सन्तोष रिमाल, काठमाडौं, वैशाख १ - 'वर्ष ०६६ कसको होला? बक्स अफिसमा कुन फिल्मले सबैभन्दा बढी कलेक्सन गर्ला?' पोहोर बैशाख १२ को नागरिकमा हामीले यो विषयमा सर्वेक्षण गरेका थियौं। फिल्म क्षेत्रका दस विज्ञको भोटलाई आधार मानी ६ विधाका 'टप पाँच' छुट्याइएको थियो। ०६६ सालमा हिरो, हिरोइन, निर्देशक, निर्माता र लेखकमा कसको वर्चस्व होला? र, कुन फिल्मलाई उद्योगले सबैभन्दा बढी प्रतिक्षा गरेको छ भनेर सर्वेक्षण गरिएको थियो। कस्तो रह्यो फिल्मविज्ञका मूल्यांकन? एक वर्षपछि यस विषयको समीक्षा गरेका छौं।
हिरो
निर्णायकबाट सबैभन्दा धेरै अंक पाएका थिए राजेश हमालले। उनीपछि रहे विराज भट्ट, निखिल उप्रेती, राजबल्लभ कोइराला र आर्यन सिग्देल। पहिलो स्थानका हिरो राजेशमा कुनै उतारचढाव आएन। 'द युगदेखि युगसम्म' र 'जंगबाज'मा उनी मुख्य भूमिकामा देखा परे। तर, ती फिल्मले राम्रो व्यापार गरेन। फिल्मको शीर्ष भूमिकामा कमै देखिए पनि राजेशको 'पोस्टर भ्यालु' भने घटेन। पुरानै गतिमा पेस भएपनि उनको स्थान सुरक्षित रह्यो। बजार बिग्रन पाएन र गतिलो फिल्म पनि आएन।
विराज र निखिलको स्थान उस्तै रह्यो। एक्सनका कारण चलेका विराजले पारिश्रमिक बढाएर एउटा फिल्मको चार लाख पुर्याए। निखिलले पनि भ्याइनभ्याइमा बिताए यो वर्ष। नेपाली फिल्मका साथै भोजपुरी फिल्ममा समेत व्यस्त रहे विराज र निखिल। यी दुवैले आफ्नो भूमिकामा नवीनता पोख्न सकेनन्। 'पर्खिबसेँ'ले जति आसलाग्दो संकेत देखाएको थियो त्यो दर्जामा राजबल्लभले आफूलाई उभ्याउन सकेनन्। यो वर्ष रिलिज भएको उनका फिल्म बक्स अफिसमा पनि असफल सावित भयो। फिल्म 'मेरो एउटा साथी छ' मा गरेको अभिनयले आर्यनलाई माथिल्लो स्थानमा राख्यो। कोरियन फिल्म 'अ मिलिनियर्स फर्स्ट लभ'को नक्कलका कारण यो फिल्मले समीक्षकको आलोचना सहनुपर्यो। तर, आर्यनको अभिनयले भने प्रशंसा पायो।
हिरोइन
निर्णायकको अंकले उत्कृष्ट हिरोइन बनाएको रेखा उत्कृष्ट नै सावित भइन्। उनले खेलेको फिल्म 'बाटुली', 'रक्षक' र 'आफ्नो मान्छे आफ्नै हुन्छ'ले राजधानीबाहिर राम्रो व्यापार गर्यो। पारिश्रमिक बढाएर २ लाख नघाएपनि उनको व्यस्तता घटेन। अघिल्लो वर्ष होम प्रोडक्सनको फिल्म 'किस्मत'मा सुन्दर अभिनय गरेकी रेखाको यो वर्ष रिलिज भएको अन्तिम फिल्म 'हिफाजत'मा भने 'ओभर एक्टिङ' देखियो। निर्णायकको अड्कलअनुरूप नै दोस्रो स्थानमा सुरक्षित देखिइन् झरना। फिल्म 'कहाँ छौ कहाँ'मा उनले निर्वाह गरेको भूमिका प्रशंसित रह्यो। अरुणिमाको अभिनयले गति लियो यो वर्ष। 'छोडिगए पाप लाग्ला'ले संचिता लुइँटेललाई राम्रो अभिनेत्रीका रूपमा चित्रण गर्यो। ऋचा र रेजिना सामान्य रहे। 'मेरो एउटा साथी छ' नम्रता श्रेष्ठको काम राम्रो मानिए पनि भिडियो प्रकरणका कारण अभिनयमा उनको रफ्तार रोकियो।
हिरोनिर्देशक
उज्ज्वल घिमिरेमाथि सबैभन्दा धेरै भरोसा थियो निर्णायकको। तर, उनको फिल्म 'छोडिगए पाप लाग्ला'ले राजधानी बाहिर आशा गरेअनुरूप सफलता पाएन। बरु 'कहाँ भेटिएला'को सफलताले शिव रेग्मीलाई एक नम्बरमा उभ्यायो। 'देश' फिल्मबाट धेरै अंक पाएका तुलसी घिमिरेको 'माया त माया हो' मात्र रिलिज भयो। राजधानीबाहिर सन्तोषजनक व्यापार गरेपनि उनलाई अब्बल निर्देशक बनाउन सकेन यो फिल्मले। संख्यात्मक रूपमा धेरै फिल्म आए दीपक श्रेष्ठका। तर, गुणस्तर र व्यापारले उनलाई धेरै पछाडि पार्यो। पाँच उत्कृष्ट निर्देशकमा परेका प्रदीप श्रेष्ठको कुनै फिल्म रिलिज भएन। तर, निर्देशनमा भने उनी व्यस्त रहे।
