तेस्रो किनारा : भद्र अवज्ञाको दस्तावेज

वसन्त बस्नेत- 'तेस्रो किनारा' कथासंग्रह प्रकाशित गर्नुअघि नै चंकी श्रेष्ठ अभय श्रेष्ठ भइसकेका थिए। उनी अभय हुँदैगर्दा देशको राजनीति फेरिइसकेको थियो। जनताका आँखामा अब त केही होला भन्ने आशाका प्वाँख पलाइसकेको थियो। उता चंकीभित्र भने यही व्यवस्थाप्रति पनि असन्तुष्टि बढ्दै थियो। उनी 'केही नयाँ' खोजिरहेका थिए। नयाँपन खोज्ने उनको आकांक्षाले सँग्लो आकार ग्रहण गरिसकेको थिएन।

आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्ने मान्छेले जब नयाँ तन्त्रको नाममा फेरि आफूमाथि अर्को मान्छेले उहिलेजस्तै गरी छडी घुमाएर आदेश दिइरहेको पाउँछ, निश्चय नै त्यो व्यवस्था नयाँ हुन सक्दैन। यस्तै आग्रहसाथ अखबार र साहित्यिक पत्रिकामा उनी अभयकै नाममा स्तम्भ र रचना लेख्न थालेका थिए। तिनै अभयको नयाँ किताबबारे कम, तर उनको नामबारे बढी चर्चा र विवाद गर्नुको पछाडि समीक्षकहरुको बेखबरी वा अज्ञान मुख्य कारक पक्कै होइन। त्यसो हुँदाहुँदै नाममा अतिरिक्त बहस गर्दा प्रश्न सोध्न मन लाग्छ, यी लेखकले उभ्याउन खोजेका नयाँ चेतका कथानायकहरूबारे बहस नगरी नामकै मात्र चर्चा गरेर पन्छिनुपछाडि कुनै साहित्यिक लघुषड्यन्त्रले काम त गरेको छैन? 'अ.त.को सत्याग्रह' नामक २७ पृष्ठको लामो कथा र बाँकी १४ कथा यस संग्रहमा छन्। उनले दाबी गरेका छन्, 'संसारकै दुःखी, अभागी, बेरोजगार, तिरस्कृत, दलित, उत्पीडित र वञ्चितहरू मेरा पात्र हुन्, जो परम्परासँग मात्र होइन, प्रकृतिसँग पनि संघर्ष गर्छन्।''अ.त.को सत्याग्रह' लाई संग्रहको मुख्य कथा मान्न सकिन्छ। पञ्चायतकालीन सामाजिक अवस्थामा अभय फर्केका छन्। राजनीतिक व्यवस्था कति शक्तिशाली हुन्छ भने यसले राजनीतिमै सरोकार नराख्नेलाई पनि जबर्जस्ती खिचेर आफूकहाँ ल्याइपुर्‍याउँछ भन्ने उदाहरण यो कथा हो। कथामा वर्णित दुई किशोरको ऊबेलाको राजनीतिसँग कुनै साइनो छैन। तर, महात्मा गान्धी र ग्रिक दार्शनिक सुकरात जीवनशैली अँगालेकैले उनीहरू कालान्तरमा सजायको भागीदार बन्छन्। पञ्चायती व्यवस्थाले आफूसुहाउँदो चेतना र स्वभावका प्रतिनिधिहरू हरेक गाउँमा खटाएको थियो। उनीहरूले जे बोले, त्यो पञ्चायतको फैसला बोलेको हुन्थ्यो। तिनै हठाग्रहीहरूले कथाको पात्र पवनलाई बारम्बार आक्रमण गर्छन्। अन्ततः एक दिन उसको हत्यै हुन्छ। तर, उसले पटकपटक अवसर पाउँदा पनि प्रतिरोध गर्दैन। कारण, बाल्यकालमा उग्र स्वभावको ऊ र म पात्र बिस्तारै केही अग्रजको प्रभावले गम्भीर अध्ययन र स्वखोजमा हेलिन्छन्। त्यसले उनीहरुलाई सत्याग्रही बनाएको हुन्छ। व्यवस्थाले यही कारणले तिनीहरूलाई 'अराष्ट्रिय तत्व' (अ.त.) ठान्छ। यो कथा नेपालको क्रूर कालखण्डको इतिहासवर्णनमात्रै होइन, निहत्था नागरिकको भद्र अवज्ञाको दस्तावेज पनि हो। अर्कातिर, कसैको विचार वा दर्शनलाई मौलिक स्वरुपमा ग्रहण नजरी जड भएर हुबहु नक्कल गर्नखोज्दा कस्तो अप्ठेरो झेल्नुपर्छ भन्ने यही कथाका दुई मुख्य पात्र उदाहरण हुन्। 