राजेश र मनीषाको रोमान्स

सन्तोष पोखरेल,पोखरा, माघ २८- झरीले ह्वात्तै बढेको चिसो, अनि आधा खुलेको हिमाल। चसोचिसो सिरेटोसँगै लागेको चहकिलो घाममा रमाउँदै थिइन्, हिरोइन मनीषा कोइराला। कोइरालासँगै कम्मर मर्काउँदै थिए हिरो राजेश हमाल। चिसो भए पनि मनीषालाई पोखराको आकर्षक दृश्यले लोभ्याएको थियो।

'आज त साह्रै राम्रो दिन परेछ, पोखरा 'ब्युटिफुल' देखिएको छ,' कोइराला भन्दै थिइन्। पोखरास्थित फुलबारी होटल परिसरमा बुधबार नेपाली फिल्म 'धर्मा'को गीतको सुटिङ हुँदैथियो। 'चोरियो, चोरियो आँखैको सामु यो मेरो मन चोरियो' बोलको गीतमा हमाल र कोइराला नाच्दै थिए।

दीपेन्द्र के खनालले निर्देशन गरिरहेको 'धर्मा'मा हमाल र कोइराला पतिपत्नीको भूमिकामा रहेका छन्। 'विवाहित जोडीको मायाप्रीतिको गीत हो,' निर्देशक खनालले भने, 'सुखद जोडीको रोमान्टिक गीत सुटिङ गर्दैछौ।'

फिल्ममा राजेश र मनीषासँगै निखिल उप्रेती, संयोग पोखरेल र अनु शाहले पनि अभिनय गरेका छन्। राजेश र मनीषाले पुरानो पुस्ताको रूपमा अभिनय गरेका छन् भने संयोग र अनु नयाँ पुस्ताको रूपमा छन्। 'फिल्ममार्फत् पुरानोले नयाँ पुस्तालाई स्थापित गराउन खोजेको सन्देश दिन खोजिएको छ,' निर्देशक खनालले भने, 'दुईवटा पुस्ताबीचको नलेज ट्रान्सफर देखाउन खोजिएको छ।' फिल्ममा राजेशको भाइको रूपमा संयोग तथा मनीषाको बहिनीको रूपमा अनु रहेका छन्।

रक्तचन्दन र वन्यजन्तु तस्करीको प्रसंगबाट सुरु हुने फिल्म भ्रष्टाचारमा पुगेर टुंगिन्छ। तस्करी र भ्रष्टाचारको पीडामा सोझो मान्छे पर्छ र ऊ बाध्य भएर विद्रोहमा उत्रन्छ। धेरै खराब मान्छेबीच पनि कुनै न कुनै असल मान्छे हुन्छ, त्यही मान्छे बाध्य भएर विद्रोहमा निस्कनने कथालाई फिल्ममा समेटिएको खनालले बताए।

'भ्रष्टाचार, जालझेल लगायतका कथालाई फिल्ममा समेटिएको छ,' फिल्मकी निर्माता दुर्गा पोखरेलले भनिन्, 'सरकारले उठाउनुपर्ने आवाज हामीले उठाइरहेका छौं। मनीषाको 'लोकप्रियता'लाई आफूले सम्मान गर्न खोजेको निर्माता पोखरेलले बताइन्।

फिल्मको पूरै भूमिकामा मनीषा र राजेशलाई अभिनय गराउन खोजे पनि मनीषाको व्यस्तताले सम्भव नभएको निर्देशक खनालले बताए। वनअधिकृतकी पत्नीको रूपमा अभिनय गरेकी मनीषाले छोटै भए पनि भ्रष्टाचार जस्तो सशक्त विषयमा काम गर्न पाएकोमा खुसी लागेको बताइन्।
'नेपाली र हिन्दी फिल्ममा अभिनय गर्दा केही फरक लाग्दैन,' मनीषाले भनिन्। उनले अभिनय गरेको यो दोस्रो नेपाली फिल्म हो। यसअघि 'फेरि भेटौंला' फिल्ममा अभियन गरेकी थिइन्। मनीषाजस्तो कलाकारसँग अभिनय गर्न पाउँदा राजेश हमाल पनि खुशी छन्। 'मनीषाजी एकदम राम्रो कलाकार हो, उहाँसँग अभिनय गर्न पाउँदा खुशी लागेको छ,' फिल्ममा वन अधिकृतको भूमिकामा रहेका हमालले भने, 'यसमा हामी दुवैको सशक्त भूमिका छ।'
आशमा फिल्म प्रोडक्सनको दोस्रो फिल्म 'धर्मा'मा युगेश रायमाझी लेखन, रेनिशा राईको नृत्यनिर्देशन, राजुविक्रम थापाको छायांकन र हरि लम्सालको संगीत छ। निर्देशक खनालले यसअघि 'द युगदेखि युगसम्म' बनाएका थिए। यसअघि फिल्मको ७० प्रतिशत सुटिङ काठमाडौंमा भइसकेको छ भने बाँकी दृश्य चितवन र रसुवामा खिचिनेछ। From: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।