शरणार्थी सेरोफेरो

पुनर्वासका कारण शरणार्थी विद्यार्थीको संख्या घट्दै गएपछि शरणार्थी शिविरहरुमा भएकामध्ये थप १२ वटा विद्यालय घटाइने भएको छ । शरणार्थीहरुको प्रतिनिधिहरु र शरणार्थीको शैक्षिक सहायतामा कृयाशिल संस्था कारितासका अधिकारीहरुबीच आज भएको बैठकले यस्तो निर्णय गरेको कारितासका शैक्षिक कार्यक्रम संयोजक लोकनाथ पोखरेलले जानकारी गराउनु भयो । पुनर्वास शुरु हुनुअघि सन् २००८ को शुरु सम्ममा शरणार्थी शिविरहरुमा ४७ वटा विद्यालय थिए । सन २००९ मा दशवटा विद्यालय घटाइएको थियो । अहिले शरणार्थी शिविरहरुमा आठ माध्यमिक सहित ३७ वटा विद्यालय छन् । शरणार्थीको तेश्रो देश पुनर्वास कार्यक्रम शुरु हुनुअघि पच्चीस हजार दुइ सय रहेको शरणार्थी विद्यार्थीको संख्या अहिले २२ हजारमा झरेको छ ।

अमेरिकाको कोलोराडो राज्यको औरोरामा पुनर्वास भएका भुटानी शरणार्थी तुलसी निरौला हराएको ४ दिनपछि सकुशल भेटिनु भएको छ । गएको सोमबार हराउनु भएका निरौला हिजो साँझ भेटिनु भएको हो । ४२ वर्षीय निरौला ६ महिनाअघि पुनरवास भएर अमेरिका पुग्नु भएको थियो । उहाँ कुन शरणार्थी शिविरबाट जानुभएको थियो भन्ने चाहिँ खुलेको छैन । बोल्न र सुन्न नसक्ने भएकाले उहाँलाई खोज्न समस्या परेको डेनभर पोष्टले जनाएको छ ।

पछिल्लोपटक भएको गणनाका वेला शरणार्थी शिविरमा नभएर छुटेका शरणार्थीले आफूहरुलाई पुनर्वास प्रकृयामा सामेल नगराइएकोमा आपत्ती जनाएका छन् । पछिल्लोपटक सन २००६ मा शरणार्थीको गणना भएको थियो । नेपाल सरकारको शरणार्थी शरणार्थी समन्वय इकाइलेे शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोगको सहयोगमा शरणार्थी गणना गरेको थियो । गणना गर्नुअघि शरणार्थी शिविरका विभिन्न ठाउँमा सूचना टाँसेर तथा शरणाार्थी शिविर व्यवस्थापन समिति र हरेक सेक्टर हेड मार्फत छुटेका शरणार्थीलाई खवर गरिएको थियो । गणना हुँदा काम तथा पढाइका लागि शिवर बाहिर पुगेका कारण छुटेका शरणार्थीको परिवारका दर्ता भएका अरु सदस्यको पुनर्वास प्रकृयामा भने कुनै वाधा परेको छैन । तर एउटै परिवासका सदस्यहरु मध्ये कोही पुनरवास हुने र कोही नहुने भएको हुँदा परिवार विभाजन भएर आफूहरुलाई मर्का परेको त्यस्ता शरणार्थीको गुनासो छ । टिमाइ शरणार्थी शिविर, सेक्टर वि ३ छाप्रो नं. ५७ की वेदमाया ढुंगेलले भन्नु भयो - “परिवारको सवैजना अमेरिका गइसक्नु भयो । मेरो र मेरो श्रीमानको मेरा सासु ससुरासँग फाइल जोडिएको छ । तैंले गर्दा मेरो छोरो छुट्यो, छिटो आउनु पर्यो भनेर उहाँबाट दवाव दिइ रहनु भएको छ भने अरकोतिर तैंले गर्दा मैले जान पाइनँ भनेर श्रीमानको गनगन छ । मेरो प्रोसेस किन भएन त भनेर सोधपुछ गर्न जाँदा तिम्रो फोटो नखिचिएकोले हो भन्नुहुन्छ ।”
शरणार्थी नेपाल भित्रिएको १५ वर्षपछि भएको गणनामा छुटेकाहरुलाई सन् २००८ मा फोटो खिचाइएको थियो । शरणार्थी शिविरबाहिर गएकाहरुमध्ये सातै शिविरहरुका लगभग साढे पाँचसय शरणार्थी गणना तथा फोटो खिच्ने वेलामा छुटेका थिए । शरणार्थीहरु शिविर भित्रबाहिर आउजाउ गर्दा स्थानीय प्रशासनलाई जानकारी दिनु पर्ने नियम भए पनि शरणार्थी शिविरका भुटानीहरु लामो समयसम्म शिविरबाहिरै बस्दै आएकोले यस्तो समस्या आएको हो ।

हरेक शरणार्थी शिविरमा रहेका युवा मैत्री केन्द्रका नवनिर्वाचित पदाधिकारीहरु र शिविरस्थित अन्य संस्थाका प्रतिनिधिहरु विचको परिचयात्मक अन्तरकृयाको क्रम अन्तीम चरणमा पुगेको छ । वेलडाँगी ३ को नवनिर्वाचित कार्यसमितिले आउँदो सोमबार कार्यक्रम गरेपछि परिचयात्मक कार्यक्रम सकिनेछ । यस्ता अन्तरकृयामा शरणार्थी शिविरमा देखिने समस्या र तिनको समाधानमा युवा मैत्री केन्द्रको भुमिकाका बारेमा छलफल हुन्छ । गएको जनवरीमा सातवटै शरणार्थी शिविरमा १८-१८ सदस्यीय कार्यसमितिको निर्वाचन भएको थियो । शरणार्थीको शैक्षिक सहायता संस्था कारितासले शरणार्थी युवालाई लक्षित गरि रचनात्मक कृयाकलाप गर्दै आएको छ ।

भुटानमा यो वर्ष थप एक हजार सातसय १० मेद्दावाट विजुली निकालिने भएको छ । नौसय ९० मेगावाट क्षमताको पुनासाङ्चु दोश्रो हाइड्रोपावर र सातसय २० मेगावट क्षमताको माङदेछु हाइड्रोपावर बनाउने योजना रहेको क्यून्सेलले जनाएको छ । एक हजार दुइसय मेगावाट क्षमताको पुनासाङ्चु पहिलो बनाउने काम भइरहको छ । आउँदो दश बर्षमा भुटानले भारतलाइ १० हजार मेगावाट विजुली दिने सहमति अनुसार थप दुइवटा परियोजना बनाउन लागिएको हो । नयाँ परियोजनाका लागि आवश्यक सात हजार कर्मचारी मध्ये ४० प्रतिशत भुटानी र बाँकी विदेशी कामदार लिइने योजना छ । From: TitoPiroMitho

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।