मन जिते महले

काठमाडौ, फाल्गुन १७ -
नायक राजेश हमाललगायत राष्ट्रिय कलाकार र व्यक्तित्वहरूको झलक पाउन चर्को घाम झेल्दै सहिद रंगशालामा दशौं हजार जुटेका थिए । राजेश हिंसा अन्त्य कार्यक्रममार्फत विराटनगरका फ्यानमाझ पहिलोपटक प्रस्तुत हुँदै थिए । 'हिंसा अन्त्य' अंकित सेतो टिसर्ट, जिन्स र गगल्समा सजिएका उनले दर्शकतिर घरि-घरि हात उचाल्दा मात्रै पनि सामूहिक स्वरमा स्वागत पाइरहेका थिए ।
अमृत गुरुङ र आनी छोइङ डोल्माको प्रस्तुतिपछि हिंसा अन्त्य अभियानमा सहभागी हुन युवालाई आह्वान गर्ने क्रममा राजेशका ओजपूर्ण शब्दमा अत्यधिक हुटिङ भइरहेको थियो । नेपाल र नेपाली भएर शान्तिपूर्वक बाँच्न हिंसा अन्त्य जरुरी रहेकोमा उनले जोड दिए ।
उनीपछि पालो आयो मह प्रहसनको । 'हरिबहादुर विराटनगर किन आएको ?' भन्ने 'मदनबहादुर' को प्रश्नमा 'हरिबहादुर' ले 'विराटनगर जुट मिल बन्द भएको र त्यसमा नयाँ उद्योग खोल्न लागेको' बताए ।
यो सुनेर मदनकृष्ण श्रेष्ठको मुहार चम्कियो । असुरक्षा, लोडसेडिङ, हडताल र चक्काजामले उद्योगहरू धमाधम बन्द भइरहेका बेला नयाँ उद्योग खोल्ने कुरा सुखद भएको भन्दै उनले सोधे, 'केको उद्योग खोल्न लागेको नि ?'
'तिमीलाई थाहा छैन, नेपालमा सबै नेपालीहरू विदेशी हतियार चलाउँछन्, विदेशमा बनेको गोली खाएर मर्छन् ? त्यसैले नेपालीहरू अब आफ्नै देशमा बनेको बन्दुक र गोली खाएर आनन्दले मरुन् भनेर हतियारको कारखाना खोल्न लागेको नि ।'
हरिवंश आचार्यका कुराले मदनकृष्ण झस्किन्छन् । हिंसा अन्त्य गर्नुपर्नेमा झन् हतियार कारखाना खोल्ने कुराले खुसी पार्ने पनि भएन । उनले सोधे, 'त्यही हतियारले तिम्रा छोराछोरी र आमा-बुवालाई अरूले मार्‍यो भने नि ?'
आफैंले बेचेको हतियारले आफ्नै छोराछोरी र आमा-बुवा मारिने कुराले 'हरिबहादुर' दुःखी बन्छन् र हिंसा गर्नु हँुदैन भन्ने सन्देश फैलाउने अभियानमा सहभागी हुन्छन् । बीच-बीचमा 'त्यसो गरे कसो होला ?' र 'के भन्नु र खै ?' थेगोबाट पनि महले दर्शकलाई खुबै हँसाए । हुटिङका कारण राजेशले प्रस्तुति दोहोर्‍याउनुपर्‍यो । उनले एउटा राष्ट्रिय गीतमा आफूसँग स्टेजमा नाच्न आह्वान गर्दा हजारौं हात उठे । उनले एउटी युवतीलाई बोलाए । भीड छिचोल्दै स्टेजमा उक्लेकी मोरङ बयरवनकी विन्दु राईलाई उनले सोधे, 'तपाईं मसँग नाच्नुहुन्छ ?'
महानायकको अफरले सुरुमा विन्दुको बोली नै फुटेन । पछि उनले कम्पित स्वरमा स्वीकारोक्ति जनाइन् । 'गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली...' बज्न थाल्यो र दुवै कम्मर मर्काउन
थाले । यसले स्कुले पोसाकमा रहेका एक हूल युवतीहरूलाई जबरजस्ती स्टेजमा चढ्न प्रेरित
गर्‍यो । तिनले स्वयंसेवकहरूले ओराल्नुपरेको थियो ।
विन्दु खासमा हरिवंशलाई भेट्ने धोको बोकेर आएकी रहिछन् । पछि त्यो धोको पनि पूरा भयो । 'कार्यक्रम अवधिभर के भयो पत्तै भएन,' उनले गदगद हुँदै सुनाइन् ।
बीचबीचमा राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतम, विश्लेषक सीके लाल, अधिकारकर्मी सुशील प्याकुरेल, उक्त अभियानका अभियन्ता/ पत्रकार कनकमणि दीक्षित, उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले हिंसाले ल्याएको उपलब्धि दिगो र सुखद नहुनेप्रति सचेत गराएका थिए । (From: Kantipur Online)

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।