'विवाह यही वर्षभित्र'

कास्की, भाद्र ७ - नेपाली चलचित्रमा हिजो पनि आज पनि चर्चा राजेश हमालकै छ । उनको अभिनय होस् या व्यक्तिगत जीवन, सबैको चासोमा रहने गरेको छ ।

'पल्टन' चलचित्रको सुटिङ क्रममा उनी लेखनाथको वाराही स्टुडियोमा थिए । निर्माण पक्षले त्यही मेसोमा पत्रकार भेटघाटको चाँजो मिलाएको थियो । दुई दिनअघिको त्यो भेटघाटमा उनले धेरै प्रश्न विवाहसम्बन्धी नै झेल्नुपर्‍यो ।

'केटी नपाएरै -विवाह) नगरेको हो, पाए त गरिहाल्थें नि,' उनी मस्किँदै प्रस्तुत भए, 'एउटी त पाउनुपर्ने हो, तर खै पाइएकै छैन ।' उनी ४८ वर्षका भएको र यो बुढ्यौली उमेरमा कसले विवाह गर्ला र भन्ने प्रश्नमा उनले सुनाए, 'म ४८ वर्षको होइन, २८ वर्षको हुँ ।' अनि एक छिन हाँसो मात्रै सुनियो ।

'बीसौं वसन्त पार गरेको छु, विवाह हुने बेला बल्ल भएको छ ।' राजेशले यसो भन्दा सञ्चारकर्मीहरू र 'पल्टन' युनिटका सदस्यहरू झन् खित्का छाडेर हाँसेका थिए । 'विवाह गर्ने उमेर तोकिएको हुँदैन,' उनले भने, 'मन र विचार मिल्योे भने जुनसुकै उमेरमा पनि हुन सक्छ । सबै कुरा मिले यही वर्षभित्रै विवाह गर्न सक्छु ।' विवाह गरे चर्चा कम हुने ठानेर अविवाहित रहेको हो कि भन्ने जिज्ञासामा उनले आफूले कहिल्यै त्यस्तो नसोचेको बताए ।

'युगदेखि युगसम्म' बाट फिल्मी यात्रा थालेका राजेशले अहिलेसम्म २ सय ५० भन्दा बढी सिनेमामा अभिनय गरिसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि नेपाली चलचित्रमा उनी शिष्ट तथा मिलनसार स्वभावका कारण पनि टिकिरहेका हुन् । 'अझै पनि चलचित्रका अफरमा कमी आएको छैन,' उनले भने ।

चलचित्रले नै आफ्नो पहिचान दिएकाले आगामी दिनमा पनि यसै क्षेत्रलाई निरन्तरता दिने उनले बताए । 'भविष्यमा निर्देशन गर्ने सोच छ,' उनले भने, 'नेपाली चलचित्र अझै पनि प्राविधिक रूपले कमजोर छन् । प्रविधिमा अझै धेरै परिवर्तन हामीले गर्नुपर्छ । अरू कुरामा नेपाली चलचित्रले फड्को मारेको छ ।'

राजनीतिक अस्थिरताले अन्य क्षेत्रमा जस्तै गर्दा चलचित्र उद्योगलाई पनि असर पारेको उनले जिकिर गरे । उनको विवाहको तिथिलाई त असर गरेको छैन होला । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।