नाइँ नभन्नुस्

काठमाडौ, भाद्र ६ - नेपाली फिल्म र दर्शकबीचको सम्बन्ध उति राम्रो देखिँदैन । फिल्मकर्मीको आरोप छ- दर्शकले स्वदेशी फिल्मलाई माया गर्दैनन् । दर्शक भन्छन्- छेउ न टुप्पाका हुन्छन् ।

शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको फिल्म 'नाइँ नभन्नु ल' ले भने सकारात्मक छनक देखाएको छ । प्रेमकथामा आधारित फिल्मले दर्शकलाई नाइँ नभनाउने प्रयास गरिरहेको छ । फिल्म लेखनबाट निर्देशनमा समेत हात हालेको दोस्रो प्रयासमै विकास आचार्य धेरै हदसम्म सफल देखिएका छन् ।

सानैमा बाबुआमाको मायाबाट टुहुरिएको शिशिर (जीवन लुइँटेल) ऋतु (ऋचासिंह ठकुरी) को मायाबाट पनि टाढिने हो कि भन्ने पीरको कारण बन्छ, वसन्त (सुमन सिंह) । ऋतु आफू वसन्तलाई मन पराउने भएकोले शिशिरलाई सपना नदेख्न भन्छिन् । तर ऊ भने वसन्त पछि शिशिरकै ऋतु हुने प्राकृतिक नियममा विश्वास गर्छ र प्रेमको भीख मागिरहन्छ । प्रकृतिमा ऋतुको गोलचक्कर कहिल्यै नसकिने भए पनि फिल्म कुन ऋतुमा गएर टुंगिन्छ भन्ने अन्त्यसम्मै कौतुहल जागिरहन्छ ।

हिमालयन फिल्मस्को ब्यानरमा रमेशजंग रायमाझीले बनाएको फिल्म 'नाइँ नभन्नु ल' को सबल पक्ष्ा संवाद हो । संवादमा जीवन्तता छ । फिल्मको सार्वजनिक प्रदर्शनअगावै हिट बनेका गीतलाई कृष्णहरि बरालले फिल्मकै कथामा ढालेर लेखेकाले फिल्म सांगीतिकसमेत बनेको छ । सबै गीतमा गायक/गायिका दीपक लिम्बू र रजिना रिमालको स्वर रहेको छ भने महेश खड्काको संगीतमा मिठास छ ।

शम्भु सापकोटाका ट्रली र क्रेनमा गतिशील क्यामेराका दृश्य राम्रा छन् । विशेषगरी गीत/नृत्यमा प्रयोग गरिएका भेषभूषा सुहाउँदिला छन् । फिल्मका केही दृश्य चोटिला र मार्मिक पनि छन् । नरम स्वभावका दर्शक ती दृश्यमा आँसु झार्न पनि सक्छन् । सधैं जित्नका लागि बाजी थाप्ने दुई साथीहरू हार्नका लागि बाजी थाप्नुपर्ने परिस्थितिले दर्शकलाई भावुक बनाउन सक्छ भने फिल्मका पछिल्ला दृश्यमा जीवनले बोल्ने संवादले दर्शकको मनसम्म पुगेर छुने सामथ्र्य राख्छन् । 'म कहिले पो सुखी थिएँ र दुःखको समाचारले असर गरोस्' सधैं अरूलाई जादू देखाएर रमाइलो गर्ने जीवन (शिशिर) आफैं दुःखी बन्दा भन्छ, 'भगवान् त मभन्दा पनि ठूलो जादुगर रहेछ, जिन्दगीको सारा खुसी नै लुट्यो ।'

झन्डै साढे दुई घन्टाको फिल्ममा मिथिला शर्मा, मुकेश आचार्य, ममता श्रेष्ठ, श्वेता आचार्यलगायतले पनि फिल्ममा अभिनय गरेका छन् । ऋतुकी छोरी खुसीले आमाको उपन्यास 'नाइँ नभन्नु ल' को कथालाई साथीसँग भनेको आधारमा प्रस्तुत गरिएको फिल्मको दृश्य परिवर्तन कलात्मक छ । फिल्ममा हाबी देखिएका जीवनको अभिनय दमदार भएकैले पनि फिल्म राम्रो बन्न सकेको हो । यसै फिल्मबाट डेब्यु गरेकी नायिका ऋचाको सुन्दरतामा देखिएको निखार अभिनयमा आउनु जरुरी छ । फिल्ममा मुकेश र ममताको प्रेम प्रसंग र त्यसको अन्त्यमा भने दर्शकले गुनासो गर्ने ठाउँ छ । अभिनयमा जमेका भए पनि मुकेशलाई प्रेममा कमजोर रूपमा प्रस्तुत गरिँदा अन्याय भएको लाग्न सक्छ । त्यस्तै ऋतुलाई मन पराउने एक खलपात्र हिमालले उनी आपत्कालीन अवस्थामा पर्दा सहयोग गर्न खोज्ने नायकको बाटो छोक्नु तर्कसंगत लाग्दैन । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।