कन्यादानकी कन्या

आफूले गरेको कामको प्रतिक्रिया जान्ने हतार जसलाई पनि हुन्छ । तर, नवनायिका कञ्चन रेग्मीले भने चाहेर पनि आफ्नो कामको प्रारम्भिक तारिफ सुन्न पाइनन् । 'काम त गरेँ तर दर्शकको प्रतिक्रिया सुन्ने हुटहुटी रहिरह्यो मनमा,' हाल मोफसलका हलमा प्रदर्शनरत शोभित बस्नेतको कन्यादान फिल्मबाट नायिका बनेकी कञ्चनले भनिन्, 'फिल्म हिट भएको खबर अस्टे्रलियामै सुनेँ । कति वेला काठमाडौं पुगौँ भयो । तर, आफूले चाहेकोजस्तो कहाँ हुदो रहेछ र ?' केही महिनाअघिदेखि अस्टे्रलियामा रहेकी कञ्चन आफू नायिका भएको पहिलो फिल्म कन्यादानको रिपोर्ट बुझ्न र दर्शकमाझ साक्षात्कार गर्न सोमबार नेपाल फर्किएकी छिन् । 'रिलिजकै वेलामा आइपुग्ने योजनामा थिएँ । तर, विविध कारणले आउन सकिनँ,' उनले भनिन्, 'यहाँ आउनेबित्तिकै शोभित (निर्देशक) दाइलाई फोन गरेँ । उहाँ फिल्म चलाउने क्रममा नारायणघाटमा हुनुहुँदो रहेछ । म पनि नारायणघाट जाँदै छु ।' कन्यादानकी अर्की नायिका रञ्जना शर्मा पनि हाल अमेरिकामा छिन् । आफ्ना फिल्मका दुइटै हिरोइन विदेशमा भएकाले निर्देशन शोभित तनावग्रस्त थिए । भन्ने गर्थे, 'मेरो फिल्मका दुइटै हिरोइन विदेशिए । हामी हलमा पुग्दा दर्शकले हिरोइन खोई भनेर सोध्छन् । कञ्चन आएपछि भने त्यो समस्या टर्ने भएको छ ।' आफू अभिनीत पहिलो फिल्म दर्शकले मनपराइरहेकाले आफू निकै पुलकित भएको बताउँछिन् कञ्चन । भन्छिन्, 'फिल्म यति हिट होला, मेरो काम दर्शकले मनपराउलान् भन्ने सोचेकी पनि थिइनँ ।' दर्शकसँगै बसेर फिल्म हेर्नका लागि बुधबार नारायणघाट जान लागेकी उनी बताउँछिन् । 'पहिलो फिल्म, त्यसमाथि दर्शकले मलाई खोजिरहेका छन् रे । त्यसैले जाँदै छु,' उनी भन्छिन्, 'निकै उत्सुक छु । नौलो अनुभव हासिल गर्दै छु । यसले गर्दा भोलिका दिन अझ सहज बनाउँछ ।' असार मसान्तदेखि मोफसलबाट रिलिज भएको कन्यादान फिल्मले व्यावसायिक सफलता हासिल गरिरहेको छ । फिल्मको कथा कञ्चनकै वरिपरि घुमेको छ । यसर्थ कञ्चन कन्यादानकी कन्या हुन् । उनको जोडीको रूपमा कुशल थापा छन् । सुटिङका वेलामा आफू अनि आफ्नो जोडी (कुशल) पनि नयाँ भएकाले फिल्म कस्तो होला भन्ने त्रासले सताएको कञ्चनले बताइन् । 'तर अहिले रिपोर्ट सुनेर निकै खुसी छु । नयाँ कलाकारलाई दर्शकले पुरानालाई झैँ माया दिनुभएको छ,' उनी भन्छिन् । कञ्चनले कलाकारिता क्षेत्रमा संघर्ष गर्न थालेको एक दशक बितेको छ । उमेश मायालुसँग अभिनय र शोभित बस्नेतसँग डान्स सिकेकी उनी शोभितकै खोज हुन् । यसअघि उनले शोभितसँग अग्निपथ फिल्मको एउटा गीतमा डान्स गरेकी थिइन् । सानैदेखि नाच्न र अभिनय गर्न हत्ते हाल्ने कञ्चन कुनै दिन आफ्नो सपना पूरा हुन्छ भन्नेमा विश्वस्त थिइन् रे । भन्छिन्, 'जुन सपना देखेको थिएँ, त्यो भर्खर विपनामा परिणत भएको छ । पूरा भइसकेको छैन ।' उनको इंगित हो, उनी यतिमै चुप लागेर बस्नेवाला छैनन् । उनी अझ अघि बढ्न चाहन्छिन् । पद्मकन्या कलेजमा स्नातक दोस्रो वर्ष अध्ययनरत उनी पढाइका साथै फिल्म अभिनयलाई एकसाथ अघि बढाउने योजनामा छिन् । From: Naya Patrika

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।