काठमाडौं, जेठ २३ (नागरिक)- विश्वप्रसिद्ध 'कान्स' महोत्सवमा थाइल्याण्डको चलचित्रले सर्वोत्कृष्ठ उपाधि कब्जा गरेको साता नबित्दै राजधानीमा सोमबारदेखि 'थाई सर्ट फिल्म फेस्टिभल २०१०' सुरु हुने भएको छ। नेपाल र थाइल्यान्डको मैत्री सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा यो कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ। महोत्सवमा १ देखि ३० मिनेटका १४ वटा फिल्म देखाइने छन्।आइतबार महोत्सवबारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठले छोटा फिल्मको चुनौती र महत्वबारे बोलिन्। 'यस्तो फिल्ममा छोटो समयमै धेरै चिज बुझाउनु पर्ने चुनौती हुन्छ,' दुई वर्षअघि एचआईभी एड्ससम्बन्धी सर्ट फिल्ममा अभिनय गरेकी नम्रताले भनिन्, 'यो सिर्जनशील मानिसले गर्ने काम हो।'
महोत्सवको पहिलो दिन 'विङस् अफ डिजाएर', 'एनोदर बिगिनिङ', 'इन बिट्विन अस', 'फ्रम शान्तिफप टु शान्तिफप', 'बर्निङ प्याराडाइज', 'दि स्ट्रिट अफ टु बर्ड्स', 'फार्मर' देखाइनेछ भने दोस्रो दिन 'द हेभेन', 'टाकेसी', 'ब्याङककिएन', 'फ्रेस एयर फ्रम दि हिल', 'नोरासेट वाइसायाकुल,' र 'लिभिङ विथ स्नो' र 'नोइज फ्रम दि साइलेन्ट हिल' देखाइने छ। महिला, प्रकृतिप्रेम, शान्ति र किसानको जीवनमा आधारित फिल्महरूलाई समावेश गरिएको छ। इन्डिपेन्डेन्ट फिल्म सोसाइटी र थाई दूतावासद्वारा कार्यक्रम आयोजना गरिएको हो। From: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।