'तेस्रो किनारा' भित्र 'अ.त.को सत्याग्रह'

दीपक कथित- सार्वजनिक भएकै दिन अभय श्रेष्ठको प्रथम कथाकृति 'तेस्रो किनारा' को एउटा कथा 'अ.त.को सत्याग्रह' आफन्त कहाँ पाहुनाका रूपमा एकछिनमा पढिसकेँ। अरूहरू कुराकानीमा व्यस्त रहँदा एउटा लघुउपन्यास आकारको यो लामो कथा सकेँ। यस्तो थोरै कथाले मात्र तान्न सकेको थियो मलाई। सञ्जय थापाका केही उपन्यासहरूले मलाई यसरी तानेका थिए। सञ्जय थापाको 'मुक्त आकाशको खोजीमा' प्रथम भाग (सायद सञ्जय थापा नामबाट प्रकाशित अन्तिम उपन्यास) मैले एक जनाको हातबाट बाहिरी आवरण हेर्न लिएर उभिइउभिई पढेर सकेको थिएँ। न उहाँले त्यो उपन्यास छोडेर जान सक्नुभयो, न मैले नसकेसम्म उहाँलाई दिन सकेँ।

यो कथा पढिरहँदा मलाई सञ्जय थापाको उपन्यासहरूका धेरै याद आइरह्यो। पूर्वतिर, देउमाईको किनारमा, खुइते कडेरिया खुब याद आइरहे। ती उपन्यासका पात्रहरू र यस कथाका पात्रहरू एउटै पृष्ठभूमिबाट उठेका थिए। उनीहरूले भोगेको समय, व्यवस्था र कठोरता एकै एकै थिए। मैले कथाकार अभय श्रेष्ठमा सञ्जय थापाको छाया देखेँ। कताकता नामको संयोग पनि मिलेको पाएँ। चंकी श्रेष्ठबाट अभय श्रेष्ठ र पाठकमा स्थापित सञ्जय थापाबाट फेरि प्रदीप नेपाल।

'अ.त. को सत्याग्रह' कथा पढिरहँदा म त्यस कथाको वरिपरि घुमिरहेँ। मैले मेरो स्कुले जीवनलाई सम्झेँ। मिल्ने साथीहरूलाई सम्झेँ। विचार नमिल्दा केही साथीहरूको व्यवहार सम्झेँ। त्यस बेलाको राजनीतिक अवस्था सम्झेँ। व्यवस्थाका नाममा आफूअनुकूल नचल्ने मान्छेहरूलाई लगाइने आरोप सम्झेँ। दिइने दुःखहरू सम्झेँ। स्कुलमा भएको रेडक्रसको चुनाव सम्झेँ। विद्यार्थी संघको सदस्यता लिएको आरोपमा आठ जना साथीलाई स्कुलबाट निकालिएको घटना सम्झेँ। ती विद्यार्थीलाई यस्तो गतिविधि गर्न छुट दिएको नाममा तत्कालीन प्रधानाध्यापकलाई गरिएको कारबाही सम्झेँ। तत्कालीन प्रधानपञ्च, उपप्रधानपञ्च, उनीहरूका छोराहरू, स्कुल व्यवस्थापनका बैठक, केही शिक्षकहरूको तत्कालीन विचार र यस घटनाप्रतिको धारणा सम्झेँ। जनआन्दोलन २०४६ सम्झेँ। स्कुलको प्रर्थना सभामा गाइने तात्कालीन राष्ट्रिय गान सम्झेँ। हामीले राष्ट्रिय गान गाउने बेला मुख चलाउने र अरू नै केही भन्ने प्रसंग सम्झेँ। यस्ता थुप्रै घटना मेरो आँखासामु नाचिरहे। मलाई लाग्यो, मैले पनि यसरी नै लेख्न सकेको भए 'तर, म कथाकार अभय श्रेष्ठ थिइनँ।

यस कथामा केही उपकथाहरू, पात्रहरू थप्न सकेको भए एउटा उपन्यास नै बन्न सक्थ्यो। अहिले मलाई यी कथाका पात्रहरू कता होलान् भन्ने जिज्ञासा जागेको छ। उनीहरूको भूमिका अहिलेको राजनीतिक अवस्थामा के होला? जसरी मेरा त्यस बेलाका सत्ताका खम्बाहरू अहिले युटर्न भएका छन् यसरी नै यस कथाका खलनायकहरू युटर्न भए कि भएनन्? त्यस कथाका 'म' पात्र अभय श्रेष्ठ आफैँ हुन् कि होइनन्? नानीरामसर कहाँ र कुन अवस्थामा हुनुहुन्छ, मलाई जान्न मन लागेको छ। कथाकार अभय श्रेष्ठ नै म पात्र हैनन् कि भन्ने आशंका मलाई कथाको अन्त्यतिर मात्र उनले निकालेको आमाको प्रसंगले ल्यायो। नत्र त म अभय श्रेष्ठ नै कथाको म पात्र हुन् भनेर पढ्दै थिएँ।

यस कथाको अन्त्यमा 'बचेरोको चित्कार' उपशीर्षकमा लेखिएको प्रसंग र मारिएका कथाको मूलपात्र पवन र बेपत्ता शिक्षक नानीरामसरसँग जोडिएको छ। म पात्रले कागका दुई बचेरालाई खुट्टामा डोरीले बाँधेर पाहा पछारेझैँ पछारेर मारेको प्रसंगसँग कथाका दुई पात्रलाई जोडिएको छ। यो मैले बुझ्न नसकेको हो। कथाकारले आफू नै उनीहरू मारिनु र बेपत्ता हुनुको दोषी हुँ झैँ गरेर ती बचेरा मारिनुको प्रसंगलाई धेरै पटक फ्लासब्याक गरेका छन्। यसको आशय मैले बुझिनँ। म पात्रले ती कागको बचेरालाई कागले चल्ला च्यापेर भागेको प्रतिशोधका रूपमा मारेका थिए।

कथाकारको एउटा लामो कथाको अंश पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।
अन्य समाचारहरु:

- नागरिक न्युज

0 प्रतिकृया/हरु:

Post a Comment

कमेन्ट गर्दा कृपया सभ्य भाषा मात्र प्रयोग गर्नुहोला ।