बाबुले तताए शरणार्थी शिविर

बाहिरको चिसो भाटाले बारेको कटेराबाट सीधै भित्र छिरिरहेको थियो । मंसिरको अन्तिम साता चिसो स्याँठले सबै कठंग्रिएका थिए । झापाको उत्तरवर्ती खुदुनाबारीमा भुटानी शरणार्थी शिविरको त्यो माहोलमा गायक बाबु बोगटी छिरे, धेरैले बाहिरको कटेराको चिसो आधा हटेको महसुस गरे, तर आधा महसुस गरिएको चिसो पनि त्यस बेला पूरै हट्यो जब बाबुले चलचित्र बाटो मुनिको फूलको लोकप्रिय गीत तुलसी आँगनमा ...गाउन सुरु गरे ।

शरणार्थी शिविरमा त्यो सांगीतिक माहोलको चाँजोपाँजो मिलाएको थियो— दमकस्थित गन्तव्य थिएटरले । थिएटरले सञ्चान गरेको नाट्य प्रशिक्षणको उदघाटनको दिन विशेष आकर्षण बनेका थिए, गायक तथा नायक बाबु बोगटी । बाबुभन्दा अघि विल्सन विक्रम राईको हास्यव्यंग्यले माहोल तताए पछि गलाको मफलर निकाल्न सुरु गरेका दर्शकले बाबुको गीत सुनिसक्दा आङका स्विटर खोलेर वाह-वाह गर्न थालिसकेका थिए ।

भुटानी शरणार्थीहरूको शैक्षिक सहायता सस्था कारितास नेपालको सहयोगमा युवामैत्री केन्द्रले मंसिर २६ सुरु गरेको ५ दिने नाटक प्रश्ािक्षणमा सहभागी झापा र मोरङका ७ शरणार्थी शिविरका कलाकारहरूलाई मनोरञ्जन दिन गायक बाबु त्यहाँ पुगेका थिए । source: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।