काठमाडौं, कात्तिक २६ (नागरिक) - फिल्म 'फर्की आऊ'को सुटिङमा निर्देशक ओम प्रतीकलाई प्रहरीको सहयोग चाहिने भयो। उनी फिल्मलाई 'वास्तविकताको नजिक' बनाउन चाहन्थे। त्यसैले फिल्ममा सक्कली प्रहरी नै खेलाउने निर्णय गरे। बर्दी पनि नक्कली होइन सक्कली नै प्रयोग गर्न चाहे। उनको कथाले ५० वटा जति नक्कली गोली पनि माग्यो।यी सबै आवश्यकता पूरा हुने आशा बोकेर उनी प्रहरी प्रधान कार्यालय नक्साल पुगे। लिखित निवेदन पनि दिए। तर, त्यति सजिलै उनले यी सब चिज पाएनन्। फिल्मको पुरा स्त्रि्कप्ट नहेरी उनलाई सहयोग गर्न त्यहाँका अधिकारी तयार भएनन्। धेरै फिल्मले पुलिसको धज्जी उडाएको देखेका अधिकारीले फिल्मको कथावस्तुमात्र होइन कलाकारको हुलियासमेत आफूले भने बमोजिम हुनुपर्ने सर्त राखे।
आपत्तिको पहिलो जड बने हिरो राजेश हमाल। फिल्मभरि प्रहरीको भूमिकामा देखिने राजेशले कपाल नकाटे सहयोग प्रक्रिया अगाडि नबढ्ने भयो। जबकि सबै फिल्ममा कपाल हल्लाएर नै प्रहरी बन्दै आएका थिए राजेश।
अधिकांश फिल्मले गरेको 'पुलिस चित्रण'प्रति असहमत नक्सालका प्रहरी अधिकारीले 'फर्कि आऊ'को संवाद समेत अध्ययन गरे। र, त्यसमा पनि केही परिवर्तन गरिएमात्र सहयोग गर्ने वचन दिए।
सामाजिक कथावस्तुको यो फिल्ममा धेरै असहमतिको ठाउँ नभएको बताए निर्देशकले। 'पहिला कथा हेरे। पुलिस फोर्समा आँच आउने प्रसंग नदेखेपछि सहयोग गर्न राजी भएका हुन्,' उनले भने। तर, रोल जस्तो सुकै होस् कपाल हल्लाउँदै मुक्का बर्साउने राजेशको कपाल काट्नु ठूलै चुनौती बन्यो। 'मैले फिल्मको कथा सुनाएपछि कपाल काट्न तयार भए राजेश,' उनले नागरिकलाई भने।
राजेशको लामो कपाल धेरै फिल्मको 'कन्टिन्युटी'मा फसेको हुनाले ती फिल्मको सुटिङ सकाएर मात्र आफूले मिति तय गरेको ओमले जानकारी दिए। 'फर्की आऊ'मा युवादेखि वृद्धसम्मको भूमिकामा देखा पर्ने राजेश सईदेखि डिएसपी सम्म बन्नेछन्।
'फिल्म पुलिसको विषयमा छ। राजेश मुख्य पात्र हुन्। सुहाउँदो बनाउन उनको कपाल काट्नु परेको हो,' निर्देशक ओमले भने। 'चन्द्रावती' फिल्मको सुटिङ सिद्धिएपछि राजेशले कपाल काट्नेछन्। 'फर्की आऊ'को सुटिङ यही महिनाको अन्त्यमा थाल्ने निर्देशकको तयारी छ। Source: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।