दर्जन अभियोग राजेश हमाललाई


image

नयाँ पत्रिका को स्तम्भ 'इजलास’ मा यहाँहरूलाई स्वागत छ । यसपटक इजलासमा खडा छन्, नेपाली रजतपटका चर्चित अभिनेता राजेश हमाल । उनीमाथि विभिन्न कोणबाट लगाइने दर्जन अभियोग र त्यसमा उनको सफाइ यहाँ पेस छ । र, न्यायाधीशका हैसियतले चर्चित रंगकर्मी सुनील पोखरेलको फैसला पनि पाठकले पढ्न सक्नुहुन्छ ।

अभियोग नं. १

तपाइं घमण्डी कलाकार हुनुहुन्छ ।

तपाईंले लगाउनुभएको यो अभियोग सही हो जस्तो लागेन । मप्रति तपाईंको यो मूल्यांकन सही कसरी भन्नु ? म नरम छु भन्ने देखाउन मेरा आँखाले देखेजति, भेटेजति सबैसँग दोस्ती गर्न सक्दिनँ । केही दर्शक, सहकर्मीसँग मेरो सम्पर्क राम्रै छ । अरूसँग सम्बन्ध र सम्पर्क बढाउनु मेरो रुचिको विषय पनि हो । छायांकनस्थलमा पनि म सबैसँग बोल्छु, हाँस्छु । मलाई चलचित्रको पर्दामा मात्रै देखेको भरमा टाढै बसेर मूल्यांकन गर्नेहरू धेरै छन् । तर, धेरैसँग सम्बन्ध बढाउनु, जुनैबेला गफगाफ गर्नु मेरो रुचिको विषय होइन । एक हदसम्म म एकान्तप्रेमी पनि छु ।

अभियोग नं. २

चलचित्रमा तपाईंको संवाद फितलो हुन्छ । कति सन्दर्भमा तपाईंले बोलेको संवाद दर्शकले बुझ्नै सक्दैनन् ।

मलाई मेरो संवाद साह्रै फितलो हुन्छ भन्ने लाग्दैन । यत्रो समय फिल्ममा अभिनय गरियो त्यस्तो प्रतिक्रिया अहिलेसम्म पाएको छैन । दर्शकबाट पनि मैले त्यस्तो सुनेको छैन । पारखी र दर्शकमा फरक हुन्छ । दर्शकले जे रुचाएको हो त्यही मात्र हेर्न पाए हुन्थ्यो भन्ने चाहन्छन् । मेरो संवाद र शैली दर्शकले रुचाएकै छन् जस्तो लाग्छ । हाम्रा फिल्मको कथावस्तु लगभग सधैँ उस्तै हुन्छन् । पारखीले भने अरू फिल्मभन्दा फरक संवाद किन भएन भन्ने सोच्छन् । अपेक्षाअनुसार नभए खल्लो लाग्नसक्छ । धेरै फिल्ममा संवाद उस्तै हुन सक्छन्, कहीँ-कतै दोहोरिएको पनि हुनसक्छ । मैले त सधैँ भिन्न 'रोल' खेल्ने रहर गरेको हुन्छु । तर, दर्शकले मलाई नायक मात्र देखेर संवादको मूल्यांकन गरेका हुन्छन् । म संवादमा पनि चुनौती चाहन्छु । फिल्ममा चुनौती र कलाकारको इच्छा मात्र होइन, व्यवसायको सफलता पनि हेरिन्छ । मेरा संवाद कसैलाई फितलो लाग्नुमा व्यावसायिक आँखाले हेरिनु पनि हुनसक्छ । चलचित्रमा राम्रा संवाद, कला र संस्कृतिजस्ता कुरामा मात्र ध्यान दिइन्न, मुनाफामा पनि ध्यान दिइन्छ ।


