न्यू इयर इभमा कहाँ थियौ तिमी...

काठमाडौ, पुस १८ - तिमी आयौ महफिलमा तिमीलाई सलाम...' । सन् २०१० को अन्तिम दिनको पातो पल्टिन तीन घन्टा बाँकी रहँदा गायक शिव परियारले श्रोताहरूलाई सलाम ठोके सुरुमै ।

अंग्रेजी नयाँ वर्षलाई गीत/संगीतले स्वागत गर्न राजधानीको टेकुस्थित काठमाडौं दरबार रेस्ट्रो एन्ड बारमा निम्त्याइएका गायकले पानी परेको चिसो शुक्रबारे रातमा श्रोेताहरूलाई तताइरहेका थिए ।

'क्या दामी लास्टमा है' भन्दै तीन घन्टाभन्दा बढी समयमा उनले फर्माइसका हिन्दी गीतसमेत गाए । आउन लागेको एल्बम 'गजल' बाटै 'पागल बनायौ पि्रय, यो दिल हरेर पागल...' गाएर भावुक बनाउने क्रमलाई थाँती राख्दै उनले रोमान्टिक हिन्दी नम्बर सुनाए । उनलाई गायनमा सुरज थापा र आरती अधिकारीले पनि सघाए । उनीहरूले पालैपालो र संयुक्त रूपमा 'चाइना कम्पनी...' जस्ता चलेका गीतबाट सहभागीहरूलाई झुमाए ।

शिवले फर्माइसमा अन्य दुइटा हिन्दी गीतसहित आफ्नै 'कहाँ थियौ तिमी रंगमञ्च उठेपछि आयौ...,' 'फेवातालमा साइँली...,' 'लौन हजुर एउटा मान्छे दिल चोरेर फरार भो...' प्रस्तुत गरिसक्दा डान्स फ्लोर भरिइसकेको थियो ।

गायिका आरतीले अहिले चल्तीमा रहेका डान्स नम्बर 'मुन्नी बदनाम हुई...' र 'शिलाकी जवानी...' गाएपछि त न्यू इयर इभ पार्टीमा उपस्थित युवतीले पनि नाचेरै जवानी पस्के, तर बदनाम नभईकन । घडीको सुइले १२ बजिसकेको संकेत गर्दै अंग्रेजी नयाँ वर्ष सुरु भएको जनाउ दिएपछि भने शिवले आफ्नो भाका पूरा गरे र सुनाए, 'क्या दामी भो... ।'

गायक/गायिकालाई हार्मोनी ब्यान्डले ब्याकअप दिएको थियो । कंगो र ढोलकमा केशव खड्का, किबोर्डमा रूपमसिंह गुरुङ थिए भने लिड र बेस गितारमा क्रमशः विकास सुनुवार र राजेश घिमिरे । बाँसुरीमा उमेश पण्डित र ड्रम प्याडमा रूपेशसिंह गुरुङ थिए ।

सहर न्यू इयर इभमा झुमिरहेकै बेला लाजिम्पाटस्थित होटल र्‍याडिसनमा भिन्न माहौल थियो । देशीविदेशी पारखीलाई मनोरञ्जन दिलाउन र्‍याडिसनले थाइल्यान्डबाट डिजे र डान्सरहरू निम्त्याएको थियो । फेसन टीभी बैंककका डिजे रेमी र जेपेरिया क्लबकी डिजे बेबीबम्बले हिप हप, आर एन्ड बी, डान्स इलेक्ट्रोजस्ता अन्तर्राष्ट्रिय म्युजिकमा थाई म्युजिकको स्वाद मिसाएर डान्स पार्टी लभरहरूलाई नचाए । नाच्नेमा नेपाली र विदेशी सराबरी थिए । र्‍याडिसनको वाटरफल गार्डेनस्थित हलमा आयोजित 'क्लब इलेभेन' प्रस्तुतिमा बैंककबाटै आएका डान्सरहरू अगस्ट, आर्म, पोनी र भेनेसाको प्रस्तुति उत्तिकै लोभलाग्दो थियो ।

साँझ ढलेसँगै सिमसिम पानी परिरहँदा प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा 'रिभाइभ बिट्स' नामक ओपन डान्स पार्टी तात्तिएकै थियो । गायक निर्णय श्रेष्ठ, प्रमोद खरेल, विनोद खम्बु, र्‍याप कनेक्ट, नाएसन्स, विकास श्रेष्ठलगायतको प्रस्तुतिमा सहभागी नाचे । डिजे सुर र एनभीएनले जोसिलो बनाए । अभिनेता अनुप बराल, रमित ढुंगाना, रेश मरहट्ठासँगै ह्यान्डसम नेपाल र मिस टिनका विजेता-उपविजेता पनि कार्यक्रमका आकर्षण थिए । Source: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।