'निर्वाण' दुई अर्थमा विलोम प्रेमकथा हो। एक, चल्तीका प्रेमकथाभन्दा बिलकुल भिन्न छ यो कथा। धोका पाएपछि प्रतिशोध भावबाट ग्रस्त प्रेमी जब मायाको अर्को स्वरुपमा पूर्वप्रेमिकालाई बच्चा स्याहार गरिरहेको पाउँछ, जेल परेर छुटिसक्दा समेत शान्त नभएको उसको प्रतिशोधको आगोलाई त्यस दृश्यले एकाएक निभाइदिन्छ। ज्वरोग्रस्त बालक र अर्को शिशु स्याहारिरहेकी पूर्वप्रेमिकाको अनुहारमा उसले आफूलाई पनि यसैगरी हुर्काउने आमा र दिदीको अनुहार देख्छ। दुई, कथावाचकले भनेझैँ, प्रेम, सेवा, बलिदान, पुण्य, निरर्थक कृतज्ञता उसको 'निम्छरो जातित्व'मै समाहित हुन्छन्। कथावाचकको वशमा समाज छैन, त्यसैले समाजले बनाइदिएका नियम र लगाइदिएका लगामलाई नदेखिने शक्तिसँग आशक्त भएझैँ सम्झौता गर्नुको विकल्प ऊ देख्दैन। 'निर्वाण' विछोडको कथा हो। तथापि, आखिरीमा यो पीडापूर्ण छैन, बरु आफ्नै मनोविज्ञानमा बनेको पर्खाल भत्काउँदै मुक्तिको खोजीतिर लक्षित छ। बुद्धलाई निर्वाणको प्रतीकका रुपमा उभ्याउँदै कथाकारले पुरानो सम्बन्धको विघटन र नयाँमा रुपान्तरणको आशावादी सन्देशसहित कथा पूरा गरेका छन्। 'बेग्लै मान्छे'ले देखाउन खोजेको समाज अलि पुरानो हो। संस्मरणात्मक शैलीमा प्रस्तुत यस कथामा चालू समाजको आँखामा अव्यावहारिक तर एक आदर्श व्यक्तित्वको उतार छ। कथावाचकका बा अघिल्लो कथा 'अ.त.को सत्याग्रह' भित्रको पवनजस्तै लाग्छन्। उनी महात्मा गान्धीको तस्बिर झुण्ड्याएकै कारण शासकका आँखामा अ.त. ठहर्‍याइन्छन्। खोलाबाट लुगा धोएर फर्केकी कथावाचककी काकीको अचानक भएको मृत्युपछि लास उठाउन कोही आउँदैनन्। म पात्र बोल्छ, 'काकीको जात के थियो? यो हामी बुझ्दैनथ्यौँ...मृत्युपछि पनि अछुत बनाएर समाज उहाँसँग बदला लिइरहेको थियो।' जातीय विभेदले निम्त्याएको मानवताविरोधी समाज देखाउनु सायद लेखकको अभीष्ट हुन सक्छ। 'तेस्रो किनारा,' 'भुरवा,' 'खबर, कहर र जहर' कथा फरकफरक पृष्ठभूमिका गम्भीर कथाहरु हुन्। 'तेस्रो किनारा'लाई लेखकले 'दर्शन नेपालीको डायरीबाट' उपशीर्षक दिएका छन्। युगौँदेखि सामन्तहरुले कमारा बनाएर राखेको एउटा परिवार कसरी माओवादी संघर्षसँग जोडिन पुग्छ, आफ्नो नामसमेत नभएको कमारो कसरी अस्तित्व र परिचयका लागि लड्छ भन्ने नयाँ यथार्थ यस कथाले उधिनेको छ। युद्धमा भेटिएको दुस्मनलाई समेत नमारेर दर्शन नेपालीले फेरि एक पटक प्रतिदानरहित प्रेम प्रकट गर्छ। यो कथा नेपालमा १० वर्ष चलेको सशस्त्र संघर्ष उठ्नुको उद्गम खोजी गरिएको एउटा सुन्दर कथा हो। 'भुरवा'ले केही वर्षअघि तराईमा मच्चिएको साम्प्रदायिक दंगाको अमानवीयतालाई सघन चित्रण गरेको छ। सम्प्रदाय, क्षेत्र र परम्पराको अन्धानुकरणले मान्छेबीच विभाजन ल्याउँछ। कथाकारले उक्त खतरालाई मार्मिक पाराले वर्णन गरेका छन्। हिन्दू र मुस्लिमबीच भड्केको हिंसाले कसरी एउटा सामान्य नागरिकसम्म प्रभाव पारेको थियो भनी यस कथाले देखाउन खोजेको छ। 'खबर, कहर र जहर' पत्रकारिताभित्रको दुःखवर्णन हो। तीखो गद्य प्रयोग गर्दै अभयले घटनालाई केही नाटकीय बनाएका छन्।'महाभारत' कथामा आधुनिक सत्ताराजनीतिलाई पौराणिक कथासँग जोडिएको छ। दैनन्दिन दलीय गतिविधि र प्रवृत्तिमा बढी केन्द्रित भएकाले प्रस्तुत कथाले आफ्नो आयु आफैँ लिएर आएको छ। 