अभियोग नं. ३

तपाईंको नाच्ने ढंग पनि छैन ।

नाच्ने त सबैको आफ्नै ढंग हुन्छ । आफ्नै शैली हुन्छ । मजस्तो अरू नायक नाच्न सक्दैनन् । अरू नायकको जस्तो म नाच्न सक्दिनँ । नाच त चलचित्रको प्रस्तुति र कथावस्तुमा भर पर्छ । नाचमा नयाँ शैली भन्ने हुन्न । जहाँसम्म म नाच्नै जान्दिनँ भन्ने छ म त्यो मान्न तयार छैन । यसो भन्दैमा म नृत्यको पारखी भने होइन । नाच्न त सुटिङमा पनि 'प्राक्टिस' हुन्छ । पहिले नायक बन्नका लागि नृत्य जान्नुपथ्र्यो । यदि, मैले नाच्न जानेकै थिइनँ भने म कसरी नायक बन्थेँ ? तर, अहिले संवाद, एक्सन, सबै कुरा नायकमा हुनु जरुरी छ । नृत्य र अन्य पक्षले कलाकारिता र सफलतालाई अँगालेको हुन्छ । मैले चलचित्रको नृत्य विधालाई न्याय नै गरेको छु जस्तो लाग्छ । यद्यपि, म नृत्यको पारखी हुँदै होइन । नाच्ने मेरो आफ्नै 'स्टाइल' छ जस्तो लाग्छ ।

अभियोग नं. ४

तपाईंलाई अरूले बौद्धिक भनेजस्तै चलचित्रको पर्दाबाहिरको जीवनमा पनि बौद्धिक नै देखिन खोज्नुहुन्छ । तर, अरूले भनेजस्तो बौद्धिकता भने देखिँदैन ।

म चलचित्रको पर्दामा अभिनय गर्ने कलाकार हुँ । मेरा लागि चलचित्रको ज्ञान नै बौद्धिकता हो । मैले चलचित्रकै बारे जान्नुपर्‍यो । चलचित्रकै अध्ययन गर्नुपर्‍यो । मेरो पहुँच दर्शकमा कति छ भन्ने अर्थमा बौद्धिकता नापिँदोरहेछ । फेरि 'म बौद्धिक छु है' भनेर देखाउनुपर्ने आवश्यक पनि छैन । बौद्धिकता प्रदर्शन गर्दै हिँड्ने कुरा पनि होइन । आफूसँग भएको बौद्धिकता, आफूले जानेको ज्ञानको कुरा अवस्था हेरेर समय र ठाउँअनुसार अवश्य पनि प्रदर्शन गरिन्छ । 'म बौद्धिक छु है' भनेर धुरिमाथिबाट चिच्याउनुपर्ने जरुरी पनि छैन । मेरो बौद्धिकता कलाकारितामा पोखिन्छ । त्यो बाहिर देखिनैपर्छ भन्ने कुरा महत्त्वपूर्ण होइन । कलाकारसँग अन्य खुबी छ भने ऊ योग्य भयो ।

अभियोग नं. ५

तपाईंमा सामान्य राजनीतिक चेतना पनि छैन । देशमा ठुल्ठूला संकट पर्दा पनि बोल्ने/सक्रिय हुने गर्नुहुन्न ।

यदि, कुनै देशको राजनीति सुचारु ढंगले चलिरहेको छ भने, आफ्नै गतिमा छ भने राजनीति गर्नेहरूबाहेक गैरराजनीतिक मान्छे कसैले पनि राजनीतिमा चासो राख्नु जरुरी छैन । कलाकारले कलाक्षेत्रलाई कसरी राम्रो दिशातर्फ लैजाने भन्ने पो सोच्ने हो, किन राजनीतिमा चासो राख्नुपर्‍यो ? सबैको आफ्नै जिज्ञासा छ, मेरो राजनीतिमा किन झुकाब भएन भन्ने ? राजनीतिको कुनै एउटा पार्टीको पक्ष लिएर म सक्रिय हुन चाहन्नँ । दर्शकले राजनीतिमा सक्रिय होस् भनेर अपेक्षा राख्नु पनि ठीकै हो । अरू क्षेत्रमा हस्तक्षेप गर्न पनि म चाहन्नँ । कसैको टीका-टिप्पणी पनि म गर्दिनँ । यसै कारण मलाई राजनीतिक चेतना नभएको भनिएको होला । तर, त्यति साह्रो भनिहाल्नु पनि हुन्न । यत्रो वर्ष फिल्म खेलियो, राजनीतिक चेतना त हुन्छ नै । हामीले त राजनीतिकर्मीलाई सही मार्गनिर्देश मात्र गर्ने हो । राजनीति गर्ने त उनीहरूले हो । मैले भनेर, मै सक्रिय भएर, देश यता लैजाऊ भनेर त्यहीअनुसार हुने त होइन । मैले कुनै कुरा बोलेर कसैले सुन्नेवाला पनि छैन ।

