उदाए आशालाग्दा मुहार

नेपाली चलचित्रमा नयाँ अनुहारको प्रवेश बढ्दो छ । ०६६मा सार्वजनिक भएका चलचित्रबाट केही नयाँ अनुहार नेपाल चलचित्रमा उदाए, तर त्यो क्रम ०६७ मा अझ बढ्दै छ । वर्ष ०६६ मा सार्वजनिक भएका कुल ४२ वटा चलचित्रमा कहलिएका अनुहार नै हाबी भए पनि केही नयाँ अनुहारले पनि आफ्नो उपस्थिति दर्साएका छन् ।

कुरा गरौं नायकहरूको एनिमेटेड क्यारेक्टर सिर्जना गरिएको चलचित्र 'यतीको खोजीमा'बाट दुई नायकको पदार्पण भयो । पेसाले मार्शल आर्टका खेलाडी लक्ष्मण बस्नेत तथा फोटोग्राफर दिव्य गौतम उक्त चलचित्रमा नायक थिए । एक्सन र थि्रल विषयमा बनेको उक्त चलचित्रमा उनीहरूको द्वन्द्वकला दर्शकले रुचाए । त्यसैगरी मार्शल आर्टका गुरु सन्नी बी केसी चलचित्र 'गोर्खा रक्षक'बाट नायकका रूपमा उदाए । सामान्य व्यवसाय गरेको उक्त चलचित्रमा उनको प्रस्तुतिलाई धेरैले ब्रुस लीको शैलीसँग दाँजेका थिए । चलचित्र निर्माणमा कटिबद्ध निर्माता रोज राणा चलचित्रको नायक बन्दैछन् भन्ने चर्चा डेढ वर्षदेखि चले पनि वर्ष ०६६ मा राणा नायक भएको दुईवटा चलचित्र सार्वजनिक भयो । सम्भवतः चलचित्र निर्माण गर्दागर्दै उनमा अभिनयको रस बसेको हुनुपर्छ । राणाका चलचित्रहरू 'महान्' र 'टक्कर दुई मुटुको' मा उनको अभिनय प्रशंसायोग्य नै थियो । हङकङमा केही चलचित्रमा नायक भएका ध्रुव दत्तले आफ्नो नायकीपन केही हदसम्म शंकर घिमिरेको चलचित्र 'विष'मा देखाए । यो वर्ष उनले अभिनय गरेको अर्को चलचित्र 'वीरताको चिनो' सार्वजनिक हुने क्रममा छ ।

म्युजिक भिडियोमा मोडलिङ गर्दागर्दै नायक भएका अयुब केसी वर्ष ०६६मा चलचित्र 'माया यो कस्तो माया'बाट सार्वजनिक भए । व्यावसायिक कोणबाट असफल ठहरिए पनि उक्त चलचित्रबाट केसीको उदय भने राम्रै भयो । उक्त चलचित्र सार्वजनिक नहुँदै उनी चलचित्र 'सडक' र 'ठेगाना'मा नायक भएका छन् । मुकेश ढकालले वर्ष ०६६ को सर्वाधिक सफल चलचित्रमा पर्न सकेको ऋषि लामिछानेद्वारा निर्देशित 'आफ्नो मान्छे आफ्नै हुन्छ'मा नायक भै आफूलाई दर्शकसमक्ष प्रस्तुत गरे । तीन वर्षअघि निर्माता सुशील पोखरेलले चलचित्र 'जीवनदाता'मा नायिका रेजिना उप्रतीसँग आइटम डान्स गराएर उनलाई पर्दामा ल्याइसकेको भए पनि मुकेशलाई नायकका रूपमा जेनी कुँवरले चलचित्र 'हलचल'मा लिएकी हुन् । 'हलचल'भन्दा पहिले नै चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' सार्वजनिक भयो र मुकेश स्थापित नायकको सूचीमा नामांकन हुन सफल भए । मुकेश नायक भएको 'निगरानी', 'मनमनै मन पराएँ', 'पर्खिराख है' ०६७मा सार्वजनिक हुनेछन् । चलचित्र 'कुसुमे रुमाल'बाट निरज बराल उदाए र त्यसपछि उनले अर्को चलचित्र 'दिपशिखा'मा अभिनय गर्ने अवसर पाए । रेखा थापाको चलचित्र 'हिफाजत'बाट वर्षको अन्त्यमा उदाएका नायक आयुष रिजालले राम्रो सम्भावना भएको नायकका रूपमा परिचय बनाइसकेका छन् । त्यसैले त उनलाई निर्देशक प्रदीप श्रेष्ठले चलचित्र 'सडक' तथा श्याम भट्टराईले 'च्यालेन्ज'मा लिइसकेका छन् । यी नायकहरूको भविष्य कत्तिको उज्ज्वल छ, आगामी केही समयमा थाहा भैहाल्नेछ ।

