कास्की, चैत्र १ - दुई युवा आपसमा आरोप प्रत्यारोपसँगै घम्साघम्सी गर्ने सुरसार गर्छन् । वरिपरि भेला भएका मानिसहरू उनीहरूको भिडन्त निकै उत्सुकतापूर्वक हेरिरहेका हुन्छन् । त्यतिकैमा ठूलो आवाज आउँछ, 'कट... ।' यो थियो, सञ्चारकर्मी किरण अधिकारीको निर्माणमा बन्न लागेको सिनेमा 'भनिदेऊ न माया गर्छु' को दृश्य । रेडियो र टेलिभिजनमा चलचित्रसम्बन्धी रिपोर्टिङ गर्दै आएका अधिकारीले यसअघि 'आफ्नै मनलाई सोधी हेर' चलचित्र निर्माण गरिसकेका छन्, जसको अधिकांश छायाङकन पनि तालनगरीमै भएको थियो । 'भनिदेऊ न माया गर्छु,' को शनिबार छायाङकन भइरहँदा दर्शकहरू भिडन्त गर्ने नायक दिलीप रायमाझी र नवनायक प्रभाकरदेव श्रेष्ठको चर्तिकला देखेर दंग परेका थिए । सुटिङ हेरिरहेका एक जना बीचमै फुसफुसाए, 'हैन, युवतीका लागि युवाहरू बीच वास्तवमा यस्तै झगडा हुन्छ । रमेश पोखरेलको निर्देशन रहेको सिनेमा यतिबेला पोखराका रमणीय ठाउँमा धमाधम छायाङकन भइहरेको छ । 'पोखरा जस्तो ठाउँ सिनेमाका लागि अन्यत्र नभएकाले दोस्रो चलचित्रको छायाङ्कनका लागि पनि यही नगरीलाई रोज्यौं,' निर्देशक पोखरेलले भने, 'जति खिचे पनि यहाँको दृश्यले धितै नमर्ने रहेछ ।' उनका अनुसार यो सिनेमामा प्रेमको विगत वर्तमान र भविष्यको भोगाइलाई देखाउन खोजिएको छ । मुख्य नायिका नन्दिता केसी छिन् भने दुई नायक उनकै वरिपरि हुने छन् । सिनेमा त्रिकोणात्मक प्रेम कथामा बुनिएको छ । पहिलो पटक वकिलको भूमिकामा प्रस्तुत भएका चल्तीका नायक दिलीप पृथक भूमिकामा प्रस्तुत हुन पाएकोमा दंग देखिन्थे । 'केही फरक भूमिका छ,' उनले भने, 'यस चलचित्रबाट केही आशावादी देखिएको छु ।' निखिल उप्रेती, सुरज आरडी र लता योञ्जनले पनि अभिनय गरेका छन् । जेबी घिसिङको प्रस्तुति रहेको चलचित्रमा संगीत अर्जुन पोखरेल, द्वन्द्व शंकर महर्जनको छ। From: Kantipur Online
0 प्रतिकृया/हरु:
Post a Comment
कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।