संखुवासभा, चैत्र ३१ - गायिका अन्जु पन्तले गाउने नयाँ वर्ष सांगीतिक मेला २०६७ मा दर्शकको भीड नियन्त्रण गर्न प्रहरीले बल प्रयोग गर्नुपरेको छ । आइतबार राति सांस्कृतिक कार्यक्रमको तयारीमा दर्शकको भीड नियन्त्रण गर्न नसकेपछि प्रशासनको सहयोगमा कार्यक्रम स्थगित भएको थियो । पाँच सय रुपैयाँसम्म टिकट काटेर गीत सुन्न आएको भीडका कारण जिविस हलका एक दर्जन बढी बेञ्च भाँचिए भने प्रहरीले भीड नियन्त्रण गर्न लाठीचार्ज गर्दा केही युवा घाइते भए । खाँदबारीको हिल साउन्ड रेकर्डिङले आयोजना गरेको सांगीतिक मेला आइतबार राति रोकेर सोमबार खुला मञ्चमा गर्नु पर्यो । दुई दिन लगातार दुई शो सञ्चालन गर्ने भने पनि दर्शक र श्रोताको भीडलाई थाम्न नसकेपछि कार्यक्रम खुला मञ्चमा गर्नु परेको आयोजक वीरबहादुर लिम्बूले बताए । सोमबार मध्याह्न अहिलेकी चल्तीकी गायिका अन्जु पन्तले कार्यक्रम रोकिएकोमा क्षमा माग्दै 'सुनकोसीले सुसेलेको दूधकोसीले सुन्छ,' बोलको गीतबाट गायन सुरु गरेकी थिइन् । पन्तले 'हिम्मत' चलचित्रको निकै मनपराइएको 'दिल यो मेरो दिल, किन धकधक गर्छ,' गीतलाई निरन्तरता दिएकी थिइन् । आफैंले गाएका आठवटा गीत गाउने लक्षले मञ्चमा देखिएकी गायिका अन्जुले 'तिम्ले पराइ ठानेपछि पराइ हुन के भयो र ?' बोलको गीत गाइन् । 'तिर्खा लाग्यो पानी खाएँ, मैले के बिराएँ' गीतमा पटकपटक वान्स मोरको हुटिङ भइरह्यो । स्वास्थ्यले साथ नदिएको र चर्काे घाममा गाउन कठिन भइरहेको भन्दै गायिका पन्तले केहीअघि चर्चित बनेको 'नबिर्से तिमीलाई न पाएँ तिमीलाई' गीत गाएर बिट बारिन् । स्थानीय कलाकार भूवन श्रेष्ठले गीत र केही कलाकारले नृत्य प्रस्तुत गर्दै कार्यक्रमको बिट मारिएको थियो । From: Online Kantipur
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।