रामचन्द्र अधिकारी, सुरवीर पण्डित र विष्णुभक्त फुँयाललाई पर्दामा नदेखेका नेपाली कला पारखी कमै होलान्। सधैँ दुखियाको भूमिकामा देखिएर पनि सञ्चारमाध्यमको चासोमा नपर्नु यी तीन कलाकारको समानता हो।
पहिला कुरा गरौं रामचन्द्रको। (हे. तस्बिर)उनले अभिनय गरेका २०० चलचित्रमध्ये धेरैमा पीडितको भूमिकामा छन्। निर्माता/निर्देशकहरू कथामा आपतमा परेको गरिब पात्र आयो कि रामचन्द्रलाई सम्झ्न्छन्। भन्छन्, “एक सयभन्दा बढी त सिरियलमा नै खेले, तर दुःखीको भन्दा अर्को भूमिका दिएनन्।” आफूले गरेको पीडित पात्रको अभिनय बेजोड भएरै दुःखीको भूमिकामा बाँधिएका रामचन्द्रको अहिलेको दुःख चाहिँ के हो भने उनले अरू किसिमका अभिनय गर्न नै सक्तैनन् जस्तो भएको छ, नेपाली चलचित्र उद्योगमा।
तीनदशक लामो अभिनय यात्रामा रहेका रामचन्द्र २०३४/३५ सालतिर पहिलो पटक बौद्ध युवा क्लबले गरेको नाटक देखेर अभिनयमा लोभिएको सम्झ्न्छन्। तर, उनका लागि काम-दाम छाडेर अभिनय गरिहिँड्नु सम्भव थिएन। कारण काठमाडौं, गोठाटारका यिनलाई मजदुरी गर्नुपर्ने बाध्यता थियो। आर्थिक स्थिति नाजुक भएकैले बाल्यकालमा पढ्न पाएनन्। पहिलो पटक काम खोज्दै हेटौंडा झ्रेका उनी मालिकले खाना पनि तौलेर दिएपछि भागेर बनारस पुगे। तर, बर्मा गयो कर्मसँगै नेपाल गयो कपालसँगै भने जस्तो भयो। भन्छन्, “हेटौंडामा भन्दा नराम्रो दुर्गति भएपछि गोठाटारै फर्किएँ।”
त्यसपछि तत्कालीन दूरसञ्चार समितिमा पियनको जागिर नपाएको भए उनी कतै हानिन्थे होलान् फेरि। जागिरले उनको भरथेग पनि भयो। त्यसपछि बल्ल कलाकारितामा आए। दुःखी पात्रको अभिनय गर्दा पुराना दिन सम्झ्ने रामचन्द्र अहिलेसम्म नेपाल टेलिकममै छन्। ८० पटकसम्म मञ्चन भएका अँध्यारो उज्यालो, सच्चाप्रेम लगायतका नाटकमा उनले गरेको अभिनय नबिर्सने मानिसहरू धेरै छन्।
उनको अभिनय यात्रा नेपाल टेलिभिजनको पहिलो टेलिफिल्म पृथ्वीनारायण शाह देखि मेरी वास्सै हुँदै हिन्दी सिरियलसम्म पुगेको छ। वासुदेव चेलीबेटी, कोसेली, प्रेम, बादल जस्ता नेपाली फिल्ममा दुखियाका रूपमा देखिएका रामचन्द्रले हिन्दी चलचित्र लभ इन नेपाल र अङ्ग्रेजी यति मा चाहिँ अन्य खालको भूमिका पाएका छन्। रामचन्द्रको जीवनमा थाहै नपाई आनका तान फरक ल्याउने एउटा कुरा चाहिँ सबैले सुन्नै पर्छ। “पहिला गोठाटारमा भएको खान नपुग्ने खेतको भाउ यसरी बढ्यो कि अहिले मलाई करोडपति भन्दा हुन्छ” उनी भन्छन्। त्यसमाथि संंस्थानको जागिर र कलाकारको ख्याति।
रामचन्द्र जस्तै पर्दामा सधँै पीडित देखिने सुरवीर पण्डित कलाकै लागि समर्पित थोरै कलाकारमा पर्छन्। पहिलो पटक नेपाल टेलिभिजनको टेलिसिरियल कोसँग जुधौँ मा देखिएका उनी त्यस समयका लोकप्रिय सिरियल चक्रव्यूह, टाढाको बस्ती, राप, प्रतिद्वन्द्वी मा खुवै जमेका थिए। अहिले तीतो सत्य, मेरी वास्सै सिरियलमा छाएका छन्। गरिब चलचित्रबाट ठूलो पर्दामा आएका सुरवीरको अभिनय दर्जनौं कथानक चलचित्रमा हेर्न पाइन्छ। उनी पनि चलचित्र वा टेलिचलचित्रमा कारुणिक भूमिकामा अब्बल कलाकार हुन्। भन्छन्, “एकै खालको भूमिका गरेर आफैंले खेलेका फिल्म वा सिरियल हेर्दा अल्मलिन्छु।”
