टेली अवार्ड 'झेली अवार्ड' भएको आरोप

काठमाडौं, चैत २६ (नागरिक)- हास्यशृंखला 'मेरीबास्सै'ले वैशाखमा हुने 'टेलिअवार्ड २०६७' बहिस्कार गर्ने भएको छ। टेलिभिजन कलाकर्मी मञ्चले बुधबार सार्वजनिक गरेको मनोनयन सूचीमा आफ्नो सिरियल उत्कृष्ट पाँचमा नपारेकोले बहिस्कार गरिएको निर्देशक केदार घिमिरे र सीताराम कट्टेलले बताए।

'मनोनयनमा जस्तै अवार्ड वितरणमा पनि धाँधली होला जस्तो लागेर बहिस्कार गरेका हौं,' सीतारामले भने, 'हामीलाई दर्शकले दिएको अवार्ड काफी छ। यो अवार्ड अरूलाई नै होस्।' उनले आफ्नी पत्नी कुञ्जना घिमिरे (सुन्तली) महिला अभिनेत्रीमा मनोनयन नभएकोमा समेत गुनासो गरे।

सिरियलका अर्का निर्देशक केदारले अवार्डमा भागबन्डाको संकेत देखिएकोले हात झिकेको बताए।

मनोनयनमा नपरेकी कुञ्जनाले 'टेली अवार्ड'लाई 'झेली अवार्ड' बताइन्। 'अवार्डको आशा छैन। तर, महिला हास्यकलाकारको नोमिनेसनमा समेत नपर्दा दुःख लाग्यो,' उनले भनिन्।
मनोनयनमा परेका उत्कृष्ट हास्यशृंखलामा 'यहाँको चलन', 'तीतो सत्य', 'जिरे खुर्सानी', 'कलेज' र 'घरभेटी बा' छन्।

आठ विधामा मनोनित 'मेरी बास्सै'ले अवार्ड बहिस्कार गर्नुलाई आश्चर्यजनक बताए आयोजक संस्थाका अध्यक्ष कृष्ण ढुंगानाले। 'उत्कृष्ट र लोकप्रिय फरक विधा हुन्। लोकप्रिय सिरियल दर्शकको एसएमएसले निर्धारण गर्छ,' उनले भने, 'उहाँहरूले आफ्नो धारणा राख्न हतार गर्नुभो। खुर्सानी नटोकी स्वादको व्याख्या गर्न नहुने!' From: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।