जुवाडे बन्दै छन् सुमन

नायक सुमन सिंह जुवाडे बन्दै छन् । उनी रियल लाइफमा नभई रिल लाइफमा जुवाडे बन्न लागेका हुन् । पछिल्ला दिनमा एकपछि अर्काे फिल्ममा व्यस्त भएका उनी निर्माणाधीन फिल्म ग्याम्बलरमा जुवाडेको भूमिकामा अभिनय गर्न लागेका हुन् । रमेश बुढाथाकीको निर्देशनमा हाल राजधानीका विभिन्न स्थानमा छायांकन भइरहेको यस फिल्ममा आफू क्यासिनो जाने लत लागेको युवाको चरित्रमा देखापर्न लागेको बताउँछन् सुमन । भन्छन्, 'पहिलोचोटि यस्तो भूमिका निभाउँदै छु । निकै कौतूहलता जागेको छ ।' वास्तविक जीवनमा कहिलेकाहीँ क्यासिनो जाने गरे पनि आफूलाई जुवा खेल्ने लत नभएको दाबी छ उनको । भन्छन्, 'साथीभाइसँग रमाइलो गर्न र अनुभवका लागि कहिलेकाहीँ क्यासिनो गएको छु । तर, मलाई जुवा खेल्न आउँदैन र रुचि पनि छैन ।' ग्याम्बलरमा संघर्ष गरेर सम्पन्न भएको युवा जुवाडे बनेपछि त्यो परिवारको स्थिति कस्तो हुन्छ भन्ने देखाउन खोजिएको निर्देशक बुढाथोकी बताउँछन् । सुमन अचेल ज्ञानेन्द्र देउजाको निर्देशनमा गोपीकृष्ण मुभिजले निर्माण गरिरहेको खुसी फिल्मको सुटिङमा व्यस्त छन् । खुसीमा आफू परिवारमा खुसी ल्याउने लभर ब्वाईको भूमिकामा रहेको बताउँछ उनी । खुसीमा आफ्नो काम सकिएपछि मात्रै ग्याम्बलरको सुटिङ सुरु गर्ने योजना छ उनको । भन्छन्, 'म एउटा फिल्म सिद्धाएर मात्र अर्का फिल्म गर्न चाहन्छु । ता कि मेरो कारणले कुनै निर्माताले तनाव झेल्नु नपरोस् ।' आफूलाई थुप्रै फिल्मको अफर आइरहे पनि समय मिलाएर मात्र काम गर्ने बताउँछन् सुमन । From: Naya Patrika

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।