काठमाडौ, वैशाख २४ - निर्देशक मदन घिमिरे आफू निर्देशित फिल्म 'दोस्ती' को मोफसलमा प्रमोसन गरेर भर्खरै फर्केका थिए र उनले तत्काल 'स्वाभिमान' फिल्मको सुटिङमा व्यस्त हुनुपथ्र्यो । तर बिहीबार उनी साथीभाइसितको जमघटमा थिए, घरभन्दा बाहिर । 'बन्दले पार्नु मार पार्यो नि' उनले भने, 'चलिरहेको फिल्म रोकियो, नयाँ योजनाहरू स्थगित भए ।'
माओवादीले आमहडताल सुरु गर्नुभन्दा अघिल्लिो दिन उनी आफ्नै निर्देशन रहेको 'मस्ती' को फाइनल मिक्सिङमा थिए, १९ गतेबाट चिरन्जीवी बस्नेतको निर्माण र उनकै निर्देशन रहेको 'भागी भागी नजाऊ' रिलिज हुँदै थियो । 'ती सब रोकियो' 'मस्ती' को इन्टरभलसम्मको मिक्सिङ सकाएपछि आराम गरिरहेका उनले भने, 'फिल्म निर्माण कम्पनीलाई यसै पनि घाटा छ, व्यक्तिगत हिसाबले म पनि ठूलो घाटामा परेँ ।'
नायिका रेखा थापा अघिल्लो हप्ता नेपाली कथानक फिल्म 'इशारा' को सुटिङका लागि सिक्किममा थिइन् । सुटिङ सकाएर मोरङस्थित माइतीघरमा आराम गरिरहेकै बेला मुलुकमा आम हडताल घोषणा भयो र उनी उतै अड्किइन् । 'यसपटक घरमा रमाइलो गर्ने मुड पनि थियो' मोरङबाट उनले फोनमा भनिन्, 'आम हडतालले त्यो मौका जुरायो, एकदमै रमाइलो भइरहेको छ ।'
उनलाई रमाइलो भइरहेता पनि उनकै होम प्रोडक्सन 'हिफाजत' लाई भने आम हडतालले मारमा पारिदिएको छ । २०६६ को अन्त्यमा एकैपटक देशभरको ३५ वटा स्टेसनमा रिलिज गरिएको र उनकै शब्दमा 'वर्षको सर्वाधिक हिट' फिल्म 'हिफाजत' ले बन्दका कारण कमाइ गरिरहेको छैन । बन्दअघि उनको फिल्म मोफसलमा बिर्तामोड, दमक, नारायणगढ- लगायतका स्थान र राजधानीमा कुमारी, गोपीकृष्ण, गुण, अष्टनारायणलगायतका हलहरूमा चलिरहेको थियो ।
राजधानीमा कुमारी र जयनेपाल हल सञ्चालन गर्दै आइरहेका क्वेस्ट इन्टरटेनमेन्ट प्रालिले आम हडतालको दुई दिनअघि नै दुवै हलहरू बन्द गर्यो । 'पसलहरूमा जस्तै चन्दा माग्दै हलहरूमा पनि आउन थाले नि' क्वेस्टका नकिम उद्यनिले भने, 'त्यही कारणले हामीले शुक्रबारदेखि नै हल बन्द गर्यौं ।' त्यसयता उनको कम्पनीले दुइटा हलबाट झन्डै सवादेखि डेढ लाखसम्म दैनिक घाटा खेप्दै आएको छ । क्वेस्टको नेटवर्क 'युएफओ' सँग सम्बद्ध देशभरका सबै स्टेसनहरूको घाटा जोड्ने हो भने त्यो 'झन्डै २५ लाखदेखि ३० लाख रुपैयाँसम्मको हाराहारीमा पुग्छ ।'
जयनेपाल र कुमारीका हलहरूमा हिन्दी सिनेमा 'अपार्टमेन्ट,' 'फुंक' अंग्रेजी फिल्म 'अवतार' थि्रडी भर्सन चलिरहेको थियो । 'शुक्रबार (आजै) बाट हिन्दी सिनेमा 'बदमास कम्पनी,' अंग्रेजी 'आइरन म्यान २' रिलिज गर्ने योजना थियो' उनले भने, 'अब त्यो पनि रोकियो । केही गरी राति बन्द फिर्ता भयो भने मात्र सोच्न सकिन्छ ।'
गोपीकृष्ण मुभिजको हालत पनि उस्तै छ । कार्यकारी निर्देशक निरक पौडेलका अनुसार गोपीकृष्णका ६ वटा हलहरूले दैनिक डेढ लाख रुपैयाँको हाराहारीमा घाटा बेहोरिरहेको छ भने गोपीकृष्णको नेटर्वक 'क्वीव' अन्तर्गत रहेका देशभरको २५ वटा हलको स्थिति पनि उस्तै
छ । गोपीकृष्णमा हिन्दी फिल्म 'पाठशाला,' 'फुंक,' 'पि्रन्स,' नेपाली फिल्म 'दिदीभाइ,' 'हिफाजत' र 'बुवाआमा' चलिरहेको थियो ।
निरकलाई हलबाट मात्रै होइन, फिल्म निर्माणमा समेत हात हालेका उनको होम प्रोडक्सन 'फ्लास ब्याक (फर्केर हेर्दा) यही साता रिरिज हुनुपर्ने थियो, रोकियो । 'प्रीतिको फूल' र 'खुसी' को सुटिङ पनि रोकियो' उनले भने, 'पि्रन्टिङ, इडिटिङ, मिक्सिङ, डबिङ सबै रोकिएको छ ।' उनको विचारमा 'सानो मार्केट भएको हाम्रो जस्तो मुलुकमा बन्द र आम हडतालले फिल्म क्षेत्र अहिले निचोरिएको छ ।'
नायिका रेखा भने अर्कै विचार राख्छिन् । माइतीघरमा 'स्वच्छ हावा, अग्र्यानिक तरकारी र फलफूल खाएर रमाइरहेकी' उनले अहिले फिल्मको घाटाभन्दा पनि मुलुकको आमूल परिवर्तन मुख्य एजेन्डा भएको बताइन् । 'सिंगो देशले परिवर्तन खोजिरहेको छ,' आफ्नो फिल्मले दैनिक ५० देखि ६० हजार घाटा खेपिरहेको बताउँदै उनले भनिन्, 'यति घाटा भएर मुलुकमा आमूल परिवर्तन हुन्छ भने, शान्ति र अमन चयन आउँछ भने म त एकदमै खुसी हुन्छु ।'
शान्ति र अमनचयन त निरक, मदन र नकिमको पनि चाहना हो । तर उनीहरू फिल्म उद्योग र बजारलाई 'गलत राजनीतिक अभ्यास' को सिकार बनाउन नहुने र शान्तिपूर्ण उपायको अवलम्बन गर्नुपर्ने सुझाउँछन् । 'आम हडतालले एउटा चलिरहेको सेड्युललाई त बिगार्यो बिगार्यो' निर्देशक मदनले भने, 'फेरि पनि बन्द र हडतालको गलत संस्कृतिले ठाउँ पायो नि ।' From: Kantipur Online
1 प्रतिकृया/हरु:
nepal ma kina yati dherai banda ho?
k nepal ma sadai nai banda huncha aaba?
nepal ma basna mancha haina?
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।