सामान्य गुरुदक्षिणा

काठमाडौ, कार्तिक १२ - प्रेम र द्वन्द्वप्रधान फिल्महरू एकपछि अर्को गरी प्रदर्शनमा आइरहेका बेला पछिल्लोपटक पुनर्जन्ममा आधारित फिल्म 'गुरुदक्षिणा' ले पृथक विषयको उठान गर्न खोजेको छ ।

राजाराम दाहाल निर्देशित मल्टिस्टारर उक्त फिल्मको कथा राममणि सुवेदीले लेखेका हुन् । आफ्नै छोराद्वारा मारिनुपर्ने भविष्यवाणी सुनेको खलपात्रले मृत्युको डरलाई हटाउन गरेको छोराको हत्या प्रयासले कृष्ण र कंसबीचको धार्मिक कथालाई सम्झाउँछ । तर फिल्ममा 'पण्डित' ले गरेको भविष्यवाणी खलपात्रको छोरोले दोस्रो जन्ममा आएर सही ठहरिन्छ । तर उसले आफ्नै बाबुलाई मार्नुको कारण भने कतै खुल्न सकेको छैन ।

सम्पत्तिका लागि आफ्नै बाबुको हत्या गरेको छवि बोकेका खलपात्र जगतमान सिंह (रवि गिरी) ले आफूलाई मृत्युको मुखमा पुर्‍याउने भनिएको छोरा अमर (राजबल्लभ कोइराला) को सानैमा हत्या गरे पनि उसको पुनर्जन्ममा देखिएको जय (रमित ढुंगाना) ले गुरु पीताम्बर (राजेश हमाल) को सहयोगमा अन्ततः बाबुको हत्या गर्छ । फिल्म लागूऔषधको ओसारपसार गर्नेदेखि युवालाई यसको कुलतमा फसाउने चरित्र बोकेको जगतमानकै वरिपरि घुमेको छ ।

क्रिएटिभ मनकामना फिल्म्स प्रालिको ब्यानरमा बनाइएको फिल्म 'गुरुदक्षिणा' मा दीपानारायण झा र वसन्त सापकोटाको संगीत सामान्य सुनिन्छ । कविराज गहतराज र विजय नकर्मीको संयुक्त कोरियोग्राफी रहेको फिल्मका गीतमध्ये नायिका ऋचा घिमिरेलाई एक गीतमा उत्तेजक मुद्रामा नचाएर दर्शक तान्ने प्रयास गरेको देखिन्छ । फाइट दृश्यमा योगेन्द्र श्रेष्ठको काम फितलो बनेको छ । चूडामणि अर्यालले झन्डै २५ वर्ष अन्तरका दुई कालखण्डका दृश्यलाई चलाखीपूर्वक क्यामेरामा कैद गरेको देखिन्छ । पञ्चायतकालीन समयका दृश्यलाई उनले प्रायः जंगलमा र 'इन्डोर' सुटिङ गरी सेटिङको झमेलामा फस्न चाहेका छैनन् । खासै तुक नदेखिएको कथाको पटकथा र संवादमा पनि कलात्मकता भेटिँदैन ।

अभिनयका हिसाबले पनि कुनै कलाकार जम्न नसकेको फिल्ममा सञ्चिता लुइँटेल, सुषमा कार्कीले पनि हिरोहरू रमित र राजबल्लभको प्रेमिकाको रूपमा देखिएका छन् । साधारण रूपमै खुट्याउन सकिने कतिपय कमजोरीले गर्दा फिल्म सामान्यभन्दा माथि उठ्न सकेको छैन । फिल्म भविष्यवाणी र धर्ममा विश्वास नगर्ने दर्शकका लागि पूरै बेकार लाग्न त सक्छ नै, आस्तिकका लागि पनि चित्त बुझ्दो नलाग्न सक्छ । Source: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।