मा पाँच मिनेटको गीतको सुटिङका लागि कलाकार टोलीले तीन दिन दोलखामा खर्चिनेछ । 'साथीहरू भटाभट मरिरहेको स्थितिको दृश्य हो यो,' क्षितिजाले भनिन्, 'हामी दुई प्रेमीप्रेमिका हुन्छौँ र यो नृत्य दृश्य सपनाको हुन्छ ।'
एउटा घरमा बास बस्नेहरूले 'पाहुनालाई हत्तपत्त बास नदिनू' भन्ने उखानसँग मिल्दो गरी छोरीलाई बलात्कारपछि हत्या गरिदिन्छन्, बाबुलाई पनि बाँकी राख्दैनन् । उनीहरूले बाबुछोरीलाई एकै चिहान पार्छन् । हिन्दु संस्कारमा बाबु र छोरीको एउटै चिहान खन्नु हुन्न भन्ने मान्यतामा विश्वस्त हुँदै त्यहीँबाट प्रेतको जन्म भएको देखाइन्छ र त्यसले मान्छेलाई सताउन थाल्छ । अनुसन्धानमा निस्किएका विज्ञान विद्यार्थीहरू पनि भूतप्रेतकै फन्दामा फस्छन् । फिल्ममा अन्ततः विज्ञानका विद्यार्थीलाई हार खुवाएर तन्त्रमन्त्रद्वारा प्रेतको सन्त्रास समाप्त पारेको कथावस्तु रहेको निर्देशक कार्कीले सुनाए ।
फिल्ममा मोहन निरौला, सुनील थापा, रागिनी, जयकृष्ण बस्नेत, सुसन खड्कालगायतको अभिनय रहनेछ भने पटकथा मोहन निरौलाको । साभार: कान्तिपुर अनलाइन
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।