सुष्मालाई सौगातको बिन्ती- संवाद बोल्दा ध्यान दिनू

काठमाडौं, साउन २७ (नागरिक) - रंगमञ्चका कलाकार सौगात मल्लले 'कागबेनी' र 'दासढुंगा' नामक फिल्ममा अभिनय गरे। म्युजिक भिडियो, आइटम डान्स र फिल्ममा फुटकर भूमिकाले चिनिएकी कलाकार हुन् सुष्मा कार्की। अहिले यी दुई कलाकार एउटै फिल्मबाट सफलताको आशामा छन्, 'के यो माया हो।'रंगमञ्च र अघिल्ला फिल्मका दर्शकलाई यो फिल्मबाट सन्तुष्ट गराउन सक्नेमा सौगातको शंका छ। 'मेरा पहिलादेखि नै जान्नेले यस्तो रोल नगरेको भए हुन्थ्यो भनेका छन्। अलिअलि चिन्नेले राम्रै प्रतिक्रिया दिएका छन्,' मसलादार फिल्म खेलेपछि उनको मान्यता पनि बदलिएको छ, 'म कुनै पनि किसिमका फिल्म खेल्नुपर्छ भन्ने ठान्छु। समय अनुसार सुहाउँदो विषय भयो भने खेल्छु। सानो ठाउँमा फिल्मको विषय र कामको प्रकृति छुट्याउनु त्यति उपयुक्त हुँदैन।'

मूलधारका स्थापित कलाकार आर्यन सिग्देल र अरुणिमा लम्सालको साथमा सौगात र सुष्माले उनीहरुकै जत्तिको रोल पाएका छन्। शुक्रबार रिलिज भएको फिल्मका हिरो सौगात नयाँ फिल्मको कामले दर्शक प्रतिक्रियाबाट विमुख छन्। तर, कौतुहलता भने निकै छ।

आफूसँगै फिल्ममा मुख्य भूमिकामा देखिएकी सुष्माको विषयमा पनि उनको प्रतिक्रिया सकारात्मक छ। 'भर्खरै फिल्म क्षेत्रमा आए पनि लिड रोलमै काम पाइन्। र, त्यसलाई राम्रोसँग निर्वाह गरिन्,' औपचारिक प्रशिक्षण नलिइकनै यत्तिको काम गर्ने सुष्मामा उनी त्यति खोट देख्दैनन्।

दिमागमा एक्कासी फिल्म खेल्ने इच्छा जागेर यो क्षेत्रमा आएको सौगातले सुष्माबाट सुनेका छन्। तर, कुनै पनि काम थाल्नुअघि त्यसको विषयमा सिकेरमात्र हात हाल्नु उपयुक्त हुन्छ भन्ने मान्यता छ सौगातको। 'हुन त यो क्षेत्रमा काम गर्दै सिक्ने हो। तर, सिकेर आएमा अझै राम्रो हुन्छ,' उनले भने।

उनी सुष्मालाई संवाद बोल्दा सचेत हुन सल्लाह दिन्छन्। 'सुष्माले संवादको ग्राफ बु‰न जरुरी छ। कुन दृश्यमा कस्तो शैलीमा बोलेको थिएँ भन्ने भुल्नु हुँदैन,' यो उनले देखेको कमजोरी हो। 'के यो माया हो'कै दौरानमा चिने पनि छिट्टै घुलमिल हुने सुष्माको बानीले काम गर्न सजिलो भएको उनले बताए।

'म पनि नयाँ थिएँ। सुष्माको बोलिरहने स्वभावले बोर लागेन,' सौगातले भने।

सुष्माको नजरमा सौगात प्रतिभाशाली कलाकार हुन्। 'के यो माया हो'पछि 'लुट'को एउटा गीतमा सौगातसँगै काम गरेकी सुष्मा द्वन्द्व, नृत्य र अभिनयमा सिपालु देख्छिन् सौगातलाई। रंगमञ्चमा खारिनुको नतिजा उनको अभिनयमा देख्न सकिने सुष्माले बताइन्।

'नेपाली फिल्ममा यस्तो कलाकार आउनु पर्छ,' सुष्माले भनिन्, 'गेटअपमा केही परिवर्तन गर्ने र सुहाउँदो हिरोइन पाउने हो भने सौगात लभस्टोरी फिल्ममा पनि उत्तिकै पर्फेक्ट हुन सक्छन्।' सौगातको कमजोरी पत्ता लगाउन भने असमर्थता देखाइन् उनले। 'आफैं कहाँ चुकेँ भन्नेमा बढी ध्यान दिएकोले अरुको काम कहाँ बिग्रिएको छ थाहा छैन,' सुष्माले भनिन्।

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।