'फस्ट लभ' ले एक सातामा ९० लाख कमायो

समुन्द्र पौडेल, तनहुँ, भदौ २- व्यापार गर्नेले नाफा खोज्नु स्वभाविक हो। तर नेपाली फिल्मका निर्माताहरू लगानी उठाउनुलाई नै महत्त्वपूर्ण ठान्छन्। त्यही भएर होला 'फस्ट लभ'का निर्माता माधव वाग्ले फिल्मले लगानी उठाएकोमा मंगलबार निकै खुसी थिए।

फिल्मको बजार बुझ्न मंगलबार दमौली आएका निर्माता वाग्लेले उत्तरशिला चलचित्र मन्दिरमा भने, 'हामी सुरक्षित भइसकेका छौं।' करिब ६५ लाखमा निर्माण गरिएको 'फस्ट लभ'ले एक सातामै ९० लाख रूपैयाँ संकलन गरेको उनले दाबी गरे।


प्रेमकथामा आधारित फिल्म 'फस्ट लभ'लाई युवा पिँढीले मन पराएको पाएको अनुभव निर्माता वाग्लेले सुनाए। 'लास्ट अमेरिकन भर्जिन' नामक फिल्मको कथा नक्कल गरिएको पत्रकारहरूको प्रश्नमा उनले आफ्नो वास्तविक जीवनको घटना समावेश गरिएको बताए। 'गौरवको भूमिका मेरो वास्तविक भोगाइ हो,' उनले भने, 'काभ्रे जिल्लाकी एक युवतीको कथा ऋतुले निर्वाह गरेकी छिन्।'

निर्मातासँगै फिल्मका दुई हिरो कर्मा र विनय श्रेष्ठ पनि उपस्थित थिए। नाच र फाइटसहितको फिल्ममा अभिनय गर्ने चाहना यो फिल्मले पूरा गरिदिएको कर्मा र विनयले बताए। कर्माले गुरुकुलमा नाटक खेल्छन् भने विनय टिभी कार्यक्रम प्रस्तोता हुन्।

क्याम्पसमा अध्यनरत युवायुवतीको कथामा आधारित फिल्म 'फस्ट लभ' हेर्न दमौली आसपासका कलेजका विद्यार्थी नै आएको पाइएको छ। 'केही दिन त फिल्म हल हो कि कलेज, छुट्टाउनै गाह्रो थियो,' उत्तरशिला चलचित्र मन्दिरका व्यवस्थापक प्रमोद पाण्डेले भने, 'विभिन्न कलेजका पोशाक लगाएका विद्यार्थीहरू हलमा देखिए।'

From: Nagarik News


0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।