निर्माता
पाँच निर्माताको सूचीमा भारी मतले अगाडि रहेका उद्धव पौडेलले गतिलो फिल्म दिन सकेनन्। यो वर्ष रिलिज भएको उनको फिल्म 'जीवनमृत्यु'ले उद्योगमा संख्या थप्नेबाहेक कुनै प्रभाव छोडेन। छोरालाई निर्देशक बनाएर २५ वर्षअघिको हिट फिल्म 'कुसुमेरुमाल'को सिक्वेल बनाए। प्रचारप्रसारमा खरो उत्रिए। तर, फिल्म राम्रो चलेन। न त उनको छोरा निरकको निर्देशकीय सीप नै उत्कृष्ट ठहरियो। दोस्रो नम्बरमा परेका निर्माता छवि ओझाको फिल्म 'हिफाजत' वर्षको अन्तमा रिलिज भयो। तर, उनकै अघिल्लो फिल्म 'किस्मत' भन्दा कमजोर रूपमा।
'दौंतरी', 'ठूल्दाई' र 'आफ्नो मान्छे' जस्ता हिट फिल्म बनाएका केशव भट्टराईका फिल्म पछिल्लो समयमा त्यति चलेनन्। 'छाडिगए पाप लाग्ला'ले उनका सुनौला दिन फर्काउने विश्वास गरिएको थियो। तर, त्यसो भएन। निर्माता संघको अध्यक्ष पदमा समेत पराजित भएपछि फिल्ममा मात्र हैन फिल्मी राजनीतिमा पनि उनी असफल भए। 'देश'कै कारण चौथो नम्बरमा परेका थिए श्रवण घिमिरे। फिल्म रिलिज नभएपछि निर्णायकको अनुमान खेर गयो।
निर्माताको सूचीमा अन्तिम नम्बरमा चिरञ्जीवी बस्नेत र राजकुमार राईको नाम परेको थियो। फिल्म निर्माणमा यी दुईलाई उल्लेख्य सफलता त केही मिलेन। तर, 'नेपाल चलचित्र निर्माता संघ'को अध्यक्ष र महासचिव पद क्रमश : राई र बस्नेतलाई मिल्यो।
लेखक
यो मत सर्वेक्षणले सबभन्दा बढी विश्वास गरेको थियो लेखक विकास आचार्यलाई। यो वर्ष उनका आधा दर्जन फिल्म रिलिज भयो। तर धेरै आशा गरिएको 'हाँसिदेऊ एकफेर' रिलिज हुन सकेन। लेखनलाई निरन्तरता दिएपनि उनको ध्यान बढी खिच्यो निर्देशनले। पहिलो फिल्म 'नसिव आफ्नो'को नतिजाले दोस्रो फिल्म 'नाइँ नभन्नू ल'को निर्देशनमा हौस्यायो उनलाई।
दोस्रो नम्बरमा रहेका सुरज सुब्बा 'नाल्बो'को 'स्त्रि्कप्ट एक्सप्रेस' यो वर्ष केही कम भयो। कारण थियो निर्देशन। दस वर्ष अघि 'बिसालु'को निर्देशन गरेका यी लेखकले यो वर्ष 'बाटोमुनिको फूल'को निर्देशनमा समय बिताए। तेस्रो नम्बरका लेखक प्रदीप भारद्वाज विकास र सुरजकै हाराहारी देखिए। तर, उनले लेखेको फिल्म 'छाडिगए पाप लाग्ला' र 'कुसुमेरुमाल'ले राम्रो व्यापार भने गरेन। चौथो नम्बरका मौनता श्रेष्ठ सामान्य रूपमै देखिए भने शिवम् अधिकारीको व्यस्तताले गति लियो। तर, तारिफयोग्य स्त्रि्कप्ट यी कुनैले पेस गर्न सकेनन्।
फिल्म
निर्णायकले सबैभन्दा बढी प्रतिक्षा गरेको फिल्ममा राखेको 'देश' यो वर्ष रिलिज नै भएन। 'देश'कै हालत भयो दोस्रो नम्बरको फिल्म 'हाँसिदेऊ एकफेर'को पनि। यसपछिको फिल्म 'छाडिगए पाप लाग्ला' राजधानीबाहिर रिलिज भयो। तर, सन्तोषजनक व्यापार गर्न सकेन। चौथो स्थानको 'कुसुमेरुमाल'ले पनि निर्णायकको विश्वास धान्न सकेन। 'हिफाजत' भर्खरै रिलिज भएकाले नतिजा थाहा हुन बाँकी नै छ। बरु उत्कृष्ट पाँचमा नपरेको श्रीकृष्ण श्रेष्ठको फिल्म 'कहाँ भेटिएला'ले राम्रो व्यापार गर्यो। From: Nagarik News
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।