अभियोग नं. ६

तपाइं कलाकारहरूबीच समझदारीपूर्ण व्यवहार गर्नुहुन्न । छिट्टै रिसाउनुहुन्छ ।

तपाइं मेरो बारेमा अध्ययन गरेर मात्रै यो प्रश्न सोध्दै हुनुहुन्छ कि हावामा त्यो थाहा भएन । तर, मेरो कलायात्राको दुई दशकमा पनि मैले यस्तो आरोप खेपेको थिइनँ । म छिट्टै रिसाउँछु भन्नेकुरा म स्वीकार्दिनँ । म कलाकारहरूबीच समझदारीपूर्ण व्यवहार गर्दिनँ, छिट्टै रिसाउँछु भन्ने पहिलोचोटि तपाईंबाट सुनेँ । अरूबाट त्यस्तो सुनेको छैन । त्यसैले विश्वास गर्दिनँ । चलचित्र त 'टिमवर्क' हो । सबै मिलेर काम नगरे त्यो फत्ते गर्नै हम्मे-हम्मे पर्छ । अरूसँग रिसाउने, समझदारीपूर्ण व्यवहार नगर्ने भए म यति हदसम्म अघि आउने थिइनँ, होला सायद । म रिसाउँछु, समझदारीपूर्ण व्यवहार गर्छु कि गर्दिनँ भन्नेबारे मभन्दा पहिलेका कलाकार, पछिल्ला मसँग काम गरेका कलाकार र प्राविधिकलाई सोध्दा थाहा लाग्छ ।

अभियोग नं. ७

तपाईं राम्रा र स्तरीय फिल्म खेल्नुभन्दा पनि कसरी धेरै पैसा कमाउने भन्नेमा मात्रै चिन्ता गर्नुहुन्छ ।

फिल्म कुनै एकजनाले चाहेर मात्र राम्रो बन्दैन । त्यो त सबैको इच्छाको कुरा हो । फिल्म राम्रो बन्न कलाकार, कथा, शैली, प्राविधिक सबै कुराको राम्रो र स्तरीय मिश्रण हुनु जरुरी छ । म एकजनाले चाहँदैमा नेपालको चलचित्र माथि उकासिने पनि होइन । मेरै कारणले नेपालको चलचित्र क्षेत्र तलतिर भासिने पनि होइन । मैले खेलेका चलचित्र राम्रा र स्तरीय छैनन् भन्नेमा पनि म सहमत छैन । कुनै चलचित्र राम्रा नहुन पनि सक्छन् । जहाँसम्म म पैसाका लागि मात्रै फिल्म खेल्छु भन्ने कुरा छ, त्यो पनि म मान्दिनँ । मेरो पेसा नै चलचित्र खेल्ने भएपछि पैसा त म लिइहाल्छु । पैसाका लागि मात्र चाहिँ फिल्म खेलिन्न । फिल्म त मनको भित्री इच्छाले पो खेल्ने हो । त्यसमा आफ्नो झुकाब नभई कसरी खेलिन्छ र फिल्म ? पैसा त खेलेर पाइने 'प्रोडक्ट' मात्र हो । मैले पैसाका लागि भन्दा पनि लगाव र झुकावले फिल्म अभिनय गरेको हुँ । तर, तपाईंले भनेजस्तो स्तरीय सिनेमा कोही एकजनाले मात्र चाहेको भरमा बन्न सक्दैन ।