बूढानीलकण्ठका रैथाने सुरवीरको बाल्यकाल रामचन्द्रको भन्दा धेरै सुखी थियो। तर, आफ्नो पूरै जीवनकथा दुःखी रहेको उनको भनाइ छ। यो दुःखको कारण चाहिँ भलिभाँती काम लगाएर पारिश्रमिक दिने बेलामा गायब हुने निर्माताहरू भएको सुरवीरले बताए। भन्छन्, “निर्माताहरूले धेरै कलाकारलाई ठगेका छन्।”
उनको विचारमा कलाकारलाई सधैं एउटै भूमिकामा खुम्च्याउनु निर्देशकहरूको अयोग्यता हो। मेरी वास्सै, तीतोसत्य जस्ता सिरियलले आफू हैरान टाइपको भूमिकाको लागि मात्र योग्य नभएको प्रमाणित गरेको बताउँछन् सुरवीर। पर्दा बाहेक रेडियो नाटक उनको अर्को पहिचान हो।
७२ वर्षको बुढ्यौलीमा पनि अभिनय कर्ममा दत्तचित्त अर्का दुखिया कलाकार हुन् विष्णुभक्त फुँयाल। २०१९ सालमा कर्मया भोग नामक नेवारी नाटकबाट रङ्गमञ्चमा आएका विष्णुभक्त यसकारण दुखिया हुन् कि उनी पनि रामचन्द्र, सुरवीर जस्तै लगातार पीडित पात्रको अभिनयमा छन्। ५०० भन्दा बढी नाटक खेलेका उनको डायरीमा काचको पर्दाका २००, टेलिचलचित्र र ५० भन्दा बढी कथानक अभिनय गरेको टिपोट छ।
पछिल्लो समयमा तीतोसत्य सिरियलमा भने उनी भिन्न भूमिकामा छन्। उनलाई फरक भूमिकामा अभिनय गराउने निर्देशक दीपकराज गिरी मात्र भएका छन्। विष्णुभक्तले यसलाई कोदाली खन्न जान्नेले बिँड कसरी समाउने, कसरी खन्ने भनेर जानेको रूपमा अर्थ्याए। चलचित्रका पर्दामा निर्वाह गरेका भूमिका जस्तै विष्णुभक्तको जीवनका पानाहरू पनि कारुणिक छन्।
भक्तपुरको वागेश्वरीमा जन्मेका उनी बुबाआमासँग बाल्यकालमै काठमाडौंको महाँकाल सरेका थिए। अरूको खेत कमाएको धानले पुससम्म धान्दैनथ्यो। दामलेहरू पढ्नलाई दरवार हाईस्कूलतिर दौड्दा उनी भने चावहिलबाट डोकोमा ईंटा बोकेर लैनचौर, कमलपोखरी पुर्याउँथे। तर, जति मजदुरी गरेपनि खानै नपुग्ने भएपछि उनी कलकत्ता हानिए।
त्यहाँका होटलहरूमा काम गर्दा मासिक १५ कम्पनी तलब आउँथ्यो। यसरी तीन वर्ष काम गरेकोे तलब भने चोट्टाहरूले एकै खेपमा झवाम पारिदिए। त्यसपछि रुँदै देश फर्केका विष्णुभक्तले कलकत्ताको अनुभव सुनाएर काठमाडौंमा भर्खरै खुलेको रोयल होटलमा भाँडा माझने काम पाए। त्यसको केही समय पछि बेलायतकी महारानी एलिजाबेथ द्वितीय नेपाल आउने भएपछि होटलले वेटरको अभाव महसुस गर्यो जुन विष्णुभक्तका लागि बढुवाको अवसर बन्यो।
त्यसपछि अन्नपूर्णलगायतका होटलमा धेरै वर्ष कुक, हेड कुक भएर काम गरे उनले। होटलमा काम गर्दागर्दै साथीहरूसँग मिलेर नाटक मञ्चन शुरु गरेका विष्णुभक्तले त्यसयता नेपाली दर्शकले कहिल्यै नबिर्सने गरी लगातार दुःखी पात्रको अभिनयलाई निरन्तरता दिएका छन्। From: Himal Khabar
1 प्रतिकृया/हरु:
charchit banna yogya tara charcha ma na aayaka kalakar haruko jindagi ak purna kabya bhanda kamti rahenacha. Padhera dheri khusi lago.
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।