काठमाडौ, वैशाख १३ - हुनलाई उनी भण्डारी हुन् । पारिजातबाट प्रभावित भएर उनी साहित्यतिर लहसिन थाले र थरको ठाउँमा 'सयपत्री' लेख्न सुरु गरे । आफू प्रावि तहको शिक्षक रहेको रामेछापको दुर्गम गाउँबाट उनी कहिलेकाहीं राजधानी आउँछन् ।
'यहाँका पत्रपत्रिकामा गत वर्ष मेरा सयभन्दा बढी रचना छापिएछन्,' पत्रपत्रिकामा रचना दिन र छापिएकाको पत्रंपुष्पं उठाउन आएका उनले हालैको भेटमा सुनाए, 'दुर्गमको भए पनि राजधानीले मलाई माया गरेको छ ।'
उनको गाउँ फुलासी पुग्न मोटर चल्ने बाटो छाडेर एकबिहान हिँड्नुपर्छ । गाउँमा न बिजुली छ न सञ्चारको सुविधा । नयाँ पत्रपत्रिका वा पुस्तक हेर्न दिनभर लगाएर सदरमुकाम मन्थली पुग्नुपर्छ । सिर्जनालाई निरन्तरता दिए पनि पत्रिका प्रकाशन गृहसम्म पुर्याउन आफैं धाउनुपर्छ । त्यस्तो प्रतिकूलताले पनि सयपत्रीलाई सृजनकर्मबाट गलाउन सकेको छैन ।
दिनभर गाउँले बालबालिकालाई कखरा चिनाउँदा कथाका प्लट भेट्छन् उनी । 'त्यसैमा केही कल्पनाको रंग पोत्छु,' उनले भने, 'कथा गाउँमै भेटिन्छ । प्रविधि सहरमा छ । प्रकाशन गर्न मात्रै सहर धाउनुपर्छ ।'
उनले 'कविता गर्भधारण गर्छन्' -कविता संग्रह), 'उत्सव र मालीको थाल' -पूणर्ांकी नाटक), 'पालैपालो कथा भनौं' -बालकथा संग्रह), 'पांग्रेको सहरयात्रा' -बाल उपन्यास), 'समयका स्वरहरू' -कवितासंग्रह, सहलेखन) पाठकसमक्ष ल्याइसकेका छन् । पहिले बढी कविता लेखे पनि यति बेला उनको रुचि बदलिएको छ । 'मैले आख्यानमै आफ्नो भविष्य देखें,' उनले सुनाए, 'कविता लेख्न भने छाड्दिनँ ।' त्यो चाहिँ साहित्यिक कार्यक्रममा सुनाउन रे ।
उनका 'म अर्थात् करुणा' -उपन्यास), 'मखमलीका राजाहरू' र 'हाम्रो पवन सर' -कथासंग्रह) प्रेसमा छन् । 'पत्रपत्रिकामा प्रकाशित कथाको संग्रह निकाल्ने हो भने चार कृति जन्मन्छन्,' उनले भने, 'पाण्डुलिपिमै अरू ५० वटा कथा तयार छन् ।' उनी प्रकाशकको खोजीमा छन् ।
प्रकाशनमा यस्तो अपहत्ते छ भने किन लेख्छन् उनी ? 'आत्मसन्तुष्टिका लागि । लेखनीले ऊहापोह र उत्कण्ठाहरू बाहिर ल्याउन सघाउँछ,' उनले भने । देखेभोगेको कुरालाई सार्वजनिकीकरण गर्दा उनलाई आनन्द लाग्छ रे !
पत्रपत्रिका र पुस्तकको अभाव हुन नदिन उनले आफ्नो घरलाई नै पुस्तकालय बनाएका छन् । 'राजधानी आएका बेला पाएसम्म पत्रपत्रिका र खर्चले भ्याएसम्म पुस्तक लैजान्छु,' उनले सुनाए, 'साझा प्रकाशनले प्रकाशन गरेका अधिकांश कृति संकलन गरेको छु ।' उनले मासिक तलबको १० देखि १५ प्रतिशत पुस्तक किन्न खर्चने गरेको बताए । आफूले संकलन गरेका ती पुस्तक हालै उनले सुदीर्घ सयपत्री सार्वजनिक पुस्तकालय स्थापना गरेर हस्तान्तरण गरे । 'गाउँमा चेतना छैन । नैतिक शिक्षाको अभाव छ । मान्छे बन्न पढ्नैपर्छ,' उनले भने, 'म गाउँमा चेतना सञ्चार गराउन चाहन्छु । गाउँलेलाई पुस्तकप्रति मोह बढाउन चाहन्छु ।'
दुर्गममा भएकाले सिर्जनालाई पेसा बनाउन नसकेको पीडा उनलाई छ । 'सहरमा भए म लेखेरै बाँच्ने थिएँ,' उनले भने, 'गाउँमा त्यो अवस्था कहाँ छ र ?' हो पनि । From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।