सन्तोष रिमाल, काठमाडौं, जेठ १९ - नेपाली फिल्मका 'महानायक' राजेश हमालले अभिनय थालेको दुई दशक पूरा भएको छ। 'युगदेखि युगसम्म'बाट फिल्ममा प्रवेश गरेका हमालले सोमबार अभिनय यात्राको २० वर्ष नाघेका हुन्। उनीसँगै निर्माता छवि ओझा र द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीसमेत फिल्ममा २० वर्ष पूरा गरेका छन्। राजेशले अभिनय, छविले निर्माण र राजेन्द्रले द्वन्द्वनिर्देशन गरेको पहिलो फिल्म 'युगदेखि युगसम्म' हो।
'स्वाभिमान' र 'जय होस' नामक फिल्ममा व्यस्त राजेशलाई छवि र राजेन्द्रसँग भेटेर दुई दशकको समीक्षा गर्ने चाहना पलाएको छ। 'भेट्न फुर्सद भएन, त्यसैले फोनबाटै बधाई तथा शुभकामना आदानप्रदान गरियो,' उनले भने। आफूलाई ब्रेक दिने निर्माता छविप्रति आभार प्रकट गर्छन् उनी। राजेश आफूमात्र होइन छवि र राजेन्द्र दुवैलाई सफल व्यक्ति ठान्छन्।
'म त भर्खर २१ वर्षको भएँ। तर, फिल्म खेल्न थालेको २० वर्ष भइसकेछ,' राजेशका सहयोगी रोशन हमालले निर्माता ओझासँग टेलिफोनमा भएको ठट्टा उद्धृत गरे। राजेशसँग झन्डै ११ वर्ष बिताएका रोशनले कहिल्यै 'मोनोटोनस' नहुने राजेशको गुणको प्रशंसा गरे। 'उस्तै खाले दैनिकी हुन्छ। तैपनि उहाँ एउटै गतिमा निरन्तर काम गरिरहनुभएको छ,' रोशनले भने, 'एउटै रफ्तारमा २० वर्ष बिताउनु सानो कुरा होइन।'
अहिले पनि फिल्मको चाप उस्तै रहेको उनले बताए। राजेशले २० वर्षमा साढे दुइ सय भन्दाबढी फिल्ममा अभिनय गरिसकेका छन्। त्यसो त निर्माता छविको सक्रियता पनि उस्तै छ। यो अवधिमा उनले ११ वटा फिल्म बनाइसकेका छन्।
'युगदेखि युगसम्म', 'नाता', 'जन्मभूमि', 'हिरो', 'कस्तो साइनो', 'यस्तै रहेछ जिन्दगी', 'अजम्बरी नाता', 'हिम्मत', 'किस्मत', 'हिफाजत' र 'कसले चोर्यो मेरो मन' छविले निर्माण गरेका फिल्म हुन्। सुरुवातका फिल्ममा राजेशलाई नै मुख्य भूमिकामा लिँदै आएका छवि पछिल्लो समय नयाँ हिरोका साथ फिल्म बनाइरहेका छन्।
नयाँ हिरोसँग काम गर्ने आफ्नो पूरानै बानी भएको उल्लेख गर्दै उनले भने, 'राजेशलाई पनि त नयाँमै लिएको हुँ नि। पहिलो फिल्ममा उनलाई लिन खोज्दा उनकै मामा दीपक रायमाझीले असहमति जनाएका थिए। मैले नै बल गरेको हुँ।' संगीतकार शम्भुजित बासकोटाको सिफारिसमा राजेशलाई लिइएको उनले खुलाए। 'त्यतिबेला बलिउडमा मिथुन खुब हिट थिए। उनकै लुक्सका राजेश चल्छन् भन्ने विश्वासका साथ लिएको, नभन्दै हाम्रो अनुमान खेर गएन।'
छिट्टै राजेशलाई लिएर नयाँ फिल्म बनाउने तयारीमा लागेको उनले जानकारी दिए। 'अहिले उनलाई सुहाउँदो स्त्रि्कप्ट लेख्ने काम भइरहेको छ,' उनले नागरिकसँग भने। 'पोस्टर भ्यालु'का लागि धेरैले राजेशलाई लिइरहेको देखेका छबिले सशक्त भूमिकामा उनलाई प्रस्तुत गर्न लागेको समेत खुलाए।
द्वन्द्वनिर्देशक राजेन्द्रसँग भने उनको सहकार्य निरन्तर छ। उनले नयाँ फिल्म 'दि किलर'मा खड्गीलाई निर्देशनको जिम्मेवारी समेत सुम्पिएका छन्। 'युगदेखि युगसम्म'मा गोपाल भुटानीले समय दिन नसकेपछि उनकै मुख्यसहायक खड्गीलाई छविले द्वन्द्वनिर्देशनमा ब्रेक दिएका थिए। 'हामी दुवै भोटेबहालमा बस्थ्यौं। सुरुमा त राजेन्द्रसँग काम गर्न डर लागेको थियो। एक मुक्कामा राँगो ढाल्छन् भन्ने सुनेको। तर, काममा यति सजिला रहेछन् कि अहिलेसम्म उनको विकल्प खोज्नु परेको छैन,' उनले भने।
२० वर्षमा करिब तीन सय फिल्मको द्वन्द्वनिर्देशन गर्न भ्याएका छन् राजेन्द्रले। 'तर, खै पेन्सन पाकेन,' सकारी जागिर खाएको भए पेन्सन पकाउने समय गुजारेका खड्गीलाई आफ्नो पहिचान नै पेन्सनभन्दा ठूलो लाग्छ।
'युगदेखि युगसम्म'बाट तीनै जनाको भाग्योदय भएको जस्तो उनलाई लाग्छ। नयाँ पुस्तासँग हिँड्न सक्नुलाई उनी तीन जनाकै सफलताको कारक ठान्छन्। From: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।