हिस्स पर्छन् दर्शक

काठमाडौ, मंसिर २३ - लामो समयको अन्तरालपछि ठूलो पर्दामा एकसाथ देखिने भएपछि हास्यव्यंग्यजगत्का आदर्श जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) का फ्यानहरू 'हाँसिदेऊ एक फेर' का लागि व्यग्र थिए । उक्त फिल्म हेरेपछि भने दर्शकहरूको अपेक्षामा तुषारापात भएको छ ।

टेलिसिरियलमा सफल महलाई निर्देशक शिव रेग्मीले सदुपयोग गर्न सकेका छैनन् । विषयवस्तु गम्भीर हुँदाहुँदै कमजोर छायांकन र सम्पादनले फिल्मलाई फितलो बनाइदिएको छ । फिल्ममा गाडी दुर्घटनामा बाबुआमा गुमाएको भान्जालाई मामाले दिएको माया र साथ एकातिर देखाउन खोजिएको छ भने अर्कातिर धनसम्पत्तिमा लिप्त छोराले आमाबाबुलाई गरेको हेलालाई भावनात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

सबैको भलो चिताउने सोझो र सरल हिसाबले जिन्दगीको अर्थ बुझेको मामाको भूमिकामा देखिएका हरिवंश फिल्मको केन्द्रमा छन् । दुःखजिलो गरी हुर्काएको छोरो पछि धनवान् भएपछि उसको बेवास्तामा परेका आमाबाबुको भूमिकामा मिथिला शर्मा र मदनकृष्ण सहायक पात्रका रूपमा देखिएका छन् ।

फिल्ममा हाँसो, रोदन र प्रेमका सबै मसला प्रयोग गरिएको भए पनि पटकथाको अन्तर्सम्बन्ध गठिलो बन्न नसकेकाले 'हाँसिदेऊ एक फेर' का दृश्यहरू एल्बममा तस्बिर पल्टाए जसरी फटाफट फेरिइरहन्छन् । कथालाई विकसित गर्न देखाइने घटनाहरू पनि खासै यथार्थपरक र सहज लाग्दैनन् ।

फिल्मको सबल पक्ष भनेको संवाद हो । एकाध गीतबाहेक सुरेश अधिकारीको संगीत कर्णपि्रय बन्न सकेको छैन । नृत्यमा वसन्त श्रेष्ठको काम कामचलाउ छ । अधिकांश दृश्य र घटना वास्तविकताको नजिक हुनबाट चुक्दा दर्शकले धेरै ठाउँमा प्रश्न उठाउन

सक्छन् । जवाफ फिल्मको अन्त्यसम्म पनि पाउन नसक्दा निराश बन्न सक्छन् । प्रदर्शनपूर्व नै फिल्मका एक पात्र मदनकृष्णले दर्शकहरूलाई ठूलो आशा राखेर हेर्न नआइदिन गरेको आग्रहले पनि महको स्तरअनुसारको फिल्म बन्न नसकेको पुष्टि भएको छ ।

सामाजिक विषयमा हास्यरस मिसाएर रचनात्मक व्यंग्य गर्न सिपालु मानिएका महले प्रमुख भूमिकामा खेलेकैले पनि फिल्मले एक फेर हाँस्न गरेको आग्रह थोरै हुने अनुमान गरेका दर्शक फिल्म हेरेपछि हाँसो न आँसु हुन्छन् । शीर्षक त दर्शकका लागि राखे जस्तो पो लाग्छ । बहुप्रतीक्षित मानिएको 'हाँसिदेऊ एक फेर' अनपेक्षित रूपमा कमसल बनेकैले हलहरूमा एक साताभन्दा बढी टिक्न मुस्किल पर्ने देखिन्छ ।

Source: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।