जापानबाट तीन दशकपछि आमा

काठमाडौ, आश्विन २६ - ४६ वर्षअघि नेपाली रजतपटमा आएको पहिलो फिल्म 'आमा'मा अभिनय गर्दा सामाखुसीकी चैत्यदेवी सिंहको उमेर १५ वर्षको मात्रै थियो । 'आमा'कै भूमिका निभाएको अनौठो रोल उनले त्यसबेला मात्रै थाहा पाइन्, जुनबेला फिल्म पूरा भएर पर्दामा देखियो ।

त्यसबेलाकी उनै '१५ वर्षे आमा'को उमेर अहिले ६१ पूरा भएको छ । र, झन्डै ३० वर्षपछि आफ्नो माइतीघर सम्झेर उनी नेपाल फिरेकी छन्- कर्मघर जापानबाट । 'आफ्नो देश आउन पाउँदा अति नै खुसी लागेको छ,' सोमबार फिल्मसम्बन्धी पढाइ हुने ओस्कार कलेज अफ फिल्म स्टडिजले आयोजना गरेको फिल्मकर्मीबीचको शुभकामना आदान-प्रदान कार्यक्रममा आफ्ना पुराना सहकर्मीसँग एकैसाथ भेटघाट भएपछि सबैको केन्द्रबिन्दुमा परेकी चैत्यदेवीले भनिन्, 'अहिले म जति खुसी सायदै कोही भएको होला ।'

कार्यक्रममा उनी पुराना 'सहकर्मी'हरूसँग बढी रमाइरहेकी थिइन् । रमाइलोलाई आफ्नै क्यामेरामा कैद गरिदिन अन्य सहभागीलाई आग्रह गर्दै फिल्मकर्मी साथीहरूसँग जोडिन हिरोइनलाई भ्याईनभ्याई थियो ।

आधा दर्जन विदेशी भाषामा पोख्त उनी लामो समयको अन्तरालपछि एकपटक धेरैजनासँग नेपालीमा बोल्नुपर्दा कनिकुथी गरिरहेकी थिइन् । आफ्नो समस्या नलुकाई उनले भनिन्, 'नेपालीमा बोल्न, सम्बोधन गर्न गाह्रो हुने भइसकेछ ।' हाल जापानलगायतका विभिन्न मुलुकमा घुम्दै नेपाली भेषभूषा र कलासंस्कृतिको प्रबर्द्धनमा जुट्दै आएकी उनी टि-सर्ट र पाइन्टमा सजिँदै सोमबार पहिलोपटक सार्वजनिक कार्यक्रममा देखापरेकी थिइन् ।

'दसैं-तिहारकै लागि भनेर आएकी हुँ,' झन्डै एक महिनाअघि माइत आएकी उनी अहिले आफू साथीसंगी र आफन्त भेटघाटका साथै दसैं-तिहारको तयारीमा व्यस्त रहेको बताउँदै भनिन्, 'कहिले फर्किने टुंगो लागिसकेको छैन ।'

पहिलो रंगीन नेपाली फिल्म 'कुमारी' की हिरोइनसमेत रहेकी चैत्यदेवी फिल्मको रिलिजलगत्तै फिल्मसम्बन्धी अध्ययनका लागि रुसको मस्कोमा हान्निएकी थिइन् र फर्केर फिल्म 'जीवनरेखा' मा सहायक निर्देशक भएर काम गरिन् । समग्र फिल्म क्षेत्रमै एक्ली महिलाजस्ती बनेकी उनले तत्कालीन चलचित्र संस्थानमा सहायक भएर काम गर्ने अवसर पाएकी थिइन् । त्यही समयमा डकुमेन्ट्री बनाउन नेपाल आएको एक टोलीमा उनको मन जापानिज युवक मिनाटोलाई भेटिन् र दुई वर्षको अफेयरपछि बिहे गरेकी थिइन् । एक छोराकी आमा भइसकेकी चैत्यदेवी माइती भने एक्लै आएकी हुन् ।

अनुहारका रेखाले प्रस्टै बुढ्यौलीको संकेत दिन थालेको उनको अहिलेको उमेरमा कसैले फिल्मको अफर गर्ला भनेर आशा नै नगरेकी उनले अफर आएमा 'सोच्नेछु' भनेर सर्वसुलभ जवाफ दिइन् । उनलाई थाहा नै छ, अफर आइहालेमा पनि जापानकी बासिन्दा उनलाई माइतीमा लामो समय बिताउनु गाह्रो छ । From: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।