'गिरिजाबाबुले भनेपछि फिल्म बनाएँ'

काठमाडौ, पुस १५ - विद्रोही माओवादी शान्तिप्रक्रियामा आएपछि सांस्कृतिक क्रान्ति भन्दै धमाधम 'जनवादी' फिल्ममा लगानी गरी प्रदर्शन गर्न थालिएको बेला एक व्यक्तिलाई गिरिजाप्रसाद कोइरालाले 'डेमोक्रेटिक' फिल्म बनाउन आग्रह गरेछन् । लोकेन्द्र कार्कीले कोइरालाको प्रस्तावमा फिल्म त बनाए तर प्रस्तावकले हेर्न भने पाएनन् । राजनैतिक पृष्ठभूमिमै बनाइएको फिल्म 'शासन' माघको पहिलो सातादेखि दर्शकले हेर्न पाउने भएका छन् ।

'एकपक्षीय फिल्म आउन थालेपछि सन्तुलनका लागि पनि गिरिजाबाबुले डेमोक्रेटिक फिल्म बनाउन भनेका थिए,' आफ्नै लगानीमा फिल्म बनाएका लोकेन्द्रले फिल्मलाई राष्ट्रसेवक सिपाहीका दृष्टिकोणबाट बनाएका छन् । 'यसमा नेपाली आर्मीले भारतीय अतिवादविरुद्ध लडेको देखाइएको छ,' फिल्मकै मुख्य पात्रमा देखिएका उनले फिल्ममा प्रयुक्त केही आक्रामक संवाद पनि सुनाए । परराष्ट्र समस्या आउला नि भन्ने प्रश्नमा उनी जंगिए, 'भारतीय राजदूतले नेपालमा मनपरी भन्न हुने, हामीले आफ्नो राष्ट्रियताको सवालमा बोल्न पनि नहुने ?' नायकको आरोप छ, 'नेपालमा हुने आपराधिक घटना भारतबाटै मान्छे आएर हुने गरेका छन्, जसमा नेपाली नेताकै पनि हात हुने गर्छ ।'

नेपाली सुरक्षा संयन्त्र बलियो देखाइएको फिल्ममा अधिकांश दृश्य आर्मी हेडक्वाटरदेखि विभिन्न क्याम्पमा खिचिएका छन् । एउटै दृश्यमा चार सयभन्दा बढी अत्याधुनिक हतियारसहितका प्रहरीको प्रयोग होस् वा पूर्वराजाले चढ्ने गरेको हेलिकोप्टर, क्यामेरामा कैद भएका छन् । लोकेन्द्रले आफ्नो उच्च राजनैतिक पहुँचकै कारण पनि राष्ट्रपति भवनमा बन्दुक पड्काएका दृश्य समेट्न सकेका रहेछन् ।

राष्ट्रपतिदेखि नेताले आफ्नो दायित्व यथोचित निर्वाह नगर्ने तर द्वैधचरित्र देखाउनेलाई जनपक्षीय हुन दबाब दिने सन्देशात्मक फिल्म बताउने निर्माता/नायक कार्कीले तिनै नेतालाई फिल्म देखाउन कोसिस गरिरहेका छन् । सामाजिक हितमा काम गर्न फिल्म माध्यमनै सशक्त र प्रभावकारी हुने ठानेका उनले फिल्मबाट उठेको रकमबाट तीन विद्यार्थीलाई स्नातक तहको निःशुल्क शिक्षा मिलाइदिने बताएका छन् ।

फिल्म 'सोल्टिनी'बाट १४ वर्षअघि फिल्म क्षेत्रमा नायक बनेर छिरेका लोकेन्द्रले शिक्षित फिल्मकर्मीको अभावकै कारण नेपाली फिल्म क्षेत्र व्यावसायिक बन्न नसकेको मान्छन् । आकाश अधिकारी निर्देशित फिल्ममा रेखा थापा, सञ्चिता लुइँटेल, नीर शाह, सम्राट सापकोटाले पनि अभिनय गरेका छन् ।

डेढ करोडको लगानीमा बनाइएको दाबी गरिएको उक्त फिल्मले साधारणदेखि हाईफाई दर्शक सबैले रुचाउने विश्वास व्यक्त गर्दै निर्माताले लगानी नेपाली बजारबाटै उठाउनेमा विश्वस्त छन् । Source: Kantipur Online

1 प्रतिकृया/हरु:

Khem Adhikari said...

dherai ramro kura.BEst of luck.

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।