कास्की, भाद्र २३ - पोखराको बाग्लुङ बसपार्कमा मंगलबार अपराह्न निकै भीडभाड बढेको थियो, सवारी चढ्न नभएर 'खुसी' को सुटिङमा आएकी रेखा थापालाई हेर्न । युनिटलाई सुटिङको चाँजोपाँजो मिलाउन हम्मे पर्यो । 'खै, रेखा थापालाई हेर्नुपर्यो' भन्दै महिलाहरूसमेत ठेलाठेल गर्दै थिए ।
गाडीभित्रको दृश्य लिन लागेकी नायिकालाई बाहिर निक्लनै मुस्किल भयो । गाडीभित्र गएर केही युवाहरू नायिकासँग तस्बिर लिन तँछाडमछाड गरेपछि उनी असिनपसिन भइन् ।
निर्देशक ज्ञानेन्द्र देउजाले बाहिर निक्लन पटक-पटक आग्रह गर्दासमेत अटोग्राफ लिने र तस्बिर खिचाउन चाहनेहरूले टेरेनन् । चलचित्र युनिटका कर्मचारीले बाहिर निकालेपछि बल्ल निर्देशकलाई होलो भयो । 'यति विधि दर्शकले घेर्दा त म नर्भस भएँ,' रेखाले भनिन् । भीडले घेरेपछि सुटिङ नभएका बेला पनि उनलाई गाडीभित्रै राखियो ।
उद्धव पौडेलेको लगानी रहेको 'खुसी' मा रेखा खुसीकै भूमिकामा छिन्, चुलबुले । उनी सहरमा प्लस टु सकेर बसबाट गाउँ फर्किंदै गरेको दृश्यको सुटिङ भइरहेको थियो । 'यही दृश्यबाट सिनेमामा मेरो प्रवेश हुन्छ,' नायिकाले सुनाइन्, 'निकै चटपटे युवतीको भूमिकामा देखिएकी छु । सधंै खुसी रहने म कसैको मायामा परेपछि सिनेमाको अन्त्यतिर दुःखी र पीडित हुन्छु ।' बाबुआमाले स्वतन्त्रता दिँदा छोरीले बेहोर्नुपरेका सहज-असहज अवस्था उनको पात्रले निर्वाह गर्नेछ ।
मान्छेको जीवनमा खुसी मात्रै हैन, दुःख पनि हुन्छ भन्ने यथार्थ बोकेको चलचित्रले प्रेमको त्रिकोणात्मक सम्बन्धलाई देखाउन खोजेको निर्देशक देउजाले बताए । उनले गाउँबाट सहर पसेपछि युवतीहरूमा आउने परिवर्तनसमेत चलचित्रले बोकेको जानकारी दिए ।पोखरा आसपासमा मंगलबारदेखि छायांकन भइरहेको 'खुसी' मा सुमन सिंह, आयुष रिजाल, विजय देउजा, गणेश उप्रेतीलगायतले पनि अभिनय गरेका छन्। From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।