रिक्सा चलाउँदै बिराज

पर्सा, वैशाख ३ - वीरगन्जको भीडभाडयुक्त सडक । त्यसमाथि उखरमाउलो गर्मी । रिक्साचालकजस्तो शारीरिक श्रम पर्ने काम सहज हुने कुरै भएन । नायक बिराज भट्ट भने एक सातायता यहाँ त्यही कर्म गरिरहेका छन् । काम नपाएरचाहिँ होइन है ।

यहाँ भोजपुरी फिल्म 'प्यार करेला हिम्मत चाही' (प्रेम गर्न हिम्मत चाहिन्छ) को सुटिङ भइरहेको छ । जगदम्बा फिल्मद्वारा निर्माणाधीन फिल्ममा बिराजको भूमिका रिक्साचालककै छ, शंकर नामबाट । रिक्सामै 'शंकर रिक्सावाला' लेखिएको छ । यो फिल्म नेपालीमा चाहिँ 'प्रतिज्ञा' नामले आउनेछ ।

बिराजले रिक्सा हाँकेको दृश्य छायांकन गर्न फिल्म युनिटलाई हम्मे पर्ने गरेको छ । कसैले नचिनून् भनेर बिराज एकै पटक रिक्सामा बसेर काममा लागिहाल्छन् । क्यामेराम्यानले पनि सर्वसाधारणले थाहा नपाउने गरी उनले रिक्सा चलाएको दृश्य कैद गरिरहेका हुन्छन् । तर फ्यानहरू लाटा कहाँ हुन्छन् र ? उनलाई घेरेर अटोग्राफ माग्न सुरु गरिहाल्छन् । 'फ्यानहरूका कारण बिराजले रिक्सा चलाएको दृश्य छायांकन गर्न धेरै समस्या भइरहेको छ,' निर्माता अनिल सर्राफले भने ।

बिराजको यो नवौं भोजपुरी फिल्म हो । 'भोजपुरी सिनेमामा पनि जमेकामा खुसी लागेको छ,' उनले सुनाए । हालसम्म उनका चार वटा भोजपुरी फिल्म प्रदर्शन भइसकेका छन् । तीन वटा प्रदर्शनको तयारीमा छन् भने दुई वटा फ्लोरमा छन् ।

भोजपुरी नेपालको तेस्रो बढी बोलिने भाषा भएकाले आफूलाई भोजपुरी सिनेमामा अभिनय गर्न भाषिकलगायत कुनै समस्या नरहेको बिराजले बताए । उनलाई 'भोजपुरी आफ्नै मातृभाषाजस्तो लाग्ने गरेको छ ।' एक महिनाअघि मुम्बईमा भोजपुरी फिल्म 'दाग' को छायांकन सकेर फर्केका उनी वीरगन्ज आउनुअघि राजधानीमा नेपाली चलचित्र 'सिन्दुर' मा व्यस्त थिए । 'कलाकार भएपछि जुनसुकै भाषाको चलचित्रमा पनि अभिनय गर्न सक्नुपर्छ भन्ने मेरो मान्यता छ,' उनले भने । सायद अरू सिनेकर्मी पनि यस्तै सोच्छन् । 'प्यार करेला हिम्मत चाही' मा नायिका रेजिना उप्रेती र सोनिया केसीले पनि खेलिरहेका छन् । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।