निर्देशकले कलाकारलाई भने 'मसान नपढ्नू'

सन्तोष रिमाल, असार २६ (नागरिक) - 'जसले यो नाटक पढ्नु भएको छ, ठिक छ। नपढेकाले पढ्ने कष्ट नगर्नुहोला,' नीर शाहले गोपालप्रसाद रिमालको नाटक 'मसान'माथि फिल्म बनाउनु अघि दिएको निर्देशन सम्झिएर कलाकार केशव भट्टराईले नाटक किन्ने आँटै गरेनन्। फिल्मको सुटिङ लगभग पूरा गरिसक्दा पनि आफू कस्तो पात्रको रूपमा पर्दामा देखिने हो उनी किटेर भन्न सक्ने अवस्थामा छैनन्।

'निर्देशकले मैले जे भन्छु त्यो गर्नू भन्नु भएको थियो। भूमिकाको बारेमा पनि खोजीनिधि गरेको छैन,' पुरानो सहरिया खानदानीको 'लुक्स'मा भेटिएका भट्टराईलाई आफ्नै पहिरन अचम्मको लागेछ, 'यसो ऐना हेर्दा धनीमानीकै भूमिका छ जस्तो लाग्यो।' सानो कुरा नमिल्दा पनि धेरै पटक पोशाक हेरफेर भएपछि यिनले 'गतिलै' फिल्म खेल्न पाएको लख काटेका रहेछन्।

राजधानीको नक्सालमा बनाइएको सेटले नाटकले बताए अनुसारको २००२ सालको नेपाली सहरको चित्रण गर्न खोजेको छ। 'छोरा बुहारी भएको। खानदानी मान्छे रहेछु। बुहारीको करले छोराको दोस्रो बिहे गराउने अचम्मको भूमिका रहेछ,' मूलधारको फिल्म निर्माणमा समेत परिचित केशवले थाहा पाएछन्, 'हामीले बनाएको फिल्मको आलोचना गर्ने एउटा वर्ग छ। यो फिल्म बन्नु त्यो जमातको लागि खुशीको खबर हो।'

'लभर ब्वाइ'को छवि बनाएका चकलेटी हिरो राजवल्लभ कोइराला जनैले अल्झाएको गुनासो सहित आइपुगे। लामो टुपी, सुरुवालमाथि बेग्लै डिजाइनको ओभर कोट। करिब ६० वर्षअघिको खाँटी मौलिक पोशाकमा देखिँदैछु भन्ने थाहा पाए पनि 'मसान' भने पढ्न नपाएकै कलाकार रहेछन् उनी पनि। 'यो नाटक धेरैपटक मञ्चन भएको र टेलिफिल्म पनि बनेको चाहिँ सुनेको हुँ। फिल्ममा कुरा आएपछि निर्देशकले पुस्तक पर्दैन स्क्रिप्ट पढ भन्नु भयो।'

फिल्म अध्ययनमा स्नातक गरेका राजले सजिलै बुझे, 'फ्रेम अफ माइन्ड'मा होइन 'स्क्रिप्ट अफ माइन्ड'मा काम गराउन चाहन्छन् निर्देशक। कलाकार पूर्वाग्रही होलान् र आफ्नो सोचमा समस्या पर्ला भनेर निर्देशकले पढ्न नदिएका होलान् भन्ने बुझेर स्क्रिप्टमै आफूलाई केन्द्रित गरेको राजले बताए।

गएका फिल्ममा हिरोइनका सामु मायाका शब्द बेलगाम बोल्ने छुट पाएको उनी सम्झन्छन्। र, यहाँको अनुशासन बयान गर्छन्, 'सुन्दै नसुनेको शब्द पनि प्रयोग गर्नु परेको छ। एउटा निश्चित कालखण्डको चित्रण गर्नु परेकोले होला लेखिएको संवादलाई गम्भीरतापूर्वक पछ्याइएको छ।'

सन्तान नभएपछि श्रीमतीबाटै अर्को बिहे गर्न प्रेरित हुने कृष्णबाजेको भूमिका मिलेको छ राजलाई। उनले यहाँ हिरोइनको मन जित्न मीठामीठा गीत गाउँदै नाच्नु पर्दैन। दर्शकको मन जित्न फाइट खेल्नु पनि पर्दैन। नेपाली फिल्मले 'स्टार' ठान्ने कुनै पनि काम गर्न नपाउँदा उनी दुःखी भने छैनन्।

'एउटा जिन्दगीभित्र धेरै जिन्दगी जिउन पाएँ,' पहिलो पटक आर्ट फिल्म खेल्दा उनले अनुभूत गरेको पक्ष हो, 'फिल्मभित्र अर्थ र गम्भीरता खोज्नेका लागि केही पस्किन सकिएला जस्तो लागेको छ। यो फिल्मबाट दर्शकले हामी कलाकार हौं कि होइनौं जोख्ने काम गर्नेछन्।'

फिल्म 'स्वर'मा राजवल्लभसँगै पिरती गाँसेकी केकी अधिकारी 'मसान'की हेलेन हुन्। यो भूमिका निर्वाह गर्न अरु फिल्मको भन्दा दोब्बर गृहकार्य गर्नु परेको हिसाब छ उनको। आफ्नो बाबु बद्रि अधिकारीले रंगमञ्च र काँचको पर्दामा धेरैअघि यो नाटकलाई रुपान्तरण गरिसकेको थाहा पाएपछि काम अझै चुनौतीपूर्ण बनेको उनले बताइन्। 'पात्रको हिँडाइ, बोलाइ, लवाइ र कुनै कुराको ग्रहण गर्ने तरिका एकदम भिन्न छ। यो कामलाई निर्देशकले सहज तुल्याइदिनु भएको छ,' सुपर हिरोइनभन्दा सच्चा कलाकार बन्न आएको बताउने केकीलाई यो अभिनय देखाउने सही माध्यम लागेको छ।

कान्छी श्रीमती भए पनि श्रीमानको मायाबाट ठगिएकी नयाँ दुलही हुन् नीता ढुंगाना। 'म बिर्सु कसरी' जस्तो फर्मुला फिल्मबाट मौलिक फिल्ममा काम गर्दा उनले बुझिन्, 'काम गर्न त यस्तो फिल्ममा गाह्रो हुँदो रहेछ।'

कलाकारको गम्भीरता र सक्रियताले काम सनतोषजनक भएको बताउँछन् निर्देशक नीर शाह। आफ्ना अघिल्ला फिल्म 'बासुदेव' र 'वसन्ती'मा जस्तो 'सिनेम्याटिक कम्प्रोमाइज' नगरेको जिकिर समेत गरे उनले।

'फिल्मको पात्रलाई अत्याधिक रूपमा कृतिसँग नजिक राख्ने प्रयत्न गरेको छु। वसन्तीको वसन्तीभन्दा मसानको हेलेन भन् नजिकबाट हेरिरहेको भान दर्शकलाई हुनसक्छ,' उनले भने। अघिल्ला फिल्मभन्दा यसको काम छिट्टै पूरा भएको उनले बताए। अबको तीन महिनामा फिल्म रिलिज गर्ने उनको योजना छ।

Source: Nagarik News

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।