सक्रिय राजनीति गर्ने सोच छ: अभिनेता भूवन केसी

काठमाडौ, पुस २० - अभिनेता भुवन केसी औपचारिक रूपमा एमाले प्रवेश गरेका छन् । केसीलाई प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा राजधानीमा आयोजित कार्यक्रममा टीका र माला लगाई स्वागत गरे । केसीले एमालेमा आफ्नो पहिलेदेखि नै झुकाव रहेको बताए । विशेषगरी प्रधानमन्त्री माधव नेपालसँग आफ्नो सामीप्य रहेको र उनी आफूलाई मनपर्ने व्यक्ति भएकाले पनि एमालेप्रति आकर्षण रहेको उनले उल्लेख गरे ।

प्रधानमन्त्री नेपालले केसीलाई स्वागत गर्दै पार्टीमा प्रवेश गरेकोमा खुसी व्यक्त गरे । महासंघका अध्यक्ष विजय सुब्बाका अनुसार केसीले पहिलेदेखि नै प्रवेश गर्ने चाहना राखेका थिए, सोमबार महासंघ स्थापना दिवशका अवसर पारेर औपचारिक रूपमा स्वागत गरिएको हो । अभिनेता केसीले अब लगत्तै जनपक्षीय चलचित्रकर्मी संघको सदस्यका रूपमा काम गर्ने सुब्बाले बताए ।

पहिले कुन पार्टीमा हुनुहुन्थ्यो ?

अहिलेसम्म कुनै पनि पार्टीमा थिइनँ । यो नै फस्ट टाइम हो ।

एमालेमा नै किन प्रवेश गर्नुभयो ?

यो पार्टीका धेरै कुराहरू पहिलेदेखि नै मन पर्थ्र्यो । केही साथीहरूले 'दाइ हाम्रो पार्टीमा आउनुस्' भन्नुभो अनि हुन्छ भनिदिएँ ।

एमालेको कुन कुराले तपाईंको मन चोर्‍यो ?

कलाकारको हैसियतमा धेरै वर्षपहिले मनमोहन अधिकारीसँग अन्तर्वार्ता गर्ने अवसर मिलेको थियो । त्यति बेला इमेज च्यानलबाट कार्यक्रम गर्ने गरी मैले केही अरू नेताहरूसँग पनि अन्तर्वार्ता गरेको थिएँ । दुर्भाग्यवश, कार्यक्रम प्रसारणचाहिँ हुन सकेन । त्यही बखत मलाई मनमोहनको व्यवहार र दृष्टिकोण निकै मन परेको थियो ।

कस्तो दृष्टिकोण ?

कलाकार, खेलाडी र साहित्यकारलाई हेर्ने दृष्टिकोण निकै राम्रो लाग्यो ।

एमालेको जबज (जनताको बहुदलीय जनवाद) बारे केही थाहा छ ?

त्यस्तो थाहा पाउन त खाँटी राजनीतिकर्मी हुनुपर्‍यो नि । हामी त कलाकार न पर्‍यौं । भर्खरै पार्टी प्रवेश गरेको छु । विस्तारै सिक्दै जानुपर्ला नि ।

कलाकारले राजनीति गर्नुहुन्छ ?

किन हुँदैन ? दुनियाँमा कलाकारले राजनीति गरिरहेकै छन् । अमेरिकामै पनि कलाकारहरू नेतृत्वमा पुगेका छन् । हाम्रै छिमेकी भारतकै कुरा गरौं, बलिउडका कलाकारहरू भारतीय राजनीतिको मूलधारमै आएका छन् ।

सक्रिय राजनीतिको योजना पनि बन्दै छ ?

मेरो क्षेत्र भनेको फिल्म नै हो । म दुई करोड नेपाली दर्शकको सम्मान गर्छु र 'भुवन केसी सधैं राम्रो फिल्म बनाउँछ' भन्ने कुरालाई पुष्टि गरी नै रहनेछु । विस्तारै सक्रिय राजनीति गर्ने सोच पनि छ ।

किन ?

कलाकारले देश बुझेको हुन्छ नि । विकट गाउँबस्तीदेखि सडक र गल्लीसम्मका कथा-व्यथा कलाकारलाई थाहा हुन्छ ।

भुवन केसी अनेक स्क्यान्डल गरिहरन्छन् भन्ने पनि छ नि ?

अहिलेसम्म भुवनले जे बोलेको छ, साँचो बोलेको छ । केही पत्रिकाले मेरो हालै भएको डिभोर्सलाई स्क्यान्डलका रूपमा लिए । उनी (सुस्मिता केसी) अहिले बेग्लै जीवन जिइरहेकी छन्, म छुट्टै । उनको आउँदो सुखी जीवनको म सधैं कामना गर्छु । अब पार्टी प्रवेशलाई पनि कसैले स्क्यान्डल नै भन्न सक्छन् । मैले स्क्यान्डल नै चाहिँ किन मच्चाइरहनुपर्‍यो भन्या ? मेरा सबै फिल्म 'सुपरहिट' भइरहेकै छन् । आउँदो फिल्म 'साथी म तिम्रो' लाई पनि दर्शकले उत्तिकै मन पराउनेछन् भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु ।

फिल्म 'राम्रो’ भइरहेका बेला पार्टी प्रवेश..?

हेर्नुस्, यसमा मेरो कुनै स्वार्थ छैन । भुवन केसीले पद र प्रलोभनका लागि कहिल्यै काम गरेको छैन र गर्दैन पनि । मेरो एउटै अभियान के हो भने म नेपाली फिल्मलाई देश-विदेशमा चिनाउन चाहन्छु, जसमा मलाई राजनीतिक सपोर्ट पनि चाहिन्छ । नेपाली फिल्म क्षेत्रलाई राजनीतिले पनि चिन्नुपर्छ भन्ने मेरो मान्यता हो । साभार: कान्तिपुर अनलाईन

1 प्रतिकृया/हरु:

timai camp said...

can u send me this plz @ premi_struggle@yahoo.com

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।