पर्वत, भाद्र २१ - साताअघि सिनेमा स्कोपको चलचित्र 'किन लाग्छ माया' सुटिङका क्रममा आएका नायक राजबल्लभ कोइराला अग्लो झोलुंगे पुलमा उभिएर केही बेर टोलाए । नायिका गरिमा पन्त भने अग्लो र लामो पुलमा पहिलो पटक नृत्य गर्न पाउँदा दंग देखिन्थिन् ।
दुवैले पहिलो पटक मुलुकुकै अग्लो पुलमा अभिनय गर्ने अवसर पाएका हुन् । र, यसको चाँजोपाँजो निर्देशक गोपालचन्द्र लामिछानेले गरेका हुन्, जो पर्वतकै हुन् ।
प्रेमकथामा आधारित 'किन लाग्छ माया' मा धौलागिरि अञ्चलको कथावस्तु छ । पपुलर मल्टी मिडियाद्वारा निर्मित चलचित्रको एउटा गीतको छायांकन अग्लो पुलमा गरिएको हो । दुई दिनसम्म लगाएर छायांकन गरिएको चलचित्रमा पाँच प्रतिशत कुश्मा बजार आसपास र पुलको दृश्य कैद गरिएको छ । अविनाश श्रेष्ठको कथा रहेको चलचित्रमा निखिल उप्रेती, झरना थापा पनि मुख्य भूमिकामा छन् ।
फिल्ममा शंकर लामिछाने नवनायकको रूपमा देखा परेका छन् । माया भन्ने कुरो प्रेमीले प्रेमिकालाई मात्र नभएर आमाले छोरालाई दिदीले भाइलाई पनि गर्छन् भन्ने सन्देश दिन
खोजिएको छ । चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व र लक्ष्मण शेषकले संगीत दिएका हुन् ।
शिव रेग्मीका चेला रहेका निर्देशक लामिछानेले रेग्मीद्वारा निर्देशित चलचित्र 'सुखदुःख' र 'ए मेरो हजुर' मा सहायक निर्देशकको रूपमा काम गरिसकेका छन् । 'बोक्सी' जस्तो चलचित्रको निर्देशन गरिसकेका लामिछानेले निर्देशन गरेको यो पाचौं मूलधारको चलचित्र हो । माघे संक्रान्तिको अवसर पारेर प्रदर्शन गर्ने लक्ष्य राखिएको चलचित्रका छायाँकार दीपक बज्राचार्य हुन् । पात्रका आधारमा कथा तयार पारिएकाले चलचित्रलाई दर्शकले रुचाउनेमा निर्देशक लामिछाने ढुक्क छन् ।
पाँचवटा गीत समाविष्ट चलचित्रका रचनाकार प्रमेाद ढुंगाना हुन् । 'अधिकांश निर्देशकहरू सुटिङका लागि नाम चलेका सहरमा जाने गर्छन्,' लामिछानेले भने, 'तर चलचित्र सुटिङका लागि पर्वत भर्जिन लोकेसन रहेछ ।' उनले चलचित्र सुटिङ गरेर फर्किएपछि दर्जन बढी निर्माता र निर्देशकले पुलमा सुटिङ गर्न समस्या झेल्नुपर्ने/नपर्ने भन्दै सोध्ने गरेको बताए । उनले सबैलाई सुटिङका लागि पुल आपसपासको क्षेत्र उपयुक्त भएकाले जान सुझाव दिएको बताए ।
मोदीखोलामा निर्मित १ सय ३५ मिटर अग्लो र ३ सय ४४ मिटर लामो उक्त पुल सञ्चालनमा आएको वर्ष दिन नबित्दै आधा दर्जन म्युजिक भिडियो, साना र ठूला चलचित्रहरू सुटिङ भइसकेका छन् । पोखरा नगरीलाई चलचित्र सुटिङको केन्द्र बनाउँदै आएका निर्माता/निर्देशक समेत अग्लो पुललाई सुटिङ स्पर्ट बनाउने ध्याउन्नमा लागेका छन् । पप, आधुनिक, दोहोरी गीतको भिडियो र चलचित्र सुटिङका लागि निर्माताहरूले बारम्बार फोन गरेर लोकेसन सोध्ने गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष शिव शर्मा पौडेलले बताए। From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।