त्यो आँधीबेहरी

काठमाडौ, वैशाख ३० - उनलाई जीवन जे-जसरी गुजारे पनि सधैं अलग धार समाउनुपर्छ भन्ने थियो । त्यसैले सुरुमा उनी फिल्ममा देखिए, एसएलसीलगत्तै फुल फ्लेज हिरो बने, 'आँधीबेहरी' मा ।

'सानातिना रोल वा भूमिकामा आँखै नलाग्ने,' कीर्तिपुर बजारमा मंगलबार भेटिएका नेपाली फिल्मी दुनियाँका लागि उनै पुराना हिरो विनोद खरेल भन्दै थिए, 'पछि सहनायकदेखि भिलेनसम्मका अफर आए, तर खेल्न चाहिँ खेलिनँ ।' यसरी उनको जीवनमा फिल्मी आँधीबेहरी आयो, अनि गयो पनि ।

त्यस बेला हाम्रो फिल्मी उद्योगको पनि त्यस्तै दुर्गति थियो, वर्षमा मुस्किलले दुईचार फिल्म बन्थे । बजारमा कुनै फिल्म बन्ने भयो भन्ने हल्ला मात्रै फैलिए पनि भुवन केसी र शिव श्रेष्ठको 'लबिङ' सुरु भैहाल्ने रहेछ । 'डिंगो बुट र चस्माको आवरणमा देखिने भुवन केसी अनि स्यान्डो लगाएर मसल देखाउँदै आउने शिव श्रेष्ठकै होड हुन्थ्यो,' विनोदले भने, 'क्यारेक्टर बेसभन्दा हिरो बेस भएर फिल्म बनाउने त्यो प्रवृत्ति अझै छँदै छ ।'

प्रहरी निरीक्षक जागिरमा कीर्तिपुरमा रहेका विनोदसँग पहिलो फिल्मको स्मरण पनि कम्ती छैन । हिरो बन्दा उनी १८ वर्षका थिए, हिरोइन थिए उनीभन्दा पाका गौरी मल्ल र बिना बुढाथोकी ।

'मलाई मात्र होइन, काका (निर्देशक यादव खरेल) लाई समेत अप्ठ्यारो लाग्दोरहेछ,' उनले सुनाए, 'मेरो र हिरोइनको नृत्य दृश्य खिच्नुपर्दा निर्देशक काका सहायक निर्देशक विजय थापालाई अह्राइखटाइ गर्दै सुटिङस्थलबाट बाहिरिनुहुँदो रहेछ ।' पहिलो हिरो भूमिकाबाट २५ हजार रुपैयाँ कमाइ भए पनि उनी फिल्मी क्षेत्रमा भविष्य नदेखेर अर्को दुनियाँमा छिरे ।

त्यो अलग धार थियो, फुटबल । सोखले फिल्म खेल्दैगर्दा तत्कालीन महेन्द्र पुलिस क्लबबाट राष्ट्रिय फुटबल टोलीमा परेपछि गोलरक्षक बनेर विनोदले दुई दर्जनभन्दा बढी देश घुम्न पाए । 'माल्दिभ्सको भ्यालेन्सिया क्लबबाट मासिक दुई हजार डलरको प्रस्ताव आएको थियो,' उनले भने, 'तर फेरि अलग धार खोज्दै पेन्सन पाक्ने जागिरका रूपमा २०५५ सालमा प्रहरी सेवामा छिरें ।'

प्रहरीको कीर्तिपुर प्रभागका प्रमुख विनोदले मनभित्रको यही पेसाका लागि अभिनय र फुटबलसमेत त्यागेको बताए । 'अहिले पनि केही साथीले फिल्म र विज्ञापन खेलिदिन प्रस्ताव ल्याउन छोडेका छैनन्,' रिल लाइफको नायक छोडेर रियल लाइफको 'नायक' बन्न ११ वर्षअघि प्रहरी निरीक्षकमा जागिर खान पुगेका उनले भने, 'अब नखेल्ने ।'

आफू सधैं पृथक काम गर्न मन पराउने भएको र त्यो अहिले भने प्रहरी पेसामा पाइने फरक प्रकृतिका मुद्दाबाट अनुभव गरिरहेको उनले बताए । यो उनको अलग धार फुटबल खेल्दाको समयमा पनि उस्तै रहेछ । उनी सुरुसुरुमा फुटबलमा फरवार्डको भूमिकामा थिए । 'तर अरू खेलाडीभन्दा फरक जर्सी हुने भएकाले फरक देखिने चाहनामा गोलकिपर बनेको थिएँ,' उनले हाँस्दै सुनाए । पछि नेपाल टेलिभिजनमा पहिलो खेलकुद कार्यक्रम 'खेल खेल' साढे दुई वर्ष चलाएका उनले 'भावना', 'रेन्जर', 'चक्रव्यूह' लगायत टेलिफिल्ममा समेत प्रमुख भूमिकामा खेले ।

फिल्मी पर्दा र चियोचर्चाबाट बाहिर रहे पनि स्थानीय सभा-समारोहमा जाँदा अझै 'उः त्यो त नेपाली फिल्मको पुरानो हिरो हो नि' भन्ने फ्यानहरू उनले भेट्ने गरेका छन् । भेटघाट हुन नपाए पनि ब्रजेश खनाल, राजेन्द्र शलभ, न्ह्यू बज्राचार्य, अनिल तण्डुकार, नवीन सुब्बाजस्ता साथीभाइसँगको साहचर्य विनोदलाई अझै पनि सम्झनामा आइरहने रहेछ ।

अब पनि कुनै फिल्म खेल्ने कि ? गफगाफको अन्त्यमा फेरि विनोदलाई सोधियो । 'त्यस्तै अलग धारको फिल्ममा कसैले प्रस्ताव गर्‍यो भने खेल्न पनि सक्छु,' उनले भने । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।