काठमाडौ, कार्तिक १४ - माछाजस्तै पानीमा डुबुल्की मार्न, चराझैं खुला आकाशमा उड्न अनि आमयुवतीको जीवन ज्यून चाहन्छे, मानवी । तर उदयशमशेर राणाकी एक्ली छोरीका लागि आफ्नै राजसी खानदानको प्रचलित मान्यता तगारो बनिदिन्छ ।
संसारकै अमूल्य र दुर्लभ गहना पहिरिने छोरीको अनुहारमा किञ्चित् परिवर्तन देखिए पनि डाक्टरद्वारा परीक्षण गराउँछन्, बाबु । 'दरबार' बाहिरको हावापानीबाट पनि पर राख्ने उनै बाबुलाई छोरीले एक आमयुवकलाई मन चोराएपछि झट्का लाग्छ । त्यसपछि भने सवीर श्रेष्ठ निर्देशित फिल्म 'कसले चोर्यो मेरो मन' मा यी दुई प्रेमी जोडीबीच मिलन-विछोड चलिरहन्छ ।
प्रदीप भारद्वाजको कथामा शासन अन्त्य भएर पनि रवाफको धङधङी बाँकी रहेको राणा परिवारभित्रको परिवेश समेटिएको छ । उदयशमशेर (नीर शाह) ले आफ्नी एक्ली छोरी (रेखा थापा) लाई कुनै पनि भौतिक सुविधाको कमी हुन दिएको हुँदैन । तर सुख नभई खुसी चाहने छोरी इंगेजमेन्टकै दिन अपरिचित युवकसँग भाग्छे ।
पहिले पाउन नसकेको खुसी त्यही युवक आदित्य (आर्यन सिग्देल) सँग पाएपछि भागेर बिहे गर्ने हिम्मत गर्छे । तर बाबु नै तगारो बने पनि अन्ततः 'कसले चोर्यो मेरो मन' ले पनि सनातन अन्त्य पाउँछ, गलत कदम चाल्नेले प्रायश्चित गर्छन् र साढे दुई घन्टाको फिल्मले थकाइ मार्छ ।
रेखा अभिनीत पात्र हाबी रहेको फिल्मको कथामा खास नयाँपन पाउन सकिँदैन, पटकथा व्यवस्थित बन्न सकेको छैन । त्यसो त संजय लामाको सिनेमाटोग्राफीलाई खोट लगाइहाल्नुपर्ने देखिँदैन । उच्च खानदानको पारिवारिक पृष्ठभूमि भए पनि बरु कतिपय दृश्यमा प्रमुख पात्रबाहेकका भेषभूषादेखि अन्य सेटिङमा सम्पन्नता झल्कँदैन । बोलीचालीमा पनि राजसी ठाँट पर्याप्त निस्कन सकेको छैन ।
सुरेश अधिकारीको संगीत राम्रै छ । किरण खरेलका गीत धेरै हदसम्म विषयनिकट छन् । मारकाटका दृश्यमा राजेन्द्र खड्गीको प्रयास नवीनभन्दा पनि निरन्तरता मात्रै छ । बरु फाइटको दृश्यमा एक पात्रलाई हिन्दी फिल्म 'गजिनी' का टाउको चिरिएका सञ्जय सिंहानिया -अमिर खान) को प्रतिलिपि बनाएर सस्तो काम गरेका छन् ।
फिल्म आफैंवरिपरि घुमेको भए पनि रेखाको अभिनयले दर्शकलाई पात्रसँग डोहोर्याउन सकेको देखिँदैन । गमिलो, अनुशासित र प्रशिक्षित आदरार्थी लवज देखिनुपर्ने मानवीको पात्रका सट्टा उनी बोलीचाली र हाउभाउ दुवैमा चुलबुले रेखा थापालाई मार्न सकेकी छैनन् । बरु आर्यनले धेरैहदसम्म राम्रो गरेका छन् । कतिपय मार्मिक बनाउन खोजिएका दृश्यले मन छुँदैनन् । जसका कमजोरी थुप्रै छन् ।
कडा अनुशासन र रहनसहनमा हुर्के बढेकी राणा खानदानकी छोरी मानवी आफ्नो इंगेजमेन्ट भइरहँदा दोस्रो अपरिचित युवकसँग चोर बाटो हुँदै भाग्दा पनि डरको कुनै छिटा अनुहारमा देखिँदैन । लाग्छ उनी अबुझ बालिका हुन् । त्यसो त चारै प्रहर कडा सुरक्षा हुने महलमा बाहिरी युवक छिरेर भोजभतेरमा सरिक हुँदा र हुनेवाला बेहुलीलाई सबैका माझबाट लग्दासमेत कसैले पत्तो नपाउनु अर्को उदेक लाग्दो विषय हो । त्यसो त कहिल्यै बाहिरी मानिससँग घुलमिल हुन नपाएकी युवती नामसमेत थाहा नभएको युवकसँग साथी भन्दै अकस्मात् हिमचिम बढाउनु मात्रै नभई रातै काट्नु कतिसम्म यथार्थपरक लाग्ला ?
झन्डै एकांकी नाटकजस्तो लाग्ने गरी पूरा फिल्ममा दुई पात्र मानवी र आदित्यका पट्यारलाग्दो गरी लम्बिएका दृश्य र एउटै सोझो कथामा फिल्म अघि बढ्दा बेस्वाद र सनसनीहीन बन्न पुगेको छ । फिल्म अवधिभर खलनायकी पस्केर जसलाई मार्नर् तम्सेको हो, फिल्म अन्त्यको एक/दुई मिनेट बाँकी छँदा हतारमा गल्तीको प्रायश्चित्त गरेर उसैलाई छोरीको हात सुम्पने उदयशमशेरको कदमले पूरा फिल्मलाई कमजोर बनाउन थप मद्दत पुर्याएको छ । धेरै दृश्यमा दर्शक अनुत्तरित बन्नेछन् । उक्त फिल्मले रेखा थापा भनेपछि भुतुक्क हुने एकथरी दर्शकबाहेक अन्यको मन चोर्न भने गाह्रै देखिन्छ । Source: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।