राम्रैराम्राले बनाएको फिल्म राम्रो भएन

सन्तोष रिमाल- बलिउड अभिनेत्री मनीषा कोइरालाको पुनरागमनले जोडतोड प्रचार पाएको नेपाली फिल्म 'धर्मा' रिलिज भएको छ। बलिउडमा ओझेल परे पनि 'धर्मा'मा उनको उपस्थितिले उदाउँदो चर्चा पाएको छ। तर, हल्ला अनुसार चम्किएको छैन उनको भूमिका। सस्तो सूत्रमा बनेको फिल्ममा उनी एउटी फितलो पात्रका रूपमा छिन्।

इमान्दार वन अधिकृत धर्मा(राजेश हमाल)की पत्नी गौरीको रूपमा मनीषा प्रकट हुन्छ फिल्ममा। आफ्नो नामको पर्यायवाची बनेको 'मुस्कान'का साथ फिल्ममा देखिए पनि यो भावमा धेरै टिक्दिनन्। तस्करहरूले पतिको हत्या गरेपछिको वियोगान्त मुडमा उनी बढी देखिन्छिन् पर्दामा। प्रहरीको मिलेमतोमा गैंडा र रक्तचन्दनको तस्करले धर्माको हत्या गरेको थाहा पाएपछि उनका भाइ अभय (संयोग पोखरेल) बदलामा उत्रिन्छ। तस्कर, पुलिस र अभयको त्रिकोणमा फिल्म घुम्छ। 'अन्त्यमा हिरोले नै जित्ने' प्रचलित मान्यतामा अडिएको छ, 'धर्मा'। बन्दुकको लडाइँले महŒव पाएको फिल्ममा भिलेनको मरण त्रिशुल प्रहारबाट हुन्छ। कसको हातबाट भनेर धेरै दिमाग घुमाउनै पर्दैन। अवश्य पनि गौरी (मनीषा)को। र, फिल्ममा यस्तो डिएसपी (निखिल उप्रती) झुल्किन्छ, जो खाग तस्कर समात्न गए पनि धर्माको परिवारलाई सघाउनमै व्यस्त रहन्छ।

उसको महानता यतिमै सकिँदैन। गौरीलाई हत्याको अभियोगबाट बचाउन पेस्तोल आफैंतिर फर्काउँछ र 'भीडन्त'मा मृत्यु भएको भन्न सिकाउँदै संसारबाट बिदा लिन्छ।
बलिउडले धेरै पहिले छोडिसकेको र नेपालमै समेत थोत्रो भइसकेको शैली र कथालाई 'धर्मा'ले अँगालेको छ। यसका निर्देशक दीपेन्द्र के खनालको यसअघि 'द युगदेखि युगसम्म' फिल्म रिलिज भएको थियो। राजेश हमालको 'इमेज' बदल्ने दावी गर्दै निर्देशनमा उत्रिएका खनालले उक्त फिल्ममा राजेशको कपालमात्रै बदल्न सकेका थिए।

'धर्मा'मा चाहिँ उनले त्यति पनि गर्न सकेनन्। यो फिल्ममा राजेशको पुरानै पारालाई मलजल गरिएको छ। निखिलले उफ्रिन, झुन्डिन र 'स्टन्ट' देखाउन मजैले छुट पाएका छन्।
राजेशको गर्जन, निखिलको उडान र आइटम डान्स (रेजिना उप्रेतीको) नै यसका मसला हुन्। मुलधारका फिल्मकर्मीले 'मसला' घटाउँदै गएको बेला निर्माता दुर्गा पोखरेल पुरानो मसलाको परिकार लिएर आएकी छिन्।

फिल्ममा मनीषा लगामबिनाको घोडा लाग्छिन्। बलिउडमा निकै खारिएकी उनको यसमा निरर्थक उपस्थिति छ। निर्देशक कमजोर हुँदा फिल्म कतिसम्म अनियन्त्रित हुन्छ भन्ने यो फिल्मले देखाउँछ। मनीषाको सदुपयोग गर्ने 'आत्मबल' निर्देशकले जुटाउन नसकेको लाग्छ।

उनले डबिङमा सच्याउन सकिने त्रुटीमा पनि ध्यान दिएका छैनन्। नबोलुन्जेल 'राम्री' लाग्ने मनीषा जब बोल्न थाल्छिन् ठूलो समस्या त्यही बन्छ। अंग्रेजी र हिन्दी लवजमा मनीषाले बोलेको नेपाली सबैभन्दा बिझाउने पक्ष हो।

आमा (दुर्गा पोखरेल)ले बनाएको फिल्ममा संयोगले ठूलो भूमिका पाएका छन्। तर, राम्ररी निर्वाह गर्न सकेका छैनन्। सपाट लाग्छन् संयोग। प्रेम गर्दा, रुँदा, हास्दा, फाइट खेल्दा करिब करिब उस्तै भाव भेटिन्छ उनको। 'अभिनय होइन उफ्रेर हिरो भएको' भनिने निखिलको अगाडि पनि उनी फिक्का देखिन्छन्। फिल्ममा सामान्य रोल पाएका कलाकारको अभिनय भने राम्रो छ।

यसलाई भ्रष्टाचार विरुद्धको फिल्म भनिएको छ। तर, भ्रष्टाचारको अन्त्य होइन दुश्मनको अन्त्यलाई फिल्मले प्राथमिकता दिएको छ। 'भ्रष्टाचारीलाई नमारी भ्रष्टाचार हट्दैन' भन्ने गलत आदर्श यसमा छ। यो समस्याको निराकरणमा नयाँ सोच फिल्मले प्रस्तुत गर्न सकेको छैन।

राजु थापाको 'क्यामेरा वर्क' यसमा पनि राम्रो छ। लोकेसन र प्रोपर्टीमा निर्माताले मन फुकाएको देखिन्छ। धेरै नेपाली फिल्मको कमजोरी बनेको 'भिज्युअल क्वालिटी'का अगाडि 'धर्मा' शानदार छ। ठूलो नाम भएका कलाकार छन्। तैपनि राम्रैराम्राले बनाएको फिल्म राम्रो बन्न सकेको छैन। निर्माताले फिल्मको 'हार्डवेयर'मा ध्यान दिएकी छिन् तर 'सफ्टवेयर'मा छैनन्। Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।