सराङकोटमा 'मुन्नाभाइ'

मनोज अधिकारी, पोखरा, वैशाख १०- पोखराको पर्यटकीय डाँडा सराङकोटमा मंगलबार कलाकार मुकेश ढकाल र ऋचासिंह ठकुरी छमछम नाच्दैथिए। यो दृश्य 'मनमनै मन पराएँ' फिल्मको सुटिङको हो। तर, फिल्मको कथा सुनाउँदा धेरैलाई मुम्बईको हिट फिल्म 'लगेरहो मुन्नाभाइ'को सम्झना आउनसक्छ।

बजार र चोकचोकमा अरूलाई मारपिट गर्दै हिँड्ने गुन्डा मुकेश ढकाल एकाएक बदलिएर ऋचासँग हरियाली डाँडामा अँगालो हालेर नाचिरहेका छन्। मुकेशले लगभग 'मुन्नाभाइ' अर्थात् सञ्जय दत्तको रोल निर्वाह गरेको मान्न सकिन्छ।

मुकेशमात्र होइन ऋचाले पनि 'मुन्नाभाइ'मा विद्या बालानको जस्तै भूमिकामा अभिनय गर्दैछिन्। यो नेपाली फिल्ममा पनि ऋचा उता विद्याजस्तै एफएम रेडियोकी कार्यक्रम प्रस्तोता बनेकी छिन्।

मुकेशलाई यसरी आफूसँग नाच्ने अवस्थामा ल्याउनुमा ऋचाकै हात छ। श्रोताका आत्मकथा प्रसारण हुने कार्यक्रम 'मनमनै मन पराएँ'की प्रस्तोता ऋचा हुन्छिन् भने गुन्डागर्दी गर्दै हिँड्ने मुकेश चाहिँ उक्त कार्यक्रमको ठूलो फ्यान हुन्छन्। एकदिन त्यही कार्यक्रममा ऋचाले मुकेशको आत्मकथा प्रसारण गरिदिएपछि उनी खुसीले दंग भएका हुन्।

'मुन्नाभाइ'मा सञ्जयले प्रोफेसरलाई अपहरण गरेर विद्याले चलाउने प्रश्नोत्तर कार्यक्रममा जवाफ बताउन लगाउँछन्। यसमा पनि मुकेशले तीनजना फिल्मलेखकलाई अपहरण गरेर आफ्नो आत्मकथा लेख्न लगाउँछन्। 'मुन्नाभाइ' र मुकेश दुवैले यस्तो गर्नुको कारण कार्यक्रम चलाउने हिरोइनसँग नजिक हुनलाई हो।

कथा प्रसारण भएपछि मुकेशले ऋचालाई भेट्ने अवसर पाउँछ। र, पहिलो भेटमै उनी ऋचालाई मन पराउन थाल्छन्। 'लगेरहो मुन्नाभाइ'को सिक्वेन्स सम्झाउने यो दृश्यको सुटिङ सराङकोटमा भएको हो। आफूले मनमनै मन पराएकी ऋचासँग मुकेशले डाँडाकाँडा डुल्दै नाचेको दृश्य फिल्ममा हेर्न पाइनेछ।

'मुन्नाभाइ'मा जस्तै यसमा पनि गुन्डा मुकेश हिरोइन ऋचाको संगत र प्रेमले असल बाटोतिर डोरिइन्छन्। 'तर यो मुकेशले कल्पना गरेको गीतको दृश्य हो' फिल्मका निर्देशक राजेन्द्र उप्रेतीले कथावस्तु उल्लेख गर्दै भने,'फिल्ममा मुकेश र ऋचा जोडीका रूपमा छैनन्।'

'मुन्नाभाइ'भन्दा फरक देखाउन राजेन्द्रले यसमा ऋचाको जोडी राज तिमिल्सिनालाई बनाएका छन्। राजेन्द्र फिल्मका लेखक पनि हुन्। एउटा सिक्वेन्स 'मुन्नाभाइ'सँग मिले पनि फिल्मको समग्र कथा भने बिल्कुल फरक छ।

निर्देशक उप्रेतीका अनुसार लोकप्रिय एफएम कार्यक्रमलाई मुख्य कथावस्तु बनाइएको यो नौलो फिल्म हो। कार्यक्रमले २५ वर्ष विछोडिएका जोडीलाई आत्मकथामार्फत् पूनर्मिलन गराएको प्रसंग फिल्ममा देखाइएको छ।

राजधानीमा सुटिङ सकेर फिल्मको टोली मंगलबार पोखरा आइपुगेको हो। फिल्मका सबै गीतका केही अंश खिचेर टोली बाँकी दृश्यका लागि हेटौंडा जाने उप्रेतीले बताए। पोखरामा पामे, सराङकोट, फूलबारी, धम्पुसमा छायांकन गरिने छ।

फिल्ममा राज तिमल्सिना, मुकेश ढकाल र ऋचाका अतिरिक्त जयकिशन बस्नेत, मिथिला शर्मा, सुनिल थापा, मञ्जु श्रेष्ठ मुख्य कलाकार छन्। रामेश्वर भट्टराईद्वारा निर्मित 'मनमनै मन पराएँ'मा वसन्त सापकोटा र महेश खड्काको संगीत, प्रदीप श्रेष्ठको नृत्य, हिमाल केसीको द्वन्द्व र कृष्ण श्रेष्ठको छायांकन रहेको छ। From: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।