टेलिकमप्रति स्रष्टाहरूको आपत्ति

काठमाडौं, पुस ६ (नागरिक)- नेपाल टेलिकमले सीआरबीटीको जिम्मेवारी तेस्रो पक्षलाई दिन खोजेकोमा संगीत क्षेत्रका स्रष्टाहरूले आपत्ति जनाएका छन्। टेलिकमले स्रष्टाको भाग खोज्ने प्रयास गरिरहेको आरोप नेपाली गीत-सङ्गीतसँग सम्बद्ध निकाय र व्यक्तिहरूले लगाएका छन्।

टेलिकमले उपलब्ध गराएको कलर रिङ ब्याक टोन (सीआरबीटी) मार्फत् सङ्गीतसम्बद्ध पक्षहरू गीतकार, सङ्गीतकार, गायकगायिका र म्युजिक कम्पनीलाई पचास प्रतिशत र आफ्नो भागमा पचास प्रतिशत हिसाब छुट्याउँदै आएको छ। तर हालै टेलिकमले सीआरबीटी दिन तेस्रो पक्षको खोजीमा विज्ञापन गरेपछि स्रष्टाहरूबीच आशंका उत्पन्न भएको हो। लामो समयदेखि सीआरबीटी सेवा सञ्चालन गरेर त्यसका लागि प्रयुक्त प्रविधिको मूल्य असुल भइसके पनि स्रष्टाको हिस्सा वृद्धि नगरेको टेलिकमले यो सेवा निजी कम्पनीलाई दिने सूचना प्रवाह गर्नासाथ नेपाली सङ्गीतसँग आवद्ध स्रष्टा र सङ्गीत प्रकाशकहरूले चासो लिएका हुन्।

सङ्गीतसम्बद्ध संस्था र स्रष्टाहरूको एक प्रतिनिधि मण्डलले सोमबार सञ्चार सचिव सुशील घिमिरेलाई ज्ञापनपत्र दिँदै यो कुरा अवगत गराएको छ। सम्बद्ध सूत्रका अनुसार सचिव घिमिरेले यसबारे नेपाल टेलिकमसँग बुझी स्रष्टाहरूको हितमा निर्णय गर्न पहल गर्ने आश्वासन दिएका छन्।

पाँच बुँदे ज्ञापनपत्रमा तेस्रो पक्षलाई यो सेवा सञ्चालन गर्न दिने हो र त्यसको कमिसन स्रष्टाकै खाताबाट कट्टी गरिने हो भने मान्य नहुने कुरा स्पष्ट पार्दै यसो गरिएमा टेलिकमलाई आफूसँग रहेका कुनै पनि साङ्गीतिक सामग्री उपलब्ध नगराउने कडा चेतावनी दिएका छन्।

प्रतिनिधि मण्डलमा प्रतिलिपिअधिकार संरक्षण समाजका अध्यक्ष, कालीप्रसाद रिजाल, सङ्गीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष श्रीपुरुष ढकाल, गायन समाजका अध्यक्ष रामकृष्ण ढकाल, नेपाल सङ्गीत उद्योग संघका अध्यक्ष भगवानकुमार श्रेष्ठ, सङ्गीत रोयल्टी सङ्कलन समाज नेपालका महासचिव भरत शाक्य, गीतकार रमण घिमिरे तथा म्युजिक नेपालका प्रवन्ध सञ्चालक सन्तोष शर्मा सहभागी थिए।

ज्ञापनपत्रमा निजी टेलिफोन प्रदायक एनसेलले समेत स्रष्टा र सङ्गीत उत्पादकलाई ५० प्रतिशत सीआरबीटी कमिसन उपलब्ध गराउँदै आएको जानकारी पनि समावेश छ।

Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।