काठमाडौ, जेष्ठ ३ - एक दशकअघि कला पढ्न अमेरिका पुगेका कपिलमणि दीक्षित टेक्सासमा हिन्दु परम्परा र मिथक विश्लेषण गर्दै 'गणेश'बारे चित्र प्रदर्शनी गरिरहँदा अलिकति निराश भए । यो सन् २००२ को कुरा थियो, जतिबेला उनको दिमागमा 'पहाड, झरना, हिमाल र गाउँका सुन्दर दृश्यचित्रको जगजगी बोकेको काठमाडौंको ह्याङओभर' बाँकी नै थियो । 'टेक्सासमा गणेश चित्र खासै जम्न सकेन' युनिभर्सिटी अफ टेक्सासबाट फाइन आर्टमा स्नातक गरी डेढ वर्षअघि मात्रै मुलुक फिरेका कपिल आइतबार पाटनस्थित यलमाया केन्द्रमा गफिइरहेका थिए, 'त्यसपछि म बदलिएँ ।'
उनी एकाएक न्युड आर्टिस्टको छविमा देखिए । गणेश चित्र हेर्न एकजना कलाशिक्षक पनि आएका थिए, फिगरेटिभ काममा लगाव देखेपछि उनलाई मोडेलहरू राखेर प्रत्यक्ष चित्र कोर्ने स्थलमा लगिदिएछन् । त्यसपछि कपिल न्युड मोडेलहरू अघिल्तिर राखेर तिनका शरीर, हाउभाउ र अनुहार भंगिमालाई चित्रमा उतार्न थाले । न्युड आर्टमा उनको पहिचान दरिलो बन्दै गयो र अमेरिकामै आधा दर्जन अवार्ड बटुले पनि । डेढ वर्षअघि मुलुक फिरेका उनले यताकै केही कलाकार बटुलेर न्युड आर्ट प्रदर्शनी गरे दरबारमार्गस्थित द आर्ट सपमा, जहाँ उनले आफ्नो चित्रकै मुनि लेखेका थिए- 'यो चित्र प्रत्यक्ष मोडल राखेर बनाएको हँु ।' एक वर्ष नबित्दै उनी न्युड आर्टमै एकल प्रदर्शनी गरिरहेका छन् । प्रदर्शनीस्थल यलमाया केन्द्रमा आइतबार उनी दिनभर चित्रपारखीसँग गफिइरहेका थिए ।
ग्यालरी पस्नेबित्तिकै एकैपटक विश्वविख्यात कलाकारहरूको सम्झना गराउँछ । कपिलका चित्र हुन् कि लियोनार्दो दा भिन्चीका र पाब्लो पिकासोका ? भ्यानगग, पि|mडा काल्हादेखि एडवार्ड मुन्च, ज्याक्सन पोलोक पनि क्रमैसँग ग्यालरीमा भेटिन्छन् । जब नजिकबाट चित्र हेरिन्छ, अनि थाहा हुन्छ कपिलको कला । विश्वविख्यात कलाकारहरूको चित्रलाई उनले आफ्नो अनुभूति मिसाएर प्रस्तुत गरेका छन् । पिकासोको चर्चित चित्र 'गुयरनिका'मा उनले दुई युवतीको न्युड आकृति थपिदिएका छन् भने भिन्चीको 'मोनालिसा'लाई कम्पोजिसनभित्र पारेर छेवैमा एक युवक र युवतीको न्युुड आकृति उभ्याएका छन् । भ्यानगगको चर्चित 'द बेडरुम' चित्रमा पनि उनले दुइटा प्रयोग गरेका छन् । एक युवती भर्खरै नुहाएर निस्केकी छन् र कपडारहित शरीर पुछ्न तौलियातिर हात बढाइरहेकी छन् । अर्को बेडरुमको भित्तामा पिकासोको चित्र । 'यी दुइटै भ्यानगगको चित्रमा थिएन,' उनले भने, 'यो मेरो आफ्नो प्रयोग हो ।'
उनले विख्यात चित्रकारहरूको नक्कल या चोरीभन्दा पनि सम्मानको रूपमा यस्तो प्रयोग गरिएको बताए । प्रदर्शनीको नामै उनले 'टि्रब्युट टु दि ग्रेट आर्टिस्ट' -महान् कलाकारलाई सम्मान) दिएका छन् र हरेक चित्रको शीर्षक जस्ताको जस्तै राखेका छन् । चित्रमा जे थपेका छन्, विख्यात चित्रकारले व्यक्त गर्न खोजेको भावसंग समेत तालमेल गर्न खोजेका छन् । जस्तो कि 'गुयरनिका' चित्रमा थपेका दुई युवतीको न्युड शरीर र अनुहारबाट यौन र विलासिताको झल्को हैन, पुरानो चित्रसँगै मिल्ने पीडा, अत्यास र डरलाग्दो युद्ध विभीषिका प्रकट हुन्छ ।
अमेरिकामै अध्ययनरत छँदा न्युयोर्कस्थित मोर्डन आर्ट म्युजियम -मोमा) बाट ल्याएका विख्यात चित्रका किताबलाई आधार मानी उनले चित्र कोरेका हुन् । चित्रमा रातो र कालो रङको प्रवलता छ । रातोलाई उनले 'महान् कलाकारलाई सम्मान गर्न' भनेका छन् भने कालो उनको मनपर्ने रङ ।
ज्याक्सन पोलोकको दुइटा चित्रबाहेक सबै फिगरेटिभ छन्, हरेकमा एक वा त्यसभन्दा बढी न्युड आकृति । ज्याक्सनको चित्रमा उनले प्रयोग गरेका अमूर्त शैलीमा समेत अनगिन्ती स-साना न्युड आकृति देखिन्छन् ।
'धेरैले यो न्युड आर्ट किन भनेर सोध्छन्,' ३५ वषर्ीय उनले भने, 'किनभने यो मेरो आफ्नो मनपर्ने विषय हो । न्युडको अर्थ 'नेकेड' -नग्नता) हैन । नग्नताले अश्लीलता संकेत गर्छ । हेर्नेको मानसिकतामा भरपर्ने हो, मेरा चित्रहरू अश्लील छैनन् ।' न्युड आर्टलाई नग्नताको भ्रमबाट बाहिर निकाल्न पनि प्रदर्शनीले सघाउने उनले बताए । 'मैले काँही नभएको काम गरेको त हैन नि,' उनले भने, 'हाम्रैवरिवरि भइरहेको र देखिरहेकै कुरा हो ।' उनले टँुडाल, शिवलिंग र मन्दिरको भित्तामा कंकालको नग्न चित्रलाई पूजा गर्ने परम्परालाई जोड्न चाहे ।
प्रदर्शनीमा मिक्स मिडियामा सजिएका २२ वटा चित्र छन् । यो उनको दोस्रो एकल प्रदर्शनी हो । ४० हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मका चित्रमध्ये तीनवटा बिक्री भइसकेका छन् । प्रदर्शनी एक साता जारी रहनेछ । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।