चलचित्र नगरी कार्यान्वयन होला ?

मनोज घर्तीमगर, पोखरा, साउन १४- सरकारले बजेट भाषणमार्फत् पोखरालाई चलचित्र नगरी घोषणा गरेपनि बजेट छुट्याएको छैन। बजेट नछुट्याएपछि सरकारको योजना कार्यान्वयन हुनेमा यहाँका चलचित्रकर्मी विश्‍वस्त छैनन्। छायाङ्कनका लागि प्राकृतिक स्टुडियोको रुपमा चिनिएको पोखरालाई चलचित्र नगरीको रुपमा विकास गर्नुपर्ने माग यहाँका चलचित्रकर्मीले उठाउँदै आएका थिए। ढिलै भए पनि माग त सम्बोधन भएको छ तर, सरकारले बजेट विनियोजन नगरेपछि यो कागजीरुपमा सिमित हुने चलिचित्रकर्मीको आशंका छ।

'पोखरालाई चलचित्र नगरीको रुपमा कार्यान्वयन गर्ने सकारका आधारहरु के हुन्? पहिलो आधार मानिने बजेट नै विनियोजन गरिएको छैन, हामीले कसरी विश्‍वास गर्ने?' गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का अध्यक्ष माओत्से गुरुङले भने,'सरकारले चलचित्र नगरी भनेर दस्तावेज राख्‍नेबाहेक अरु केही होइन, तीन महिनाभित्र केही पनि काम गरिएन भने हामी चरणबद्धरुपमा आन्दोलनमा उत्रन्छौं।'अध्यक्ष गुरुङका अनुसार यस क्षेत्रका चलचित्रकर्मी, उद्योगी, व्यापारी, स्थानीय बासिन्दा, सरोकारवाला कसैसँग पनि समन्वय नगरी सरकारले हावादारीरुपमा चलचित्र नगरी घोषणा गर्नु र बजेटसमेत विनियोजन नगर्नुले कार्यान्वयन हुन्छ भन्नेमा प्रशस्त शंका गनुपर्ने अवस्था छ।चलचित्रकर्मीले रोजेका र खोजेका दृश्‍य कैद गर्न सकिन्छ पोखरामा। मानिसले बनाउन नसक्ने यस्ता अनेकौ दृश्‍य पोखरामा छन्। यही कुरालाई ध्यानमा राखेर सरकारले पोखरालाई चलचित्र नगरिको रुपमा विकसित गर्ने योजना ल्याएको हो। तर सरकारले घोषणा गरेको फिल्म नगरी कार्यान्वयन हुने कुराका आशंका गर्छन् सिनेप्लाजाका अध्यक्ष उत्तम दुवा। 'पहिले पनि त फिल्म स्टुडियो बनाउने भनेर सरकारले कसरत गरेको हो, तर गर्न सकेन' उनले भने ,'यस पटक पोखरालाई फिल्म नगरी घोषणा गरेकामा खुसी छौं, तर कार्यान्वयन हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी छ।'सरकारले पोखरालाई चलचित्र नगरीको रुपमा घोषणा गरे पनि आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष दिपेन्द्र राई सरकारको योजना सफल हुनेमा विश्वस्त छैनन्। 'योजनाबिनै पोखरालाई फिल्म नगरी घोषणा गरिएको छ' अध्यक्ष राईले भने,'सरकारले घोषणा गरेरमात्रै हुँदैन, कार्यन्वयनका लागि योजना पनि चाहिन्छ।' सरकारले पोखरालाई चलचित्र नगरी घोषणा गरेपछि फिल्म सिटीको राजधानी बनाउन यहाँका फिल्मकर्मीले गरेको प्रयास थोरै भए पनि सफल भएको मान्छन् फिल्मर्की घनश्याम लामिछाने। 'हामीले पोखरालाई फिल्म सिटी बनाउन पहिलेदेखि नै लागेका हौं' श्याम शुक्ला फिल्म प्रोडक्सनका प्रबन्धक तथा निर्देशकसमेत रहेका लामिछानेले भने, 'हामीले गरेको सुरुवात सफल भएको मानेको छौं, तर सरकारले कार्यान्वयन गर्छ कि गर्दैन हेर्दैछौं।' पोखराजस्तो सुन्दर स्थानलाई केही न केही सोचविचार गरेरै सरकारले चलचित्र नगरी घोषणा गरेको बताउँछन् नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी। 'बजेट विनियोजन नगर्दैमा पोखरा चलचित्र नगरी हुँदैन कि भनेर शंका गरिहाल्नु हतार हुन्छ' उनले भने, 'फिल्म नगरीको अवधारणाअनुसार पोखरामा केन्द्रीय फिल्म स्टुडियो हुन्छ, यसका लागि यसअघि नै धितालमा जग्गा लिइसकिएको अवस्था छ।' सरकारले विकास बोर्डलाई समेत बजेट विनियोजन नगरेकोमा आफू रुष्ट भएको जनाउँदै यस विषयमा सरकारसँग कुरा गर्ने बताए। उनले भारतको मुम्बई जस्तै नेपालको पोखरालाई चलचत्रि नगरीको रुपमा विकसित गर्ने बोर्डको पनि लक्ष्य रहेको बताए।
साभार - नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।