अभियोग नं. ८

तपाईंको अभिनय-शैली एकोहोरो छ । नयाँ फिल्ममा नयाँ शैली दिनै सक्नुहुन्न ।

मैले अभिनय गरेजति सबै सिनेमामा फरक शैली दिने, नयाँ प्रयोग पेस गर्ने भन्ने मात्रै हुन्न । चलचित्र त व्यवसाय हो । आफूले कस्तो अभिनय गर्दा 'सेफ' भइन्छ त्यस्तै गर्ने हो । दर्शकले जे रुचाएका छन्, त्यस्तै सामग्री पस्किने मेरो प्रयास हुन्छ । सबैमा नयाँपन दिन कसरी सक्नु, त्यो त प्रयोग मात्रै बन्छ । आफूले गरिआएकै चिज गर्ने हो । अभिनयको पनि आफ्नै लय र शैली हुन्छ । त्यो शैली परिर्वतन गरिहाल्दा आफू 'फ्लप' हुने डर पनि हुन्छ । मेरो अभिनय-शैली कहीँ-कहीँ एकोहोरो देखिनसक्छ । तर, मैले आफूलाई फरक देखाउने प्रयत्न त गरिरहेकै हुन्छु । शैली त प्रयोग गरेर पस्किने हो । त्यो नयाँ भन्ने हुँदैन । बेग्लै धारमा र बेग्लै शैली प्रयोग गरेर चलचित्र बनायो भने मात्र पनि चल्दैन र दर्शकले त्यसलाई रुचाउँदैनन् ।

अभियोग नं. ९

विवाहका बारेमा तपाईं नकारात्मक चिन्तन राख्नुहुन्छ, त्यसैले तपाइं विवाह गर्न डराइरहनुभएको छ । नारीबिना नै जिन्दगी चल्छ भन्ने सोच राख्नुहुन्छ ।

विवाहका बारेमा मेरो चिन्तन सकारात्मक छ । विवाहविना संसार चल्दैन नै । तर, यसमा मेरो व्यक्तिगत धारणा छ । सबैको धारणा फरक-फरक हुन्छ । मेरै कुरा सही छ भन्ने पनि होइन । संसारमा सबैको विवाहबारे आफ्नै दृष्टिकोण हुन्छ । कतिलाई विवाह नै नगरी जिन्दगी चल्छ भन्ने लाग्छ । कसैलाई विवाह गर्नैपर्छ भन्ने लाग्छ । प्रेम, विवाहका मामलामा यस्तै धारणा राख् भनेर कसैले भन्ने कुरा पनि होइन । म विवाहदेखि डराएको पनि छैन । किन डराउनु सबैले गरेकै छन् त विवाह । म एकजनाले विवाह नगरेर कसलाई हानि गर्‍यो होला र ? निकै अघि एउटी युवतीसँग मेरो प्रेम-प्रसंग चल्दा म क्याम्पसे ठिटो थिएँ । जुँगाका रेखी बस्दैको उमेरमा उनले विवाहको प्रस्ताव राखिन् । मैले त लामो बाटो हिँड्नु थियो । त्यसवेला पनि मैले विवाह अस्वीकार गरेँ । 'मेरो विवाह होस्, सुखी संसार होस्' भन्ने सपना मैले कहिल्यै देखिनँ । तिनको त अहिले उनकै लागि सुखी संसार होला । तर, विवाहविना पनि म सुखी नै छु । गाढा प्रेममा रहँदा पनि मेरो मनमा विवाह गर्नुपर्छ भन्ने कहिल्यै आएन । फेरि विवाह नै गर्न नहुनेगरी मेरो उमेर गएको पनि छैन । मसँग विवाह गर्न कुनै न कुनै युवती कसो तयार नहोलान् ? मन लागे विवाह गर्न पनि सकिन्छ । तर, धेरैको जिन्दगी नारीविना पनि चलेको छ । मेरो पनि नारीविना नै चल्छ, जिन्दगी । निकै वर्षअघि मैले यो ठहर गरेको हुँ ।