'अमेरिका,' 'मोडेल' जस्ता कथाहरु नयाँ पुस्ताको पहिलो विश्व र उपभोक्तावादी वस्तुप्रतिको आकर्षणलाई कटाक्ष गर्दै लेखिएका कथा हुन्। 'मोडेल'भित्र देखाइएको आमाको मृत्युमा पनि बिदा नपाउने एक मोडलको अतिरञ्जनापूर्ण चित्रण छ। हाम्रो समाज त्यति संवेदनहीन भइसक्यो र? 'झुमी : संगीत तपार्इँकै लागि' भन्ने कथाको प्रस्तुति अलि भद्दा छ। 'पप कल्चर' सँग सहरिया प्लस टु जेनेरेसन अभ्यस्त भएको सत्य हो। तर, प्रत्येक शैलीले आफूसँग केही मूल्य र आग्रह पनि बोकेर ल्याएको हुन्छ। उत्तरदायी लेखक हुनुको नाताले पछिल्लो समयको पुस्तासँग अभयले संवाद गर्नैपर्ने हुन्छ। उक्त कथा पढ्नेले कथाकारले नयाँ पुस्तालाई ठीकसँग सुन्न नसकेको अनुभूत हुन्छ। अझ त्यहाँभित्रका वाक्य र गीतका टुक्रा यथार्थभन्दा बढी भद्दासमेत लाग्छन्। कुनै पनि सुन्दर किताबलाई उत्कृष्ट बन्नबाट यस्ता सानातिना लाग्ने प्रसंग र तत्वहरुले तगारो हालेका हुन्छन्। यस्तै कमजोरी 'महान कलाकार'मा पनि छ। एक गायकको मृत्युमा मान्छेहरुले कतिसम्म ठट्टा गर्छन्? शोकको बेला आँखा छलेर अमानवीय बन्नेहरु पनि कथाका पात्रहरु जति सीमा ननाघ्लान्। लेखक संस्कृतिकर्मी पनि हो। उसले बनिबनाउ समाजव्यवस्थाप्रति आलोचनात्मक चेत राख्दैगर्दा केही नयाँ निर्माणको विकल्प र आग्रह पनि बोकेर आएको हुन्छ। केही नेपाली युवा लेखक व्यवस्थाविरोधी लेखनको अघोषित अभियानमा क्रियाशील देखिन्छन्। यी लेखक प्रायः कवितामा छन्, केहीचाहिँ आख्यानमा। अभयको लेखनले उनी पनि तिनैमध्ये एक भएको संकेत गर्छ। उनी आहुतिको उपन्यास 'नयाँ घर'को मुख्य पात्र सुन्दरझैँ जहाँतहीँ गुनासो गरिरहन्छन्, 'हामीलाई यो व्यवस्था मन परेन, साँच्चै मन परेन।' मानिसहरु निरन्तर राम्रो व्यवस्थाका लागि संघर्ष गरिरहेछन्। नयाँ विकल्पको लगातार आह्वान गरिरहेका कथाकार अभयले यति बेला आफूलाई चुपचाप राख्नुहुँदैन। उनले भन्नुपर्छ, उनका कथाका पात्रहरुले यो व्यवस्था भत्काएर ल्याउन खोजेको व्यवस्था कस्तो हुनेछ? त्यो समाजवादी हुनेछ? कि खास आकारबिनाको स्वच्छन्द, अमूर्त र अराजकतावादी? वा अरु नै केही?तीव्र बहाब भएको नदीमा झ्वाम्म हाम फाल्दा उत्पन्न हुने तरंगजस्तो तीख्खर भाषा चलाउने अभयको यो किताब नेपाली कथाको भर्भराउँदो नयाँ धार र शैली बुझ्नै भए पनि पढ्नु जरुरी छ। शब्दको समीकरण बनाएर गन्थन गर्ने रुपवादी र विचारका नाममा पार्टीका दस्तावेज पढाउने दुवै अतिवादीभन्दा अभय पृथक् छन्। केही प्राविधिक त्रुटि भने पक्कै छन्। 'तेस्रो किनारा'मा अभय श्रेष्ठको निजी प्रयत्नले मात्रै काम गरेको देखिन्छ। एउटा सामर्थ्यवान् लेखकले सम्पादकको योग्यतामा विश्वास गर्नुपर्छ। यति हुँदाहुँदै पनि छिटफुट कमजोरी देखिएमा सकार्नुपर्छ। गल्ती गर्न पनि केही न केही लेख्नु जरुरी हुन्छ। 'तेस्रो किनारा'भित्रको एउटा कथा पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोला।
सम्बन्धित लिङ्कहरु

Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।