रेडकार्पेटमा 'धर्मा'

मनिषा कोइराला र राजेश हमाल स्टारर चलचित्र 'धर्मा'लाई विहिबार विशिष्ठ जमघटका बीच रेडकार्पेट प्रीमियर गरिएको छ । कांग्रेस सभापति सुशिल कोइराला, नेपाल प्रहरी प्रमुख, कुटनीतिक नियोगका व्यक्तित्व, कलाकारलगायत क्यूएफएक्स कुमारी मल्टिप्लेक्समा आयोजित रेडकार्पेटमा उपस्थित थिए ।

रिलिजको पूर्वसन्ध्यामा आयोजित प्रीमियरलाई कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो । कुमारीका दुवै अडिटोरिएममा चलचित्र प्रदर्शन गरियो । चलचित्रका अर्का स्टार निखिल उप्रेती मुम्बइ र महानायक हमाल सुटिङका क्रममा राजधानीबाहिर रहेकाले प्रीमियरमा उपस्थित भएनन् । अमेरिकी राजदूत स्कटएच डेलिसीले आफू कार्यव्यस्तताका कारण अन्तिम समयमा आउन नपाएको खबर पठाएका थिए । आमा सुष्मासहित मनिषा प्रीमियरमा पुगेकी थिइन् । डेब्यु हिरो संयोग आमा तथा निर्मात्री डा. दुर्गा पोखरेलसँगै पुगेका थिए ।

कक्टेल पार्टीसहित आयोजना गरिएको प्रीमियरमा विदेशी ब्रान्डका महंगा मदिरा उपलब्ध थिए । अतिथिहरुले मदिराको चुस्कीसँग अन्तरंग गफगाफ पनि गरेका थिए । निर्देशक दीपेन्द्र के. खनालले प्रीमियर आयोजना गर्न मात्र ६ लाख खर्च भएको बताए । 'यति बजेटमा सामान्य चलचित्र पनि बन्छ' स्वास्थ्य लाभ गरिरहेका दीपेन्द्र भन्दै थिए । कान्तिपुर टेलिभिजनले मात्र लाइभ गरेबापत २ लाख लिएको थियो ।

दशवर्षपछि बलिउड अभिनेत्री मनिषा कोइराला कमब्याक भएकाले पनि 'धर्मा' प्रतिक्षित बनेको छ । डिजिटल सिनेमा नेपालको सर्भरजडित पूर्वबाहेकका हलमा देशब्यापी चलचित्र रिलिज हुँदैछ । दोस्रो साताबाट मात्र चलचित्र पूर्वमा रिलिज हुनेछ । प्रमोसनका लागि 'धर्मा' टीम शनिबार पोखरा पुग्दैछ । प्रमोसनका लागि मनिषा गृहनगर विराटनगर पुग्ने कार्यक्रम छ । चलचित्रबाट अनु शाहले डेब्यु गरेकी छिन् । चलचित्रमा रिनशा राइ र कृष्ण अछामीको कोरियोग्राफी, सूर्य थोकरको एक्सन, उगेश रायमाझीको स्टोरी, दीपेन्द्रको स्क्रिनप्ले, हरि लम्सालको म्युजिक, राजुविक्रम थापाको सिनेम्याट्रोग्राफी र मिलनकुमार श्रेष्ठको एडिटिङ हेर्न सकिनेछ ।

दसैंअघि 'धर्मा'ले पीजी सर्टिफिकेटसहित क्लिनचिट् पाएको थियो । भ्रष्टाचार, कर्मचारीतन्त्र र अस्थिर राजनीतिबारे बनेको चलचित्रलाई एक्सन र ड्रामा श्रेणीमा राखिएको छ । चलचित्र 'धर्मा'को विस्तृत विवरणका लागि मेरोसिनेमा डटकम भिजिट गर्दै रहनुहोला । Source: MeroCinema

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।