अभियोग नं. १०

तपाईं अव्यावहारिक हुनुहुन्छ । कसैसँग राम्रो व्यवहार गर्नै जान्नुहुन्न ।

म अव्यावहारिक छु कि छैन भन्ने कुरा त मेरो दैनिक भेटघाट हुने, सधैँ मसँगै रहने र मेरा नजिकका समकक्षीले भन्ने हो । तपाइंले यो आरोप कसरी लगाउन सक्नुभयो ? कहिलेकाहीँ भेट हुने फिल्म पत्रकारले कसरी म अव्यावहारिक र कसैसँग राम्रो व्यवहार गर्न नजान्ने भन्न सक्छ ? मैले तपाइंलाई भेटेँ, तपाइंका सबै आरोप खेपिरहेकै छु यो नै मैले गरेको राम्रो व्यवहार होइन र ? सधैँ नम्र भएर हालखबर सोध्ने, म्वाइँ खाने गर्न म सक्दिनँ । अहिलेसम्मै यो आरोप पहिलोचोटि मैले तपाइंबाट सुनेँ । मसँग सम्पर्क भएकाहरूसँग म राम्रै व्यवहार गर्छुजस्तो लाग्छ । टाढाबाट त जसले जे पनि भन्नसक्छ । तर, तपाईंले भनेजस्तो अव्यावहारिक र राम्रो व्यवहार गर्न नजान्ने म होइन ।

अभियोग नं. ११

तपाइं नायिकाहरूसँग अफेयर्स चलाउनुहुन्छ, अनि निकै चाँडै सम्बन्ध तोड्नुहुन्छ ।

पहिले म नेपालका नायिकाका बारेमा केही भन्छु । उनीहरू निकै मिहिनेती छन् । राम्रोसँग आफूलाई उभ्याएका छन् । चलचित्र जस्तो बन्छ, त्यसैअनुसार उनीहरूको मूल्यांकन हुन्छ । कहिलेकाहीँ नायिकाबाट अभिनयमा त्रुटि हुनु स्वाभाविकै हो । मलाई आफूसँग काम गरेका सबै सहकर्मी उत्तिकै राम्रा लाग्छन् । मिहिनेती लाग्छन् । मनपर्ने नायिका करिष्मा, रेखा, जल, विपना, निरुताहरू हुन् । म नायिकाहरूसँग अफेयर्स चलाउँछु वा चलाउँदिन भन्ने त नायिकाहरूसँगै सोधेको भए थाहा हुन्थ्यो । यो आरोप निराधार छ । चलचित्र सुटिङमा म नायिकाहरूसँग फिल्ममै बोल्नुपर्ने संवादबाहेक बढी बोल्दिनँ । नायिकाहरूसँग फिल्मी र सार्वजनिक जीवनमा बाहेक मेरो खासै व्यक्तिगत सम्बन्ध पनि छैन । कोही नायिकाले मलाई मनपराउनु छुट्टै कुरा हो । तर, म नायिकाहरूसँग अफेयर्स पनि चलाउँदिनँ । भएको सम्बन्ध पनि तोड्दिनँ ।

अभियोग नं. १२

तपाईं सुटिङस्पटमा समयमा कहिल्यै पुग्नुहुन्न । निर्देशक, प्राविधिक र कलाकार साथीहरूसँग नाजायज भाउ खोज्नुहुन्छ ।

