खस फिल्म राजधानीमा

काठमाडौ, चैत्र २२ - खस भाषाको पहिलो फिल्म दाबी गरिएको 'नमस्ते डोल्पा' शुक्रबारदेखि राजधानीको अष्टनारायण हलबाट नियमित प्रदर्शनमा आएको छ । निर्माता विमल डाँगीका अनुसार डोल्पामै सुटिङ गरिएको यो 'पहिलो व्यावसायिक फिल्म' पनि हो । सुदूरपश्चिमी जनजीवन, संस्कृति, रहनसहनको परिवेशमा एउटा अमर प्रेमकथा देखाइएको फिल्म यसअघि दुनै र सुर्खेतको सिनेमा हल तथा डोल्पाका थुप्रै गाउँहरूमा प्रोजेक्टरमार्फत देखाइएको प्रस्तुतकर्ता विमल डाँगीले बताए । 'राजधानीकै अरू केही हलहरूमा नियमित लगाउने तरखरमा छौं,' उनले भने, 'पहिलो र दोस्रो दिन हाउसफुल भयो, निकै हौसला मिलिरहेको छ ।' उनका अनुसार फिल्ममा सुदूरपश्चिमको चुटकिला नाच्ने परम्परा, 'भाका हाल्ने' चलनदेखि 'पैसरी नृत्य' (लहरे नाच) सम्म समेटिएको छ । सहरबाट कन्सर्टका लागि गाउँ जाने कलाकार समूहसँग जोडिएको प्रेमकथासँगै डोल्पाली गरिबीको पाटोलाई पनि देखाउन खोजिएको उनले बताए । देव नेपालले निर्देशन गरेको फिल्ममा 'डोल्पाका थुप्रै 'भर्जिन' विषयहरू रहेको उनले दाबी गरे । डोल्पाको रमणीयस्थल, से-फोसुन्डो ताल, फोक्सुन्डो झरना, त्रिपुरासुन्दरी मन्दिर, जुफाल एयरपोर्ट, सदरमुकाम दुनै र भेरी नदी किनारमा छायांकन गरिएको फिल्ममा त्रिकोणात्मक प्रेम कथासमेत रहेको निर्देशक देवले बताए । 'प्रेमकथा एउटा माध्यममात्रै हो,' कथा लेखकसमेत रहेका विमलले भने, 'प्रेम कथाको माध्यमबाट डोल्पाको गरिबी, अशिक्षा र पछौटेपन बाहिर ल्याउन खोजेको हुँ ।' उनका अनुसार फिल्मको अर्को विशेषता पल्लो डोल्पाको परिवेश र संस्कृतिसँगै 'ओझेलमा परेको पौराणिक कलाकृति र स्थानहरू' पनि हुन् । 'रल्लीको राजारानीको दरबारको भग्नावशेष, त्रिपुराकोटको सबैभन्दा ठूलो दमाहा, सुनको गजुरदेखि लोपोन्मुख संस्कृति समेटिएको छ,' उनले भने । रूपधनी डाँगी निर्मात्री रहेको डिजिटल फिल्ममा शिवन पोखरेल, दीपसागर, देव नेपाल, सरिता डाँगी, बन्दना केसी, सुमन थापा, सीताराम खनाल, विशाल बुढालगायतको अभिनय रहेको छ । गीत संगीत विमलकै रहेका छन् भने क्यामरामा रत्न कार्की र द्वन्द्वमा रवीन्द्र बरालले सघाएका छन् । From: Kantipur Online

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।