"देश" मा अर्ती धेरै

काठमाडौ, आश्विन १५ - 'अर्ती धेरै भयो भने जर्ती हुन्छ' वा 'चिनी पनि धेरै खायो भने तीतो हुन्छ' उखान 'देश' का लागि मिल्न सक्छ । लामो समयको ताकेतापछि शुक्रबारदेखि रिलिज गरिएको तुलसी घिमिरे निर्देशित उक्त फिल्मले राष्ट्रियताका अनगिन्ती मुद्दा उठाएर दर्शकलाई बोझ थोपरिदिएको छ ।

करिब साढे दुई घन्टा अवधिमा फिल्मले भारतीय सेनामा काम गर्दाको नेपालीको पीडा, म्यानपावर कम्पनीको मानवतस्करी, नेताको भ्रष्टाचार, बन्द/हड्तालले पारेको असर, विद्यार्थी राजनीति सबैलाई राष्ट्रियताको कसीमा तौलिन खोजिएको छ ।

गीत र कथासमेत आफैंले लेखेर निर्देशक घिमिरेले महत्त्वका साथ बनाएको भए पनि फिल्मको पटकथामा एकअर्काको अन्तर्सम्बन्ध मजबुत हुन नसक्दा कमजोर देखिएको छ । मायाप्रेममा बन्ने मसलेदार फिल्मको प्रवृत्तिभन्दा बेग्लै राष्ट्रियताको सवालमा फिल्म बनाएर देखाएको निर्माताको साहसलाई निर्देशकले व्यावसायिक सान्त्वना दिने सम्भावनालाई क्षीण पारेका छन् ।

अजम्बरी फिल्मस्को ब्यानरमा श्रवण घिमिरेले बनाएको 'देश' मा पात्रको अभिनयभन्दा संवाद हाबी हुँदा नेताको भाषणजस्तो अथवा कुनै बुज्रुकको अर्ती, उपदेशजस्तो सुनिएको छ । संवादलाई छोट्टयाएर विषयवस्तुलाई कलात्मक ढंगले उठान गरिएको भए कथाको वजनले सार्थकता पाउने थियो ।

तर पनि फिल्मले देशभक्त र बहुसंख्यक जनताको तात्कालिक पीडालाई सम्बोधन गरेकाले सहानुभूति पनि पाउन सक्छ । जनताकै भावना र कुण्ठा फिल्मले चित्रण गरेकाले 'देश' ठगी गर्ने र मानवतस्करी गर्ने म्यानपावर कम्पनी सञ्चालकदेखि भ्रष्ट नेताले हेरिदिएमा आफ्ना कुकृत्यले जनतामा परेको असरलाई केही नजिकबाट चिन्ने मौका पाउने थिए ।

शम्भुजित बाँस्कोटाको संगीत र उदितनारायण झा, दीपा झा, अञ्जु पन्त, दीपक लिम्बू, नरेन्द्र प्यासीलगायतले स्वर दिएका गीत मध्यम छन् । द्वन्द्वनायक निखिल उप्रेतीलाई परिचय दिलाउनका लागि मात्रै फोकटमा राखिएको भान हुन्छ । राजेन्द्र खड्गीलाई काम दिनका लागि मात्रै द्वन्द्वको दृश्य राखिनुको अर्थ देखिँदैन ।

'लाहुरे', 'दक्षिणा', 'देउता' देखि पछिल्लोपटक 'दर्पणछायाँ' जस्ता सफल फिल्म बनाएर निर्देशनमा विशिष्ट पहिचान बनाइसकेका तुलसी घिमिरेका लागि 'देश' स्तर सुहाउँदो बन्न सकेको छैन । उनी राष्ट्रिय भावनामा बढी नै भावुक बनेर पोखिएका छन् । फिल्ममा राजु थापाको छायांकनमा पनि उल्लेखनीय पक्ष केही पाइँदैन ।

सन्देशमूलक बनाउन ज्यादा संवादको प्रयोग गरिएको फिल्ममा केही विम्बको प्रयोग राम्रा छन् । पड्कने बन्दुकको चाहना गर्ने फुच्चे बालक भाष्करलाई आमाले 'जान्यो भने संसार ब्युँझाउने गरी पडकन्छ' भनी दिएको कलम, सात सय 'शत्रु' मारेर वीरगति पाएको छोराको तक्मालाई सात सय महिलाको उजाडिएको सिउँदो वा त्यतिकै आमाको कोख रित्तो बनाएको भन्दै अस्वीकार गर्दाको निर्णय आदि तारिफ लाग्दा छन् ।

'देश' मा राजेश हमाल, निरुता सिंह, निखिल उप्रेती, नर्बदा घिमिरे, श्रवण घिमिरे, मुकुन्द श्रेष्ठ, बीएस राणा, हेमन्त बुढाथोकीलगायतले खेलेका छन्

From: Kantipur Online

Blogger Templates

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।