छायांकनमा जुन वेला बोलाइन्छ त्यही वेला सुटिङ नहुन पनि सक्छ । बोलाइएको समयभन्दा पनि यतिवेला होला कि भनेर गइन्छ । किनभने धेरैपटक म गएकै समयमा सुटिङ नभएको मैले देखेको छु । फिल्मका हामीसँग समयको चेत उत्तिसारो छैन । तर, प्रायः त छायांकन हुनेवेला म पुगेकै छु । ठाउँ र परिवेश हेरेर आवश्यक परेको बखत सुटिङस्पट पुगिन्छ । मैले कोही पनि निर्देशक, प्राविधिक, कलाकार साथीहरूसँग नाजायज भाउ खोजेको भन्ने कुरा छ त्यो म मान्दिनँ । उनीहरूलाई सम्मान गरेरै बोल्छु । उनीहरूले भनेको मानेकै हुन्छु ।

अभियोग लगाउनेलाई रु. हजार जरिवाना

न्यायाधीशको आसनबाट रंगकर्मी सुनील पोखरेल

अभिनेता राजेश हमालमाथि लगाइएका दर्जन अभियोग र अभियुक्तको बयान गम्भीरतापूर्वक अध्ययन गरेपछि अभियोग नम्बरअनुसार फैसलाको पूर्ण विवरण यस्तो छः

१) व्यक्तिको मूल्यांकन टाढैबाट वा सुनेका कुराको भरमा गर्नु न्यायोचित हुँदैन । हरेक व्यक्तिको आपनो स्वभाव हुन्छ । म राजेशजीको उत्तरसँग सहमत छु । व्यक्ति जतिखेर पनि, जोसँग पनि उत्तिकै व्यवहार गर्न सक्दैन । कसैका आँखामा, कुनै वेला, कुनै व्यक्ति घमण्डी देखिन्छ भने त्यो व्यवहार उसको गल्ती होइन । फैसला राजेशजीको पक्षमा गरिन्छ ।

२) ठीक हो, संवाद कलाकारले लेख्दैन । चलचित्र व्यवसाय हो, त्यो पनि ठीक हो । राजेशजीको उत्तर ठीक हुँदाहुदै पनि मलाई लाग्छ, उहाँले यो आरोपलाई चुनौतीका रूपमा लिइदिए राम्रो हुन्थ्यो ।

३) संसारका सबै सीप एउटै मान्छेले जान्न सक्दैन । नेपाली चलचित्रमा नाच हुन्छ भन्ने हामी सबैलाई थाहा छ । यदि, राजेशजीको नाच्ने ढंग पटक्कै थिएन भने उहाँ कसरी नेपाली चलचित्रको 'हिरो' बन्नुहुन्थ्यो ? त्यसैले यस अभियोगको निर्णय गर्ने अधिकार चलचित्रका दर्शकलाई दिइन्छ ।

४) बौद्धिकता देखाउने कुरा होइन । त्यो हुने वा नहुने कुरा हो । बौद्धिकता जीवनशैली पनि होइन । त्यो नितान्त व्यक्तिगत कुरा हो । भलै, राजेशजीको कलाकारिताभन्दा उहाँको बाहिरको व्यक्तित्वमा बौद्धिकता देखिन्छ, तर त्यो न्यायको चासोको विषय होइन ।

५) अभियुक्तको उत्तर हेर्दा उहाँमा राजनीतिक चेतना भएको देखिन्छ । यत्ति हो, उहाँ बोल्नुहुन्न । मलाई लाग्छ, राजनीतिक चेतना भनेको दलीय राजनीति होइन । यो प्रश्नमा उहाँको उत्तर अलि राजनीतिक छ । मेरो विचारमा देशमा संकट पर्दा उहाँजस्तो अभिनेताले देशका पक्षमा बोल्नुले ठूलो अर्थ राख्छ । त्यो कुरा धेरैले सुन्छन् ।

६) म उहाँको उत्तरसँग पूर्णतया सन्तुष्ट छु । उहाँसँग काम गर्ने कलाकार, निर्देशक र प्राविधिकसँग नसोधी आरोप लगाउने पत्रकार श्री दीपक सापकोटालाई रु. १०००/- जरिवाना गरिन्छ ।