अब नायिकाको पालो




सानो पर्दाका टेलिश्रृंखलाहरूबाट चर्चा पाएकी सौजन्य सुब्बा वर्ष ०६६ मा ठूलो पर्दाकी नायिका भइन् । तौल घटाएर 'स्लिम' भएपछि उनको चर्चा पनि बढ्यो । ०६६मा उनी नायिका भएको चलचित्र 'टक्कर दुई मुटुको' सार्वजनिक भयो । ०६७ मा उनको चलचित्र 'औजार' प्रदर्शन हुने भएको छ भने उनी 'स्वाभिमान' र 'जय होस्'मा पनि नायिका हुने भएकी छिन् । यसैगरी मोडलिङबाट उदाएकी सुनिता गन्धर्वले वर्ष ०६६ मा चलचित्र 'यतिको खोजीमा'बाट आफ्नो उपस्थिति दर्साइन् । यो वर्ष उनी नायिका भएको सोभित बस्नेतको चलचित्र 'चिनो' सार्वजनिक हुने भएको छ । नायिका उषा रजक तथा रुबी भट्टराईले चलचित्र 'कुसुमे रुमाल'बाट भविष्यको बाटो कोरेका छन् भने सुष्मा कार्कीले पनि 'मेरो एउटा साथी छ'मा सहनायिका भएर संभावना राम्रो देखाएकी छिन् । नायिका स्नेहा शर्माले वर्ष ०६६ मा प्रदर्शित दुई चलचित्र 'निशाना' र 'माया यो कस्तो माया'बाट राम्रो सम्भावना देखाएकी छिन् । यसका साथै चलचित्र 'जंगल क्विन'मा अर्धनग्न पोस्टरबाट नायिका जेशिका खड्काको पनि चर्चा भयो । मोडलिङ तथा टेलिभिजनबाट चर्चामा रहेकी निशा अधिकारीले चलचित्र 'मिशन पैसा'बाट सम्भावनाको बीउ छरेकी छिन् । उनले अभिनय गरेको अर्को चलचित्र 'नैना रेसम'ले पनि उनको प्रतिभा उजागर गर्‍यो । यो वर्ष उनका अरू पनि चलचित्र आउने र निर्माण हुने क्रममा छन्, जसमा सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र 'फस्र्ट लभ'को चर्चा बढी छ । 'मिशन पैसा'बाट उदाएकी अर्की नायिका आयुषा बस्नेतलाई राम्री युवती भनिए पनि उनी हाल विदेशमा छिन् । छायांकनका लागि नायिका उषा पौडेलले भिसा नपाएपछि राजु शाहले चलचित्र 'सपनाको नौलो संसार'मा जर्मनीमा रहेकी कलाकार कमला दाहाललाई नायिका बनाए । प्रदर्शनमा व्यवस्थापन मिल्न नसक्दा उक्त चलचित्रले सफलताको स्वाद चाख्न सकेन । यद्यपि राम्रो भूमिकाको अफर आएमा कमला स्वदेशमा आई अभिनय गर्न सक्ने निर्देशक शाहले बताएका छन् । यो वर्षको सर्वाधिक सफल मानिएको चलचित्र 'कहाँ भेटिएला'की नायिका श्वेता खड्काले राम्रो सम्भावना देखाएकी छिन् । अभिनय एवं नृत्यमा उनको निकै प्रशंसा भएको छ । वर्ष ०६७ मा सार्वजनिक हुने चलचित्र 'एकफेर हाँसिदेऊ'मा उनी मुख्य नायिका भएकी छिन् ।

उल्लेखित प्रतिभावान् नयाँ अनुहारले आगामी वर्ष आशा जगाउँदै जान्छन् कि निराश बनाउँछन्, वर्ष ०६७ मा निर्धारण हुनेछ । From: Saptahik

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।