जेलले छेक्न नसकेको प्रेम

केपी ढुंगाना- हत्याको अभियोगमा बन्दी रहेका अधवैँशे र भर्खर किशोरअवस्था पार गरेकी केटीको प्रेमकथा।

हत्याको अभियोगमा काठमाडौँको केन्द्रीय कारागार बन्दी जीवन बिताइरहेका ६४ वर्षका प्रौढ अनि भर्खर १२ कक्षा पास गरेर नौलो गोरेटो कोर्दै गरेकी २० वर्षीया युवतीबीच प्रेम वास्तविक जीवनमा हुनसक्छ?

सहज उत्तर- अहँ, हुन्न। केवल चलचित्रमा देखाउन मात्र सम्भव हो।

जब, केन्द्रीय कारागारमा बन्दी रहेका विश्वमाझ बिकिनी किलरको उपनामले चर्चित चार्ल्स शोभराज र २० वर्षीया निहिता विश्वासबीचको प्रेम सम्बन्ध छताछुल्ल भयो, सबै एक पटक जिब्रो टोकेर सोच्न बाध्य भए -के साँच्चिकै यो सम्भव छ र?

२०६५ असारबाट गत वर्षको अन्त्यसम्म सञ्चारमाध्यमहरुमा चर्चाको प्रमुख विषय बनिरह्यो- यी दुबैको अकल्पनीय प्रेम। यी दुबैबीच वास्तविक प्रेम हो कि केवल सस्तो लोकप्रियताका लागि चलेको हल्ला मात्र हो भन्ने विचारविमर्शकै बीच निहिताका परिवारले दशैँमा कारागारभित्रै यी दुबैको विवाह भएको दावी गरेर दुबैबीचको प्रेम देखावटी हैन साँच्चिकै हो भन्ने पुष्टि गर्ने प्रयास गरे।

कागारभित्र रहेका चार्ल्स अनि स्वतन्त्र रहेकी निहिताबीचको वैवाहिक जीवन कस्तो चलिरहेको छ अज्ञात छ अहिले।

चार्ल्स शोभराजको जन्मकैद विरुद्धको अपिलका सम्बन्धमा फ्रान्सकी वकिल इसाबेल कौतां-पेरे काठमाडौं आउनलाग्दा शोभराज उनको गाइड र दोभाषेको रुपमा काम गर्ने तीक्ष्ण बुद्धि र भरपर्दो व्यक्तिको खोजीमा थिए। निहिताले यो कुरा चाल पाएर निहिता १२ कक्षाको परीक्षा सकाएर चार्ल्सका लागि दोभाषे काम गर्न केन्द्रीय कारागार पुगेकी थिइन्। विद्यालय पोशाकमै चार्ल्सलाई भेट्न पुगेकी निहिता जुन कामका लागि जेल पुगेकी थिइन्, त्यो काम गर्न पाइनन् जसका लागि चार्ल्सले दोभाषेको खोजी गरेका थिए उनी स्वदेश फर्किसकेकी थिइन। निहितालाई चार्ल्सले आफ्नो सहयोगीको काम दिए। शोभराजले आफ्ना लागि चाहिने सामानको लिष्ट बनाउँथे, उनी त्यही अनुसार सामान किनेर जेलमा पुर्‍याउँथिन्। भेटघाट बाक्लिँदै गयो। सामिप्य बढ्दै गयो। कुन बेला दुबैबीचको सम्बन्ध प्रेममा परिर्वतन भइसकेको थियो निहिताले पनि चालै पाइनन् रे।

दुबैबीचको प्रेम सम्बन्ध कारागारका पर्खाल बाधक बनिरहेका थिए। दुबैले जेलको पर्वाह नगरी भेटघाटका क्रममा जब प्रेमालाप गर्न थाले, दुबैबीचको सम्बन्ध सार्वजनिक भयो गत असारमा। त्यसपछि केही समय निहिता गुमनाम बने। २१ असारमा उनी सार्वजनिक मात्र भइनन्, चार्ल्ससँगको आफ्नो सम्बन्ध सार्वजनिक रुपमा स्वीकार गर्दै चार्ल्सले दिएको प्रेमको चिनो औँठीसमेत सार्वजनिक गरिन्।

लगत्तै उनी र चार्ल्सबीचको सम्बन्धले राष्ट्रिय सिमा नाघ्यो र अन्तर्राष्ट्रिय रुपमा समेत दुबैको सम्बन्धको बारेमा टिकाटिप्पणी भए। आखिर यी दुबैबीचको सम्बन्ध हो चैँ के? बिकिनी किलरको रुपमा अन्तराष्ट्रिय कुख्याति कमाएका एक खुंखार अपराधीसँग कसरी प्रेम गर्न पुगिन निहिता? धेरै धेरै अनुमानहरु थिए र अझै छ।

भारत हुँदै नेपाल आएका शोभराज पाँच वर्षअगाडि पक्राउ परेका थिए। उनीमाथि अमेरिकी नागरिक क्रोनिजो ब्रोनिचको हत्या र नेदरल्याण्डका हेनरिकस विन्ताजाको राहदानी लिएर २०३२ मा नेपाल छिरेको अभियोग छ। तीन वर्ष अगाडि उनको मुद्धाको फैसलामा काठमाडौं जिल्ला अदालतले सर्वस्वहरणका साथ जन्मकैदको फैसला सुनाएपछि केन्द्रीय कागारमा कैद रहेका उनले सर्वोच्च अदालतमा हालेको अपिलको सुनुवाई जारी छ।

शोभराजको अपिलको पक्षमा सर्वोच्च अदालतबाट फैसला भएपछि शोभराजको राष्ट्र फ्रान्स फर्किएर वैवाहिक जीवन बिताउने सपना बुनेर बसेकी निहिताको सपना पूरा हुने हो या हैन? सस्पेन्स अझै कायम छ। From: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।