७) स्तरीय चलचित्र खेल्ने कि पैसा कमाउने, यो व्यक्तिको निजी छनोट हो । यो अर्को कुरा हो, स्तरीय चलचित्र खेलेर पनि पैसा कमाउनेहरू छन् । यस आरोपमा न्यायको कुनै विचार छैन । न्यायले व्यक्तिगत स्वतन्त्रतामा दखल दिन मिल्दैन ।

८) अभियुक्तले लगभग यो आरोप स्विकारेको देखियो । त्यसैले न्यायालय उनीप्रति सहानुभूतिपूर्ण विचार राख्छ । राजेश हमालजस्तो अभिनेताले अब 'फ्लप' हुने डर राख्नु हुँदैन र चुनौती वा रिस्क लिन सक्नुपर्छ भन्ने न्यायको ठहर छ ।

९) फेरि भन्छु, न्यायले वा कसैले पनि व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्न मिल्दैन । म अभियुक्तको उत्तरसँग सन्तुष्ट छु । विवाह गर्ने वा नगर्ने त्यो राजेशजीको व्यक्तिगत कुरा हो । न्याय उहाँको विचारको सम्मान गर्छ । कसैले यसमा जबर्जस्ती गर्‍यो भने राजेशजीले यो न्यायाधीशको इजलासमा मुद्दा हाल्न सक्नुहुन्छ ।

१०) ठीक हो, सधैँ सबैसँग नम्र हुने, म्वाइँ खाने गर्न सकिँदैन र गर्नुहुँदैन पनि । बरु त्यसो गर्‍यो भने कानुन लाग्नसक्छ । यदि, उहाँ अव्यावहारिक हुनुहुन्छ भने उहाँसँग काम गर्ने संस्था र व्यक्तिलाई समस्या हुनसक्छ अथवा उहाँ आपै

"mलाई पनि । तर, न्यायलाई यसमा कुनै समस्या छैन ।

११) न्याय अभियुक्तको उत्तरसँग सन्तुष्ट छ । र, यो आरोप लगाउने पत्रकारलाई आप

\mनो आरोप पुष्टि हुने प्रमाण पेस गर्न कडा निर्देशन दिन्छ । साथै, सामाजिक मर्यादामा खलल नपर्नेगरी सानो-तिनो बद्मासी गर्ने अभियुुक्तलाई छुट दिइएको छ ।

१२) हाम्रा चलचित्रकर्मीसँग समय-चेत छैन र राजेशजी अरूलाई सम्मान गरेरै बोल्नुहुन्छ भन्ने कुरासँग म सहमत छु । तर, यो आरोप प्रायः सुनिन्छ नै । यो आरोपको वस्तुगत निर्णय गर्न र यसबारे गम्भीरतापूर्वक सोच्न म स्वयं अभियुक्तलाई अनुरोध गर्दछु ।

अन्तमा, अभियुक्तका उत्तर कतै-कतै घुमाउरा भए पनि धेरैजसो उचित र इमानदार छन् । त्यसैले यो न्यायालय अभियुक्तलाई लगाइएका आरोपबाट स-सम्मान मुक्त गर्दछ र अभियुक्त स्वयंलाई आपनो निर्णय गर्ने अधिकार प्रदान गर्दछ ।

त्यसैगरी, बिनागृहकार्य एउटा अनुचित आरोप लगाउने श्री दीपक सापकोटालाई जरिवानास्वरूप रु. १०००/

तुरुन्तै न्यायालयलाई बुझाउने निर्देशन गरिन्छ ।

बौद्धिकता देखाउने कुरा होइन । त्यो हुने वा नहुने कुरा हो । बौद्धिकता जीवनशैली पनि होइन । त्यो नितान्त व्यक्तिगत कुरा हो । भलै, राजेशजीको कलाकारिताभन्दा उहाँको बाहिरको व्यक्तित्वमा बौद्धिकता देखिन्छ, तर त्यो न्यायको चासोको विषय होइन ।

Source-Nayapatrika

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।